काठमाडौं । नेकपा एमालेले प्रदेश नम्बर ५ लाई विभाजन गरे स्थिति भयावह हुने चेतावनी दिएको छ ।
सरकारले प्रदेशको सीमांकन हेरफेरसहित संविधान संशोधनको प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला एमालेले ५ नम्बर प्रदेश विभाजन गर्न नदिने अडान राखेको हो ।
एमाले प्रदेश नम्बर ५ को मंगलबार बुटवलमा सम्पन्न बैठकले प्रदेश ५ बाट कुनै पनि जिल्लालाई तलमाथि गरिए आन्दोलन गर्ने निर्णय गरेको छ ।
प्रदेश नम्बर ५ का प्रमुख तथा पार्टी उपमहासचिव विष्णु पौडेलले पेश गरेको प्रस्तावलाई सर्वसम्मत रुपमा पारित समेत गरेको छ ।
सरकारले हाल भएको सात प्रदेशलाई कायमै राखेर केही सीमांकन हेरफेर गरेर संविधान संशोधनको प्रस्ताव तयार पारेको छ । सो प्रस्तावमा प्रदेश नम्बर ४, ५ र ६ नम्बरको सीमांकन हेरफेर गर्ने उल्लेख छ ।
जसअनुसार अहिले ५ नम्बरमा प्रदेशमा भएका केही जिल्लालाई प्रदेश नम्बर ४ र ६ मा गाभिनेछ र, प्रदेश नम्बर ५ नवलपरासीदेखि बर्दियासम्मको हुनेछ । हाल नलवपरासीको आधा भाग प्रदेश नम्बर ४ मा छ ।
हाल प्रदेश नम्बर ५ मा रहेका गुल्मी, अर्घाखाँची र पाल्पालाई भने प्रदेश नम्बर ४ मा लैजाने प्रस्तावमा उल्लेख छ । यस्तै हाल प्रदेश नम्बर ५ मा रहेको प्युठान र रोल्पा प्रदेश नम्बर ६ मा गाभिनेछ भने हाल प्रदेश नम्बर ४ मा रहेको आधा रुकुम प्रदेश नम्बर ६ मै जानेछ ।