भारतीय राष्ट्रपति मुखर्जी नेपाल आउँदै, के के गर्दैछन् नेपालमा ?

भारतीय राष्ट्रपति मुखर्जी नेपाल आउँदै, के के गर्दैछन् नेपालमा ?

pranab-mukherjeeकाठमाडौं । भारतका राष्ट्रपति प्रणव मुखर्जी तीन दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदैछन् ।

मुखर्जीको भ्रमणका क्रममा सरकारले आज सार्वजनिक विदा दिनुका साथै जनतालाई सास्ती हुनेगरी विभिन्न सडकमा सवारी सञ्चालनका लागि समेत रोक लगाइएको छ ।

यसैगरी मुखर्जीको भ्रमणका क्रममा झण्डा र तुलहरु चोक चोकमा राखिनुका साथै स्वागतद्वार समेत निर्माण गरिएको छ ।

मुखर्चीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यसपछि राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति मुखर्जीले शीतल निवासमा औपचारिक भेटवार्ता गर्ने छन् ।

भारतीय राष्ट्रपति मुखर्जीको सम्मानमा राष्ट्रपति भण्डारीले बुधबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।

भारतका राष्ट्रपतिले बिहीबार पशुपतिनाथको पूजाअर्चना गर्नेछन् भने सोही दिन उनलाई काठमाडौं विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गर्नेछ । उनले नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालालाई सम्बोधन गर्नेछन् ।

राष्ट्रपति मुखर्जी नेपाल रहँदा राजनीतिक दलका नेताहरुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भारतका राष्ट्रपतिले शुक्रबार जनकपुरको भ्रमण गरी त्यहाँस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्ने तथा उनको सम्मानमा नागरिक अभिनन्दन गरिनेछ । मुखर्जी शुक्रबार काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्ने छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मुखर्जी नेपाल भ्रमणमा आउन लागेका हुन् । अठार वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको हो । यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले विसं २०५५ साल जेठमा नेपालको भ्रमण गरेका थिए ।