काठमाडौं । माओवादी केन्द्रका नेता गोपाल किरातीले केन्द्रीय कार्यलयको सदस्यबाट राजीनामा दिएका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी) बाट बाहिरिएर रामबहादुर थापा समूह एमाओवादीमा प्रवेश गरेको करिब चार महिनापछि किरातीले राजीनामा दिएको बाहिर आएको हो ।
उनले केन्द्रीय कार्यलयलाई चुस्त बनाउनका लागि आफूले राजीनामा दिएको दाबी गरेका छन् । तर, माके गठन भएको ठीक पाँच महिनापछि किरातीले राजीनामा भदौं २५ मा नै बुझाइसकेको सार्वजनिक गरेका हुन् ।
माओवादी केन्द्रमा सुपरजम्बो केन्द्रीय समिति र नेताहरुको असन्तुलित जिम्मेवारीका कारण असन्तुष्टि ब्यापक बनिरहेका बेला आएको किरातीको राजीनामालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
माओवादी केन्द्रभित्र को सिनियर र को जुनियर, कसको जिम्मेवारी के भन्ने लगायतका विषयमा तिव्र असन्तुष्टि छ । गत जेठ ६ गते माके घोषणापछि विभिन्न समूह छाडेर माकेमा प्रवेश गरेका कनिष्ठ कार्यकर्ता समेत केन्द्रीय सदस्य र सो भन्दा माथिको जिम्मेवारीमा पुगेका छन् ।
सोही विषयको माकेभित्र हाँसी मजाक र ठट्टा चल्ने गरेको छ । जेठ ६ गते कार्की पार्टी प्यालेसमा माके घोषणा कार्यक्रमबाट बाहिरिने क्रममा नेता राम कार्कीले माकेलाई हावा भरिएको बेलुनको संज्ञा दिएका थिए ।
करिब २५ सयको केन्द्रीय समिति रकेको माकेका कार्यलय सदस्य किरातीले गत भदौं २६ मा नै नेता रामबहादुर थापालाई राजीनामा बुझाएपनि हालसम्म सार्वजनिक गरिएको थिएन ।
उनले कार्यलय चुस्त बनाउँन भन्दै दिएको राजीनामामा सबै नेताको एक तह जिम्मेवारी घटुवा गर्न माग पनि गरेका छन् ।