२९ असोज, काठमाडौं । गोवामा हुने ब्रिक्स सम्मेलनको अन्तिम दिन आइतबार राती नौदेखि दशबजेसम्म एक घण्टा गोवास्थित होटल लिलीमा नेपालका प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेट्दैछन् । चिनियाँ राष्ट्रपति सिदेखि रुसी राष्ट्रपतिसम्म विहान , दिउसोको लागि भेटवार्ता मिलाइएको छ भने मोदीसँग मात्रै राती दशबजे भेटबार्ता मिलाइनुलाई कुटनीतिकवृतले संशयको दृष्टिले हेरेको छ ।
केही समय पहिले भारत भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले भारतसँग संयुक्त रुपमा जारी गरिएको २५ बुँदे वक्तव्यमा गम्भीर राष्ट्रघाती समझदारी गरेको भन्दै प्रम दाहालको चौतर्फी विरोध भइरहेको अवस्थामा दाहाल र मोदीको यो भेटले नेपाल र नेपाली जनताका विरुद्ध अर्को षड्यन्त्र गर्न सक्ने कुटनीतिकवृतले अनुमान गरेको छ । चिनियाँ र रुसी राष्ट्रपति पछि अन्तिममा गरिने यो भेटमा प्रम दाहालले सि र पुटिनसँग भएको कुराकानीको ब्रिफिङ गर्नका लागि पनि समयतालिका यसरी मिलाएको हुनसक्ने कुटनीतिज्ञहरुले विश्लेषण गरेका छन् । २५ बुँदेको ११ नं. बुँदाका अनुसार अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा नेपाल र भारतले समान धारणा बनाउने उल्लेख भएमुताविक दाहाल र मोदीबीचको भेट अन्तिममा मिलाइएको एक उच्च स्रोतले दावी गरेको छ ।
स्रोतका अनुसार चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण नरेन्द्र मोदीको हातमा रहेको छ । मोदीको सदिच्छाविना सिको नेपाल भ्रमण असम्भव रहेको छ । २५ बुँदे मार्फत् प्रम दाहालले सिको नेपाल भ्रमण गराउने स्वतन्त्र हैसियत गुमाइसकेका छन् । उनी अब भारतीय सत्तासिनवर्गको इशारा र निर्देशनमा चल्न बाध्य छन् ।