काठमाडौं । २७ असोजमा काठमाडौंमा गरिएको एक साक्षात्कार कार्यक्रममा परराष्ट्रविद्हरुले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले भरतीय शासक वर्गसँग गरेको २५ बुँदे सम्झौता अर्थात् संयुक्त वक्तव्य नै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रोकिनुको कारण रहेको तर्फ संकेत गरे । बोल्ने सबै वक्ताहरुले स्पष्ट रुपमा भने– छिमेकीसँगको कुटनीतिक सन्तुलन कायम राख्नमा सरकार असफल रह्यो । प्रधानमन्त्री दाहालको भारत भ्रमणको क्रममा अर्थात् ३१ भदौंमा जारी गरिएको संयुक्त वक्तव्यमा नेपाल–भारत सम्बन्धलाई ‘विशिष्ट’ भनिएको छ भने नेपालले सबै अन्तर्राष्ट्रिय मामिलामा समान धारणा बनाएर काम गर्ने सहमति गरेको छ । यसको अर्थ स्पष्ट छ कि भारतको इच्छाविना नेपाल सरकारका प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण तय गर्न सक्दैनन् । त्यसैले हुनसक्छ प्रम दाहालले अघोषित दूतको रुपमा दशैको बीचमा गृहमन्त्री विमलेन्द्र निधिलाई भारत र रक्षामन्त्री बालकृष्ण खाँडलाई चीन पठाएको ।
रिपोटर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा सबै कुटनीतिज्ञहरुले जोड दिएर भने प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपतिको नेपालमा भ्रमण गराउन विशेष पहल गर्नुपर्छ र त्यसका लागि चीनलाई विश्वासमा लिन सक्नुपर्दछ । २५ बुँदेको उल्लेख नै नगरी उनीहरुले भने ‘भएको गल्ती सच्याउनु पर्छ’ ।
स्वतन्त्र र सार्वभौम राष्ट्रको हैसियतमा दुवै छिमेकीसँग परस्पर हितमा आधारित समदुरीको सम्बन्ध कायम राख्न जरुरी हुन्छ । असंलग्नता र पञ्चशिलमा आधारित परराष्ट्र सम्बन्धले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको स्वतन्त्र र सार्वभौम अस्तित्व रहँदै आएको हो । विपीदेखि जिपीसम्म नेपाल–भारत सम्बन्धलाई ‘विशेष’ बनाइयो, अहिले प्रम पिकेले यो सम्बन्धलाई ‘विशिष्ट’ मात्रै बनाएनन्, नेपालमा भारतीय एकाधिकारलाई स्थापित गराउँदै नेपाललाई भारतीय दूतावासको हैसियतमा पु¥याएका छन् । कतिपयले २५ बुँदेले नेपाललाई भूटानीकरण गरेको पनि दावी गरिरहेका छन् ।
चिनियाँ राष्ट्रपतिसँग प्रम दाहालको शनिवार भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहालले २९ आसोजमा भारतको गोवा पुगेलगत्तै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्दैछन् । प्रधानमन्त्री दाहालले आगामी पुसभित्र सीको नेपाल भ्रमण गराउन पहल गर्ने स्रोतले जनाएको छ । तर चीनले प्रधानमन्त्री दाहाललाई विश्वास गर्न नसकेको स्रोतले जनाएको छ ।
कम्बोडिया र बंगलादेशको भ्रमण सकेर गोवा पुग्ने राष्ट्रपति सीले प्रधानमन्त्री दाहालसँग गर्ने भनिएको आधा घण्टाको साइडलाइन वार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्था, विकास प्रक्रिया र नेपाल–चीन सम्बन्धबारे छलफल गर्ने जानकारी दिइसकेका छन् । ब्रिक्स सम्मेलनमा भाग लिएर भारतको गोवाबाट फर्कंदा सी नेपाल पस्ने समाचार सार्वजनिक भए पनि नेपालको आन्तरिक कारण देखाएर उनी गोवाबाटै बेइजिङ फर्कने भएका छन् ।
प्रधानमन्त्री दाहाल असोज २९–३० गते भारतको गोवामा हुने उदीयमान शक्ति राष्ट्रहरु ब्राजिल, रसिया, भारत, चीन, दक्षिण अफ्रिका (ब्रिक्स) को आठौँ शीखर सम्मेलनमा पर्यवेक्षकको रुपमा सहभागी हुँदैछन् । सोही मितिमा गोवामा राखिएको बंगालका खाडीसम्वद्ध देशहरुको संगठन बिमस्टेकको बैठकमा पनि सहभागी हुने दाहालको कार्यक्रम छ ।
प्रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री प्रकाशरण महत, परराष्ट्र सचिव शंखरदास बैरागी, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार ऋषि अधिकारी, शिष्टचार महापाल दिपक अधिकारी, स्वकीय सचिव प्रकाश दाहाल, सचिवालय सदस्य मनोहरि तिमिल्सिना, निजी चिकित्सक डा.युवराज शर्मा लगायत १५ जना गोवा जाँदैछन् ।