२८ असोज, कतार । कतारले आप्रवासी कामदारसम्बन्धी नयाँ कानुन ल्याउने भएको छ । आप्रवासी कामदारहरुका लागि केही खुकुलो कानुन आउन लागेकोले त्यहाँ कार्यरत नेपाली उत्साही भएका छन् । नयाँ कानुनले क्षमतावान र दक्ष व्यक्तिलाई रुचि र सीप अनुसारको काम गर्ने अवसरको ढोका खोल्ने उनीहरूको विश्वास छ । डिसेम्बर १३ देखि उक्त कानुन लागू हुने कतारमा झन्डै साढे चार लाख नेपाली कार्यरत छन् ।

अब रोजगारदाता र कामदारबीचको सम्झौतापत्र अनुसार नयाँ स्पोन्सरसिप कानुन लागू हुनेछ । कतारमा काम गर्ने, बस्ने र घर फिर्ने अवधि करारपत्रमै उल्लेख हुन्छ । यसअघि सबै अधिकार कम्पनीले चाहेअनुसार हुन्थ्यो । कम्पनीबाट रद्द भएर स्वदेश फिरेको दुई वर्षसम्म अर्को कम्पनीमा जान लगाएको प्रतिबन्ध हटेको छ । सक्कली करारपत्र पाए लगत्तै कतार जानेबाटो खुल्नेछ ।
नतोकिएको करारपत्रमा आएका कामदार पाँच वर्षपछि अर्को कम्पनीमा जान पाउनेछन् । तोकिएको करारपत्र सकिएपछि सरकारको सम्बन्धित विभागबाट अनुमति लिई नयाँ रोजगार गर्न पाउने बाटो खुलेको छ ।

उक्त मितिदेखि कानुन कार्यान्वयनमा आउने सार्वजनिक जानकारी दिन व्यापक प्रचारप्रसार गरिने कतारी समाचार समिति (क्यूएनए) ले जनाएको छ । नयाँ स्पोन्सरसिप कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न कतारले गैरकानुनी रूपमा बस्दै आएका कामदारका लागि तीन महिने आममाफी दिइसकेको छ । आममाफीको अवधि डिसेम्बर १ बाट सकिँदैछ ।

नयाँ प्रावधानअनुसार करारपत्र सकिने तीन दिनअघि नै स्वदेश पठाउन रोजगारदाता वा कामदार आफैंले आन्तरिक मन्त्रालयलाई सूचना दिनुपर्नेछ । त्यसपछि कामदार करारपत्र सकिनासाथ आफ्नो देश फर्कन पाउने बाटो खुल्ला हुनेछ । कामदार पठाउन रोजगारदाताबाट अवरोध भए सीधै मन्त्रालयको एक्जिट समितिमा उजुरी हाल्न सकिन्छ । कामदारलाई आपतकालीन अवस्थामा स्वदेश फिर्नु परे उक्त समितिले तीन दिनमै निवदेनका आधारमा निर्णय दिन सक्नेछ । यसअघि कम्पनीले चाहे मात्रै स्वदेश फिर्न दिइन्थ्यो ।

नयाँ व्यवस्थाअनुसार कामदार ६ महिनाभन्दा बढी निरन्तर देशबाहिर बस्न पाउने छैन । कामदारले आवासीय अनुमति सकिएको ६० दिनभित्र पुनस् आउनुपर्ने नियम छ । ठीक ढंगले कम्पनीले हटाए वा कामदारको अपिल अदालतले रद्द गरिदिए चार वर्षसम्म पुनस् कतार आउन पाउने छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर