२८ असाेज, २०७३ । संयुक्त राष्ट्रसंघको नयाँ महासचिवमा पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो गुटरेस चुनिएका छन् । बिहीबार बसेको राष्ट्रसंघीय महासभाको बैठकले उनालाई राष्ट्रसंघका नवौ महासचिवको रुपमा चयन गरेको हो ।
गुटरेसले १ जनवरी २०१७ मा आफ्नो कार्यकाल सम्हाल्ने छन् । उनको कार्यकाल २०२१ को अन्त्यसम्म रहनेछ । बिहीबार राष्ट्रसंघमा आबद्ध १ सय ९३ देशका प्रतिनिधिहरु सम्मिलित सभाले महासचिवका लागि गुटरेसलाई चयन गरेको जनाइएको छ । १५ सदस्यीय सुरक्षा परिषद्ले यसअघि नै गुटरेसलाई नियुक्त गर्नेबारे टुंगो लगाइसकेको थियो ।
राष्ट्रसंघको महासभाका अध्यक्ष पिटर थामसनले गत मंगलबार नै सबैलाई पत्राचार गरेर बिहीबार राष्ट्रसंघको महासचिवको घोषणा हुने जानकारी गराएका थिए । वर्तमान महासचिव बान की मुनको अवधि सन् २०१६ को अन्त्यसँगै सकिनेछ । राष्ट्रसंघको सबैभन्दा बढी राजनीतिक समन्वय हुने निकायमा १० बर्ष विताएका उनी सन् १९९५ देखि २००२ सम्म पोर्चुगलका प्रधानमन्त्रीसमेत थिए । सोसलिस्ट इन्टरनेसनलको अध्यक्ष समेत रहेका उनले नेपालको भ्रमण समेत गरेका थिए ।
उनी २००५ देखि २०१५ सम्म संयुक्त राष्ट्रसंघको शरणार्थी मामिला सम्बन्धी उच्चायुक्तको मुख्यालयमा प्रमुखको रुपमा रहेका थिए । उच्चायुक्त हुँदा विश्व देखेको र समस्यालाई समेत बुझेको हुनाले उनको राष्ट्रसंघीय महासचिवको कार्यकाल पनि सफल रहने बताइएको छ ।