एजेन्सी । कोलम्बियाली जनताले फार्क विद्रोहीसँग भएको शान्ति सम्झौता अस्विकार गरेका छन् ।
कोलम्बियामा ५२ वर्ष लामो फार्क विद्रोहीको गृहयुद्ध अन्त्य गर्ने शान्ति सम्झौतालाई अनुमोदन गर्ने बारेमा भएको जनमत संग्रहमा विपक्षमा ५०.२ प्रतिशत र शान्ति सम्झौताको पक्षमा ४९.८ प्रतिशत मत परेको छ ।
गत सातामात्रै सरकार र फार्क विद्रोहीबीच भएको शान्ति सम्झौतामा राष्ट्रपति जुवान म्यानुअल सान्तोष र विद्रोही वामपन्थी नेता टिमोलिओन जिमेनेजले हस्ताक्षर गरेका थिए ।
जनमत संग्रहको परिणाम आएलगत्तै प्रतिक्रिया दिँदै राष्ट्रपति सान्तोषले आफूले मतपरिणामलाई स्विकार गर्ने तर शान्तिको प्रयासलाई पनि निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रपति जुवान म्यानुएल सान्तोष र फार्क विद्रोही समूहले सम्झौता अस्वीकार गर्नु परेता पनि शान्ति प्रक्रिया खल्बलिन नदिई युद्धविरामलाई भने कायमै राख्ने प्रतिज्ञा गरेका छन् ।
राष्ट्रपति सान्तोषले सम्झौताको पक्ष र विपक्षमा मतदान गर्ने दुबैको मत बिना भेद्भाव सम्मान गर्ने बताउँदै समर्थक र विरोधी दुबैथरीलाई वार्तामा आउन समेत आह्वान गरेका छन् ।
क्युवाको राजधानी हवानाबाट एक सन्देश पठाउँदै फार्क नेता टिमोलिओन जिमेनेजले जनमत संग्रहको परिणामले कोलम्बियामा युद्ध र रक्तपात चाहनेहरुको जित भएको प्रतिक्रिया दिएका छन् ।