अन्ततः यातायात व्यवसायी झुके, आजदेखि टिकट बुकिङ

अन्ततः यातायात व्यवसायी झुके, आजदेखि टिकट बुकिङ

ticket-bukingकाठमाडौं । विभिन्न माग राख्दै दशैंमा यातायात सञ्चालन नगर्ने अडानसहित टिकट बुकिङ बन्द गरेका व्यवसायी अन्ततः झुक्न बाध्य भएका छन् ।

दशैंमा घर जाने यात्रुहरुका लागि टिकट नपाएको गुनासो आएपछि सरकारी तथा स्कुल बसले यात्रु ओसार्ने निर्णय भएसँगै व्यवसायीले पनि टिकट बुकिङ खुल्ला गरेका हुन् ।

गाडीको क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले सुरक्षा जाँच कडा परेपछि यातायात ब्यवसायीहरुले टिकट नसकिँदै बुकिङ बन्द गरेका थिए ।

यातायात ब्यवसायीहरुको सिण्डिकेट तोड्न सरकारले विकल्प स्वरुप दशैंका यात्रु ओसार्न साझा यातायात तथा सरकारी कर्मचारी बोक्ने बससमेत सञ्चालन गर्ने तयारी गरेपछि ब्यवसायीहरु पनि आफ्नो अडानबाट पछि हटेका छन् ।

डेढ वर्षअघि भूकम्प गएका बेला प्याब्सन, एनप्याब्सन र हिसानको सहकार्यमा काठमाडौंबाट घर जान चाहनेलाई निःशुल्क यात्रु ओसारिएको थियो ।

यता, यातायात ब्यवस्था विभागले भने निजी विद्यालयका बस तथा सरकारी कर्मचारी बोक्ने सवारीसमेत दशैंको यात्रु ओसार्न परिचालन गर्ने तयारी गरेको जनाएको छ ।

विभागका प्रवक्ता वसन्त अधिकारीले सार्वजनिक रूपमा सञ्चालन हुने सवारी साधन सबै दशैंका समयमा चलाउन यातायात व्यवसायीलाई अनुरोध गरेको बताए । ग्यारेजमा राखिएका सवारी पनि सञ्चालन गर्न विभागले ब्यवसायीहरुलाई अनुरोध गरेको थियो ।

ब्यवसायीहरुले भने सिट क्षमताभन्दा २० जना यात्रु बढी राख्न पाउनुपर्ने अथवा फर्किँदा रित्तै फर्किनुपर्ने भएकाले त्यसको खर्च सरकारले ब्यवहोर्नुपर्ने अडान राखेका थिए । क्षमताभन्दा बढी यात्रु राख्न पाउनुपर्ने अडान अनैतिक भन्दै सरकारले अन्य विकल्प खोजी गरेको थियो ।

ब्यवसायीहरुको सिण्डिकेट तोड्न पनि अन्य विकल्प खोज्न थालेपछि ब्यवसायीहरु आफ्नो अडानबाट पछि हटेका हुन् । काठमाडौंमा सञ्चालित साझा यातायातले पनि राजधानी बाहिरका रुटमा दशैं अवधिभर बस चलाउन थालेको छ ।

साझा यातायातले काठमाडौं बाहिर बाग्लुङ र गोरखा रुटमा आइतबारदेखि नै बस सञ्चालन शुरु गरेको छ ।

यता, सरकारले वैकल्पिक यातायातका रुपमा प्रहरी, सेना र स्कूल बस चलाउने तयारी थालेपछि ब्यवसायीहरु सोमवारदेखि पुनः टिकट बुकिङ खुला गर्न सहमत भएका छन् । असोज ७ गतेदेखि खुला गरिएको टिकट बुकिङ एक हप्ता नहुँदै बन्द गरिएको थियो ।

आइतबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका भएको बैठकमा सोमवारदेखि बुकिङ खुलाउन र घर जान चाहने सबै यात्रुलाई गन्तब्यमा पु¥याउन व्यवसायीहरु सहमत भएका छन् ।

साथै व्यवसायीहरुले दशैंतिहारमा उपत्यकाबाट घर फर्किन चाहने यात्रुहरुलाई सवारीको कुनै कमी हुन नदिने प्रतिबद्धता सरकारसामू व्यक्त गरेका छन् ।
यातायात व्यवसायीहरुले दशैंतिहारमा उपत्यकाबाट जान यात्रुहरुलाई सवारीको कुनै कमी हुन नदिने प्रतिबद्धता सरकारसामू व्यक्त गरेको मन्त्री रमेश लेखकले बताए ।