काठमाडौं । पाकिस्तानले अर्को महिना हुने तय भएको सार्कको १९ औं शिखर सम्मेलन स्थगितको घोषणा गरेको छ ।
भारतसहितका पाँच देशले भाग नलिने घोषणा गरेपछि आयोजक राष्ट्र पाकिस्तानले सम्मेलन स्थगितको घोषणा गरेको हो ।
भारतले पाकिस्तानसँगको विवादका कारण सम्मेलनमा भाग नलिने घोषणागरेपछि अफगानिस्तान, भुटान, बंगलादेशले पनि सम्मेलनमा भाग नलिने निर्णय गरेको थियो ।
शुक्रबार श्रीलंकाले पनि सम्मेलनमा भाग नलिने बताएपछि पाकिस्तानले सार्क सम्मेलन स्थगितको घोषणा गरेको हो ।
पाकिस्तानले सार्क सम्मेलनको नयाँ मिति छिट्टै घोषणा गर्ने बताएको छ । पाकिस्तानमा हुने १९ औं सार्क शिखर सम्मेलनको अध्यक्षता भने नेपालले गर्नेछ ।
अध्यक्ष राष्ट्रको हैसियतमा नेपालले आयोजक राष्ट्र पाकिस्तानलाई सम्मेलनको वातावरण तयार गर्न आग्रह गरेको थियो ।