बडादशैंको नवरात्र प्रारम्भ, आज घटस्थापना

बडादशैंको नवरात्र प्रारम्भ, आज घटस्थापना

tika-jamara_dashainकाठमाडौं । हिन्दुहरुको महान चाड बडादशैं शनिबारदेखि प्रारम्भ भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नेपालीको महान् पर्व बडादशैं सुरु हुने गर्दछ ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने दशैं पर्व आश्विन शुक्ल पूर्णिमामा समाप्त हुन्छ । आश्विन शुक्ल पूर्णिमालाई कोजाग्रत पूर्णिमा पनि भनिन्छ ।

बडादशैंको पहिलो दिन शनिवार वैदिक विधिपूर्वक घर घरमा दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाका दिनदेखि दशैं घरमा दुर्गापूजा आरम्भ गरिन्छ । घटस्थापनादेखि विजया दशमीको दिनसम्मलाई नवरात्री भनिन्छ ।

आश्विन शुक्ल प्रतिपदाका दिन विधिपूर्वक जमरा राख्ने गरिन्छ । बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जौ रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ । उक्त जमरा दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै ग्रहण गरिन्छ ।

विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले यो दिनलाई घटस्थापना भन्ने गरिएको हो । घटस्थापनाको साइत शनिवार बिहान ८ बजेर ३५ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । यीनै नौ दुर्गाका रुपलाई नवदुर्गा भन्ने गरिन्छ ।

बडादशैंको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्छन् । नवरात्र भनेर समेत चिनिने दशैं यस वर्ष तिथिको घटबढ नरहेकाले १० रात्रि र ११ दिनको रहेको छ ।

असोज २५ गते विजया दशमीको दिन देवी विसर्जनको साइत बिहान ८ बजेर २५ मिनटमा रहेको छ भने टीकाको उत्तम साइत ८ बजेर ४५ मिनटमा रहेको पञ्चाङ्ग समितिले जनाएको छ ।
शनिवार घटस्थापना गरेर राखिएको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ ।