काठमाडौं । नेपालले सार्क शिखर सम्मेलन निर्धारित मितिमा नै गर्न आग्रह गरेको छ ।
सार्कको अध्यक्ष राष्ट्र नेपालले सार्कको १९ औं शिखर सम्मलन निर्धारित मितिमा नै गर्नका लागि सार्क सदस्य राष्ट्रलाई सहभागिता सुनिश्चितताको लागि आग्रह गरेको हो ।
भारत, बंगलादेश, भुटान र अफगानिस्तानले पाकिस्तानमा हुने सार्क सम्मेलनमा सहभागी हुन नसक्ने जानकारी गराएपछि सार्कको वर्तमान अध्यक्ष राष्ट्र नेपालले घोषित मितिमै सम्मेलन गर्नको लागि उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिएको हो ।
नेपालले सार्कको बडापत्रलाई मनन गर्दै १९ औं शिखर सम्मेलनमा सहभागी हुने वातावरण सिर्जना गर्न आग्रह गरेको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै पाकिस्तानको इस्लामावादमा आगामी कात्तिक २४ र २५ गते आयोजना गरिन लागिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सगंठन (सार्क) को १९ औँ शिखर सम्मेलनमा अफगानिस्तान, बंगलादेश, भूटान र भारत सहभागी नहुने जानकारी प्राप्त भएको जनाएको छ ।
सार्कका कुनै पनि एक सदस्य देश सहभागी नभएमा शिखर सम्मेलन हुन सक्दैन । भारत र पाकिस्तानबिचको विवादका कारण आगामी नोभेम्बर ९ र १० मा हुन लागेको सार्क शिखर सम्मेलन अन्योलमा परेको हो ।
सार्क शिखर सम्मेलनमा सदस्य आठ राष्ट्रका सरकार प्रमुखको उपस्थित हुने गर्छ । अल्फाबेटका आधारमा हरेक दुई वर्षमा हुने सार्क शिखर सम्मेलनको १९ औं सम्मेलन पाकिस्तानको इस्लामावादमा हुन लागेको थियो ।