एजेन्सी । अमेरिकाले सिरियामा जारी युद्धका विषयमा चलिरहेको राष्ट्रसंघ सुरक्षा परिषदको बैठकमा सिरियामा जारी कारबाहीका बारेमा गलत जानकारी दिएको आरोप लगाएको छ ।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत सामान्था पावरले सिरियामा रसियाली कारबाही चरमपन्थविरोधी लडाई नभएर बर्बरता भएको बताइन् ।
पावरले सोमबार सुरक्षा परिषदको बैठकमा विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी एलेप्पोमा रुस र सिरियाली सेनाले जमिन र हवाई हमला गरिरहेको आरोप लगाइन् ।
विगत एक सातामा मात्रै एलेप्पोमा १ सय ५० भन्दा बढी हमला भएको उनको भनाई थियो । जवाफमा रुसी राजदूत भिटाली चुर्किनले सिरियामा शान्ति बहाल गर्नु लगभग असम्भब काम भएको उल्लेख गर्दै हतियारबन्द विद्रोही गुटले हालै भएको युद्धविरामलाई तोडेपछि यस्तो समस्या देखिएको बताए ।
उता सिरियाका प्रतिनिधिले भने सुरक्षा परिषदमा सरकारी सेनाले पूरा एलेप्पोलाई नियन्त्रणमा लिने बताए । यसअघि आइतबार एलेप्पोको विषयलाई लिएर बेलायत, अमेरिका र फ्रान्सले सुरक्षा परिषदको आपतकालीन बैठक बोलाउन माग गरेका थिए ।
सिरियाका लागि राष्ट्रसंघका विशेष दूत स्टेफन डि मिस्टुराले एलेप्पोमा आतंकको उचाई नयाँ ठाउँमा पुगेपनि अझै हिंसा अन्त्य गरेर राजनीतिक समाधान खोज्न आशाको झिल्को बाँकी रहेको बताए ।