क्रान्तिकारी माओवादीका नेताहरु प्रहरी थुनाभित्रै आमरण अनसनमा

क्रान्तिकारी माओवादीका नेताहरु प्रहरी थुनाभित्रै आमरण अनसनमा

shivram-gकाठमाडौं । “हामीमाथि राज्यले लगाएको झुठ्ठा मुद्दा फिर्ता गरी तत्काल रिहा गरियोस्, थुनाभित्र राजनीतिक बन्दीको रुपमा व्यवहार गरियोस्” भन्ने दुई बुँदे माग राखेर बुधबार गिरफ्तार गरिएका क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा मधेसी राष्ट्रिय मुक्ति मोर्चा क्रान्तिकारीका केन्द्रीय महासचिव शिवराम यादवसहित अखिल क्रान्तिकारीका सहसंयोजक राम नेपाली, केन्द्रीय सदस्य महेश श्रेष्ठ र दिपेन्द्र गहतराजले शुक्रबार विहान ६ बजेदेखि आमरण अनसन सुरु गरेका छन् । महानगरीय प्रहरी वृत सिंहदरबारले जिल्ला अदालत काठमाडौंमा विहीबार अवैध चन्दा असुलीको मुद्दा दायर गरेपछि पूर्वसभासद् समेत रहेका यादवसहितका विध्यार्थी नेताहरुले झुठ्ठा मुद्दा खारेजीको माग राखेर आमरण अनसन बसेका हुन् ।

पार्टीको केन्द्रीय कार्यक्रम अनुसार उनीहरुले बुधबार स्वेच्छिक रुपमा बागजारमा रहेको सागर बुक एण्ड स्टेशनगरीमा पछि दिने गरी एक हजारको कुपन काटेका थिए । यसै क्रममा प्रहरीले अपहरणको शैलीमा अपराधीलाई जसरी गिरफ्तार गरिएको र प्रहरी हिरासतमा पनि अपराधीलाई जस्तै व्यवहार गरी राखिएको हिरासतमा रहेका नेताहरुले जनाएका छन् ।

यसैबीच, आफ्ना निर्दोष नेता कार्यकर्ताहरुमाथि झुठ्ठा मुद्दा लगाएको भन्दै अविलम्ब रिहाइको माग गर्दै घोषणा गरिएको तीनदिने संघर्षका कार्यक्रमन्तर्गत शुक्रबार विहान आयोजना गरिएको चक्काजामको क्रममा प्रहरीले गिरफ्तार गरेर पुलिस क्लवमा राखिएका क्रान्तिकारी माओवादीका नेवा राज्य इन्चार्जसहितका नेता कार्यकर्ताहरुलाई शुक्रबार साँझ छाडिएको छ ।

संघर्षलाई अझ सशक्त पारिने

आजै क्रान्तिकारी माओवादी नेवा राज्यअन्तर्गतका नौंवटा जिल्ला पार्टीले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै गिरफ्तार गरिएका नेता कार्यकर्तालाई लगाइएको झुठ्ठा मुद्दा खारेज गरी तत्काल रिहाइ नगरे संघर्षका कार्यक्रमलाई अझ सशक्त पारिने बताएका छन् । राज्यले क्रान्तिकारीहरुमाथि दमनमा उत्रेर फासिवादी चरित्र प्रदर्शन गरेको भन्दै क्रान्तिकारी माओवादीका जिल्ला नेताहरुले दमनको सशक्त प्रतिरोध गर्ने जनाएका छन् ।