एजेन्सी । मंगल ग्रहमा भूकम्पका क्रममा चट्टानको आपसी घर्षणका कारण बनेका नयाँ चट्टानमा हाइड्रोजन पर्याप्त मात्रामा हुनसक्ने वैज्ञानिकहरुले दावी गरेका छन् ।
एक नयाँ अध्ययन अनुसार मंगल ग्रहमा यसप्रकारका भूकम्पीय गतिविधि जीवनका लागि आवश्यक हाइड्रोजन उत्पादन हुनसक्ने बताइएको हो ।
शोधकर्ताहरुले स्कटल्यान्डको समुद्री तटमा ‘आउटर हेब्राइट्स’ को सक्रिय ‘फल्ट लाइन’ को आसपासमा बनेका चट्टानी संरचनाको अध्ययन पश्चात यस्तो निश्कर्ष निकालेका हुन् । यी शोधकर्तामा अमेरिकाको येल विश्वविद्यालयका शोधकर्ता समेत सामेल थिए ।
लेखक तथा येल विश्वविद्यालयका भूवैज्ञानिक सिन म्याकमोहनले पछिल्लो अध्ययनमा भूकम्पका क्रममा चट्टानको आपसी टकरावमा फुट्दा हाइड्रोजन पैदा हुने बताए ।
उनले भनेका छन्, ‘सक्रिय फल्ट लाइनको आसपासमा सुक्ष्म जीवको विकासका लागि पर्याप्त हाइड्रोजन हुनसक्छ ।’
उनले मंगल ग्रहमा धेरै मात्रामा भूकम्पीय गतिविधि हुने भएकाले सुक्ष्मजीव तथा सानो जनसंख्यालाई छोटो अवधिका लागि पर्याप्त हाइड्रोजन पैदा हुन सक्ने बताए ।