काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरणले प्रचण्डले जनयुद्धको अन्त्यको घोषणा गरेपनि जनयुद्धका एजेण्डाहरु अन्त्य नभएको बताएका छन् ।
बुधबार क्रान्तिकारी माओवादीले कमलपोखरीमा आयोजना पत्रकारसँगको विशेष भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले पहिले भन्दा पनि अहिले राष्ट्रियता, जनतन्त्र, जनजीविकालगायतका सवालहरु महत्वपूर्ण बनेको उल्लेख गर्दै उनले अझै पनि जनयुद्धका मुद्दाहरु जहाँको त्यही रहेको उल्लेख गरे । उनले विगतमा काँग्रेस–एमालेले पनि नगरेको राष्ट–एमालेले पनि नगरेको राष्ट्रघात अहिले माओवादीबाट भइरहेको उल्लेख गर्दै उनले भर्खरै माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको भारत भ्रमणका क्रममा गरेको २५ बुँदे सहमतिले राष्ट्रियता झनै संकटमा परेको उल्लेख गरे ।
अध्यक्ष वैद्यले विगतमा आफैले उठाएका एजेण्डाका विरुद्ध अहिले प्रचण्ड–बाबुराम लगायतका नेताहरु लागेको उल्लेख गरे । अहिले देशमा संविधान मान्ने र नमान्ने दुईवटा शिविरहरु खडा भएको उल्लेख गर्दै उनले अहिलेको संविधानलाई संशोधन नभई नयाँ निर्माण गर्नुपर्ने उल्लेख गरे ।
अहिलेको संविधानलाई कुनैपनि हालतमा स्वीकार गर्न नसकिने उल्लेख गर्दै उनले ठूलै संघर्ष गर्ने सामथ्र्यमा आफूहरु तत्काल नरहेपनि नयाँ आन्दोलनको तयारीमा रहेको उल्लेख गरे ।
मधेसवादी दलहरुको भन्दा पनि आफूहरुको अहिलेको संविधानमा बढी असहमति रहेको उल्लेख गर्दै उनले आफूहरुका विषयलाई वेवास्ता गरिएको उल्लेख गरे । लोकतन्त्रमा सबैका मतहरुलाई स्थान दिनुपर्ने भएपनि उनले अहिलेको लोकतन्त्र देखाउने दाँतमात्रै भएको टिप्पणी गरे ।
आफूहरु नयाँ जनवादी गणतन्त्रात्मक संविधान बनाउने अभियानमा हिडेको भन्दै अहिलेको संविधानलाई खारेज गरेर नयाँ संविधान बनाउनुपर्ने पक्षमा आफूहरु रहेको उल्लेख गरे ।
‘संविधान जारी गर्ने दलहरुबीच नै कार्यान्वयनका विषयलाई लिएर अहिले विवाद रहेको छ’, उनले भने यस्तो अवस्थामा यसको कार्यान्वयनको सम्भावना तत्काल देखिदैन ।’
अब निर्वाचन हुने अवस्थामा पार्टी भर्खरै बनेको देशभक्त जनगाणतान्त्रिक मोर्चा मार्फत निर्वाचनमा जाने विषयमा पनि सोचिरहेको उल्लेख गर्दै उनले संविधानका विषयलाई असहमतिमा राख्दै निर्वाचनमा जान सकिने उल्लेख गरे ।
प्रचण्डको भारत भ्रमणलाई कसरी लिनुभएको छ भन्ने पत्रकारको जिज्ञासाको उत्तर दिँदै उनले राष्ट्रघाती सन्धी सम्झौतालाई समेत कार्यान्वयन गर्ने गरी भएकोक सहमतिले उनको भारत भ्रमण असफल र देशलाई पुनः पछि फर्काउने हिसाबले भएको उल्लेख गरे ।
प्रचण्डसँग एउटै पार्टी हुँदा र विभाजनपछि पनि पीटीए र पीडीएको विरोध गर्ने सहमति भएको उल्लेख गर्दै उनले अहिले आएर प्रचण्डले नै त्यसैलाई अनुमोदन गर्नु आश्चर्यको विषयमा भएको बताए ।
अध्यक्ष वैद्यले अहिले प्रचण्ड र बाबुराम दुवै सारमा एउटै भएको उल्लेख गर्दै उनले बाबुरामले माओवादलाई नै छाडेको र प्रचण्डले नाममात्रको माओवादी नाम राखेको बताए ।
संविधान नमान्ने सबै शक्तिसँग एकता हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘विचारधारा मिलेमा मात्रै माओवादी र अन्य क्रान्तिकारी शक्तिसँग एकता हुनसक्छ, एकता भन्दैमा राजाले पनि अहिलेको संविधानलाई मान्दैनन्, के राजासँग एकता गर्ने त ? त्यस्तो हुँदैन ।’
अन्तक्र्रिया कार्यक्रममा पार्टीका वरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले प्रचण्डको भारत भ्रमणका क्रममा भएका राष्ट्रघाती सम्झौताको सञ्चारमाध्यमले विरोध गर्नुपर्ने बताए । उनले प्रचण्डको भारत भ्रमणका क्रममा भएको २५ बुँदे साझा सहमतिको १०, ११ र १६ नम्बर बुँदामा गम्भिर राष्ट्रघात भएको उल्लेख गरे ।
सहमतिको ११ नम्बर बुँदामा नेपालले हरेक निर्णयमा भारतसँगै प्रस्तुत हुने उल्लेख रहेको भन्दै उनले यसले नेपाल भारतको ब्लकमा सामेल भएको अर्थ दिने भएकाले नेपालको असंलग्न परराष्ट्र नीतिको ठाडो उल्लंघन भएको बताए ।
कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रिय सचिवालय सदस्य रामसिंह श्रीस, दिनेश शर्मालगायतका नेताहरु समेत सहभागी थिए ।