काठमाडौं । सरकारले दशैं अघि नै मधेस आन्दोलनका घटनामा संलग्नहरुको मुद्दा फिर्ता लिने तयारी सुरु गरेको छ ।
गृह मन्त्रालयले मधेस आन्दोलनका क्रममा मुद्दा लागेका ३ सय ७४ जनाको मुद्दा फिर्ता लिने प्रक्रिया अगाडि बढाएको हो ।
गृह मन्त्रालयले कानुन मन्त्रालय र महान्याधिवक्ताको कार्यालयसँगको सहकार्यमा आन्दोलन अवधिमा दर्ता भएका १ सय ६० मुद्दामा प्रतिवादी बनाईएका तीनसय ७४ जनाको मुद्दा फिर्ता लिने तयारी गरेको हो ।
मधेसी मोर्चासँगको सहमतिअनुसार आन्दोलनकारीका मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढाउन महान्यायाधिवक्ता, मोर्चाका तर्फबाट कानुन व्यवसायीहरूसँग छलफल चलिरहेको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको भनाई छ ।
आन्दोलनरत पक्षबाट अधिवक्ता सुरेन्द्र महतो र दिपेन्द्र झा समेतको सहभागितामा कानुनी प्रक्रियाअघि बढाइएको छ ।
सरकारले मधेस आन्दोलनमा परिएकालाई सहिद घोषणा तथा घाइतेको उपचार र आन्दोलनकारीहरुको मुद्दा तत्काल फिर्ता लिने लगायत मोर्चासँग तीन बुँदे सहमति गरेको थियो ।
मोर्चासँगको सहमतिअनुसार सहिद घोषणा गर्ने निर्णय कार्यान्वयन भइसकेको छ भने घाइतेको उपचार खर्च उपलब्ध गराउने प्रक्रिया पनि अघि बढाइसकेको छ ।
मधेस आन्दोलनका क्रममा मधेसीवादी पार्टीका कार्यकर्तामाथि १ सय ६० वटा मुद्दा रहेको गृहमन्त्रालयको तथ्यांक छ । मन्त्रालयमा सुरक्षासँग सम्बन्धित सञ्चारकर्मीसँगको भेटमा गृहमन्त्री निधिले दशैंअघि नै मुद्दा फिर्ताको प्रक्रिया टुंग्याउने तयारी भएको बताए ।
मोर्चाको सूचीअनुसार ५२ जनालाई सहिद घोषणा गरेर उनीहरूका परिवारलाई १० लाख दिइसकेको र छुटेका भनिएका १२ जनालाई सहिद घोषणा गर्न छानबिन भइरहेको पनि मन्त्री निधिले जानकारी दिए । उपचार खर्चको रकम भुक्तानीका लागि भने बिलसहितको विवरण मागे पनि मोर्चाले सरकारलाई उपलब्ध गराएको छैन ।