एमालेले संविधान दिवस एक्लै मनाउने, संविधान विरोधी कार्यक्रमको प्रतिरोध

एमालेले संविधान दिवस एक्लै मनाउने, संविधान विरोधी कार्यक्रमको प्रतिरोध

uml-party-office-in-dhumbarकाठमाडौं । नेकपा एमालेले संविधान जारी भएको दिन असोज ३ गते एक्लै कार्यक्रम गर्ने तयारी गरेको छ ।

सरकारले भब्य रुपमा संविधान उत्सव मनाउने निर्णय गरे पनि एमालेले सरकारी कार्यक्रमलाई बेवास्ता गर्दै छुट्टै उत्सव मनाउने तयारी गरेको हो ।

संविधान जारी भएको चार महिनामै पहलो संशोधन गरिएको थियो ।

अहिले पनि संविधानमाथि असन्तुष्टि राख्नेहरुको ठूलो पंक्ति रहेको तथा कार्यान्वयनमा समेत आउन नसकिरहेका बेला संविधान उत्सव मनाउने सरकारले निर्णय गरेको थियो ।

असोज ३ गते संविधान जारी भएकाले असोज २ गतेदेखि नै उत्सव मनाउन शुरु गरी तीन दिन उत्सव मनाउने निर्णय सरकारले गरिसकेको छ ।

असोज ३ गते सैनिक मञ्च टुडिखेलमा भब्य रुपमा संविधान दिवस मनाउने तयारी गरिरहँदा एमालेले त्यसको नजिकै बसन्तपुरमा छुट्टै संविधान दिवस मनाउने निर्णय गरेको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

सोमवार रत्नपार्कको शान्तिबाटिकामा जम्मा भएर जुलुससहित वसन्तपुरमा पार्टीको आयोजनामा संविधान दिवस मनाइने उनको भनाई छ । संविधान दिवसको कार्यक्रमलाई अध्यक्ष केपी ओलीले संबोधन गर्नेछन् ।

यसैबीच, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान दिवसको दिन संविधान विरोधी कार्यक्रम गरिए त्यसको प्रतिरोध गर्ने तयारी गरेको छ ।

संविधानप्रति असन्तुष्ट जनाएका मधेसवादीसहितका दलले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने तथा विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेका छन् ।

मधेसी दलहरुका साथै संविधानप्रति असन्तुष्ट दलहरुले संविधानविरुद्ध प्रदर्शन गर्ने भएपछि प्रमुख प्रतिपक्षी दल एमालेले त्यसको प्रतिरोध गर्ने तयारी गरेको हो ।

मधेसवादी दलहरुले संविधानविरुद्ध देशब्यापी प्रर्दशन गर्ने तथा बेलुका ‘ब्ल्याक आउट’ गर्ने घोषणा गरिसकेका छन् ।

मधेसी मोर्चा आवद्ध जनजातिसहितको संघीय गठबन्धनले माइतीघर मण्डलामा कालो झण्डा प्रदर्शन गरी असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने कार्यक्रम तय गरेको छ ।

संविधान विरुद्ध प्रदर्शन भएमा संविधान विरोधीहरुलाई लखेट्न ठूलो समूहमा युवाहरु परिचालन गर्ने तयारी गरेको स्रोतको भनाइ छ । पार्टीको झण्डा नबोकेर स्वतन्त्र युवाको नामबाट त्यसको प्रतिरोध गर्ने एमालेले तयारी गरेको हो ।