काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल जम्बो टोलीका साथ बिहीबार भारतको नयाँदिल्ली जाने भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दाहाल चार दिने भ्रमणमा जान लागेका हुन् ।
भारत भ्रमणका क्रममा दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी लगायत उच्च प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्नेछन् ।
दाहालको भारत भ्रमणमा दुई देशबीचको सम्बन्ध सुधारको प्रयास हुने सरकारको दाबी छ । दाहालको चार दिने भारत भ्रमणका क्रममा केही महत्वपूर्ण सम्झौता समेत हुने भएको छ ।
नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री दाहाल भारतका राष्ट्रपति प्रणव मुखर्जीका राजकीय पाहुनाका रुपमा राष्ट्रपति भवनमा बस्ने कार्यक्रम तय भएको छ । भ्रमणको दोस्रो दिन प्रधानमन्त्रीको महत्वपूर्ण भेटघाट तथा सम्झौताहरु हुनेछन् । प्रधानमन्त्री दाहालले शुक्रबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता गर्नेछन् ।
सोही दिन प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति मुखर्जीसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ । दाहालको स्वागतमा शुक्रबार राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना गरिनेछ ।
शुक्रबार बिहान प्रधानमन्त्री दाहाल राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको छ ।
दिल्लीमा रहँदा प्रधानमन्त्री दाहाललाई भारत सरकारका केही वरिष्ठ मन्त्रीले पनि छुट्टाछुट्टै भेट्ने कार्यक्रम छ । दिल्लीमा रहँदा बुद्धिजीवी तथा तथा व्यापारिक समुदायसँग अन्तरक्रिया र नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ ।
चार दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले हिमाञ्चल प्रदेशको पनि भ्रमण गर्नेछन् ।
प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा हुने द्विपक्षीय बैठकमा नेपाल र भारतबीच भएको समझदारीपत्र अनुसार पहिलो चरणको हुलाकी मार्ग निर्माण कार्यको शीघ्र थालनी र दोस्रो चरणका लागि सहयोगको सम्भावनाका बारेमा कुराकानी हुनेछ ।
प्रधानमन्त्री दाहालकाअनुसार ऊर्जा क्षेत्रमा सहयोगको सम्बन्धमा यसअघि सम्पन्न भइसकेको ऊर्जा व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयन तथा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनको शीघ्र अनुमोदन गरी अन्य कार्य आरम्भ गर्न प्रमुख प्राथमिकताका साथ पहल हुनेछ ।
यस्तै, भूकम्पपछिको पुनःनिर्माणमा भारतीय सहयोग, नेपाल– भारत सीमास्थित वीरगन्जमा एकीकृत चेकपोस्टको यथाशीघ्र निर्माण, विराटनगर, भैरहवा र नेपालगन्जमा पनि चेकपोस्ट निर्माण आरम्भ एवम् भारतका तर्फबाट घोषणा भएका सहुलियतपूर्ण ऋणको पूर्वाधारका क्षेत्रमा उपयोग गर्नेबारेमा पनि छलफल हुने जनाएको छ ।
भारतसँगको नेपालको व्यापार घाटा कम गर्ने उपाय, गौरीफन्टा तथा दोधारा चाँदनीबाट व्यापार तथा पारवहन मार्ग सञ्चालनको सम्भावना, दुई मुलुकबीच सीमापार रेल्वे स्थापना गर्ने सम्बन्धमा भइरहेका कामको प्रगति, सीमा क्षेत्रमा देखिएका डुबान सम्बन्धी समस्याको समाधान लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणका समयमा दुबै पक्षबाट आन्तरिक निर्णयका प्रक्रिया यथासमयमा पूरा भएको अवस्थामा नेपाल गुणस्तर तथा नापतौल विभाग र भारतीय मानक ब्यूरोकाबीच सहयोग सम्बन्धी समझदारी पत्र, भारतीय भूमि हुँदै बुल्क कार्गो नेपालको सीमानासम्म ल्याउने र विशाखापट्नम बन्दरगाहबाट नेपालका नाकासम्म रेल्वे सेवा सञ्चालनका लागि दुई देशबीच विद्यमान रेल्वे सेवा सम्झौतालाई संशोधन गर्ने सम्बन्धी पत्रको आदानप्रदान गर्ने कार्य सम्पन्न हुने जनाइएको छ ।
भारत भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले हिमाञ्चल प्रदेशस्थित नाथपा झाँक्री जलविद्युत् आयोजनाको अवलोकन गर्नुका साथै त्यहाँको औद्योगिक उत्पादन एकाइको निरीक्षण गर्ने कार्यक्रम रहेको तय भएको छ ।
प्रधानमन्त्री दाहालको भ्रमण दलमा प्रधानमन्त्री पत्नी सीता, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी तथा केही सञ्चारकर्मीहरु गरी डेढ सय भन्दा बढी रहनेछन् ।
दाहालले चार दिने भारत भ्रमण पूरा गरी असोज २ गते स्वदेश फर्किनेछन् । असोज २ गते स्वदेश फर्किने प्रधानमन्त्री दाहाल असोज ३ गते नै राष्ट्रसंघको भ्रमणमा जाने भएका छन् ।
यस्तो छ कार्यतालिका
भदौ ३० गते : भारतका साना राजनीतिक दलका नेताहरुसँग भेटघाट, दूतावासको आयोजनामा हुने रात्रीभोजमा सहभागी, प्रवासी नेपाली प्रतिनिधिसँग भेटघाट ।
भदौ ३१ गते : भारतीय राष्ट्रपति प्रणव मुखर्जी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता, नेपाल र भारतीय पक्षबीच विभिन्न सम्झौता ।
असोज १ गतेः हिमाञ्चल प्रदेशमा निर्माणाधीन हाइड्रोपावरको अवलोकन, भारतीय ब्यापारीहरुसँग छलफल तथा अन्तरक्रिया ।
असोज २ गते : योगगुरु रामदेवको पतञ्जली योगपीठमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी भइ सोही दिन स्वदेश फिर्ता ।