आदर्श रक्षाको चुनौती र इच्छुक साँस्कृतिक प्रतिष्ठान

प्रकाशित मिति : २०७३ भाद्र २८

- ईश्वरचन्द्र ज्ञवाली

kkkkभर्खरै इच्छुक साँस्कृतिक प्रतिष्ठानको साधारणसभा सम्पन्न भएको छ । इच्छुक प्रतिष्ठान प्रगतिशील धाराको साँस्कृतिक–साहित्यक धरोहर हो, विशेषतः माओवादी धाराको । किनकि, जनयुद्धमा वलिदान गर्ने साहित्यिक व्यक्तित्व कवि इच्छुकको नाममा यो स्थापित छ । इच्छुकका आदर्श अनुरुप सञ्चालन गर्ने ध्येयले नै यो स्थापित गरिएको हो । सम्भवतः सिंगो जनयुद्धको एउटा स्थापित स्मारकको भूमिका यसले पूरा गर्नुपर्नेछ । यसले समाज रुपान्तरणको कठोर यात्राको इतिहासलाई भण्डारण गर्ने जिम्मा पनि लिनु छ । सर्वहारा वर्गको मुक्तिको सपना बोकेर ताता गोली सहर्ष हृदयमा थाप्ने महान् सहिदका आदर्शको मूल्यलाई पनि यसले बोक्नु पर्नेछ । सर्वहारा साँस्कृतिक क्रान्तिको उद्देश्यको विस्तार र व्यापकताको अभिभारा पनि यसको काँधमा छ ।

मान्छेहरु भन्ने गर्छन्—इच्छुक साँस्कृतिक प्रतिष्ठान जनताबाट स्थापना भएको समानान्तर प्रज्ञा प्रतिष्ठान हो । त्यसैले यसमाथि धेरैका आँखा गडेका पनि छन् । हो, माओवादी कला, साहित्य, गीत, संगीत, चलचित्र आदिको श्रीवृद्धिमा यसले खेल्नुपर्ने भूमिका गहन छ । अहम् मूल्यको छ । किनकि, कुनै पनि पछौटे सत्ताले उत्पीडित वर्गको पक्षमा कला साहित्यको प्रवद्र्धन गर्न कहिल्यै सक्दैन, गर्दैन । त्यसको प्रवद्र्धन त जनताका पक्षधर साहित्यकर्मीले गर्ने हो । हामी इच्छुक प्रतिष्ठानसित सम्बद्ध साँस्कृतिककर्मीहरुले त्यो अभीष्ट पूरा गर्ने हो । त्यसैले त प्रखर सौन्दर्य चिन्तक चैतन्यले इच्छुकको साधारण सभामा उद्घोष गर्नु भोर्—इच्छुकका आदर्श, सहिदका आदर्श, जनताका र देशका आदर्श लाई पूरा गर्ने संंंंंकल्प र अभिभारा हामी इच्छुकका अनुयायीले लिनै पर्छ । क्रान्तिको कार्यभार पूरा भएको छैन । इच्छुक प्रतिष्ठानले क्रान्तिकारी परिवर्तन र संघर्षको पक्षमा अभिमत र चेतना सिर्जना र विस्तार गर्न पहल लिनु पर्छ । अर्को क्रान्तिको पूर्णताका लागि नयाँ जागरण पैदा गर्नु पर्छ”। यो सन्देश ज्यादै गहिरो छ । यसैसित इच्छुकको साइनो पनि छ । इच्छुक लगायत लगभग २०० जनाले साँस्कृतिक फाँटबाट वलिदान दिएका हुन्—जनयुद्धमा । प्लाटुन, कम्पनी र बटालियन स्तरसम्म उठेको साँस्कृतिक आन्दोलनको यो अथक, अविरल, उदात्त यात्राको उत्तुंग जोस र साहसको कीर्तिमान इच्छुकहरुले नै कायम राखे । उनलाई शब्द र कर्मको एकत्वका रुपमा व्याख्या गरिन्छ । इच्छुकको उदात्त चिन्तन, उदात्त भाव र उदात्त हृदयको सबैले मुक्तकण्ठले प्रशंशा गर्छन् । त्यसो गर्नुको पछाडि उनको आदर्श र आचरणवीचको मेल मूल कारक बनेको छ । उनले जे बोले त्यो व्यवहारमा अभिव्यक्त भयो । त्यहाँ एउटा इमान्दारिता थियो । त्याग र समर्पण थियो । नैतिक आदर्श र सरलता तथा सादगी थियो । त्यो नक्कली क्रान्तिकारिता थिएन । भ्रष्ट चरित्र तर उत्तम आदर्शको पाखण्ड पनि थिएन । त्यो जनताको र देशको पक्षमा समर्पित अभिमन्यू थियो । सधै धरातलमा टेकेर हिंड्ने जनदिशा समातेको एउटा क्रान्तिकारी आदर्श थियो—इच्छुक । जसमा सर्वहारा साँस्कृतिक चरित्र थियो । त्यही इच्छुकलाई प्रतिक मानेर सम्पूर्ण साँस्कृतिक सहिदहरुकै प्रतिबिम्बनको प्रतिक बनेको छ–इच्छुक साँस्कृतिक प्रतिष्ठान ।

kiran

जनयुद्धका सबै अवशेष मेटाउन, त्यसको इतिहास नै सिध्याउन, त्यसको गन्तव्यलाई भत्काउन अहिले लागि परेका छन्–पश्चगामीहरु । त्यसैले इच्छुक सबैको घेराबन्दीमा छ । अथवा यसो भनौ. क्रान्तिको दियोका वरिपरि आँधी र हुण्डरीले घेरिरहेको छ । ताकि यो निभोस् सदाको लागि र हाइसञ्चो होस् । नरहे बाँस नबजे वाँसुरी । यसको सानो झिल्को पनि बाँकी नरहोस् र सबै सुधारवादी बनुन्, सबै सत्ताको उपभोगमा लागुन् । सबै संशोधनवादी बनुन् अथवा देखावटी क्रान्तिकारी बनुन् जसले क्रान्तिका नाममा क्रान्तिलाई नै सिध्याउँछ । क्रान्तिकारी आवरण भिरेर क्रान्तिलाई नै असम्भव वा अतिरञ्जनाको वस्तु बनाउँछ । वा निम्नपुँजीवादीले झैं क्रान्तिलाई शीघ्रप्राप्य कुनै वस्तु झैं ठान्छ र तात्तातै खाई सिध्याउने एक प्लेट मःमः झैं सम्झन्छ । यस्ता सबैखाले प्रवृत्तिको मिसिने त्रिवेणी सत्ता नै हो यही पुरानो सत्ता । चाहे त्यो आधा–आधा होस् वा चौथाइ–चौथाइ । सामन्तवादी सत्ताको समूल अन्त्य नभई यो देश न त पूर्ण स्वाधीन हुन सक्छ न त पूर्ण जनतान्त्रिक । तर अहिले लोकतन्त्र र संसदवादको दलदलमा डुबेर केही हिंजोका माओवादीहरु सबथोक प्राप्त भएको बहाना गरिरहेका छन् । त्यही संसदवादी, सुधारवादी, अवसरवादी बाटो समातेर उनीहरु क्रान्ति पूरा भएको हौवा पनि पिटिरहेछन् । उनलाई संसदीय सत्ताको सुखभोग प्राप्त भएपछि क्रान्ति पूरा भएको भनिएको छ । हामी इच्छुकका अनुयायीहरु यीसंँग पनि लड्नु पर्ने अवस्था सिर्जना हुनेछ । आखिर वर्गमुक्ति र सत्यको बाटो रोजेपछि सबै पथविचलितहरुसंँग संघर्ष नगरी सुख कहाँ पाइन्छ र ? अन्ततः वर्गमुक्तिको युद्धमा जब दोहोरो भीडन्त सुरु हुन्छ, उनीहरु पनि प्रतिक्रियावादी कित्तामै सामेल हुन पुग्नेछन् । यही सत्य हो । त्यसैले इच्छुकका आदर्शलाई चारैतिरबाट घेराबन्दीमा पारिएको छ । प्रतिक्रियावादी, संशोधनवादी, सुधारवादी, साम्राज्यवादी, विस्तारवादी सबैको घेरावन्दीमा छ– इच्छुकको आदर्श । त्यसलाई बचाउनु छ ।

घनघोर कालोनीलो तुफानपूर्वको सन्नाटाका वीच वलिरहेको इच्छुक आदर्शको दियोलाई निभाउन चक्रव्युहको रचना भइरहेछ । आँधी र हुरी चलाइएको छ– त्यसविरुद्ध । त्यसैकारण हामी हिंजो जनयुद्धमा लडेकाहरुलाई संशोधनवादी, सुधारवादीहरुले हीनतावोध हुनेगरी अपमानित र तिरष्कृत गरिरहेका छन् । वहिष्करणमा पारेका छन् । यो इच्छुकको आदर्शमाथिको बुझिने, देखिने, जानिने आक्रमण हो । तर स्वघोषित एकदुई बुजु्रग “क्रान्तिकारी–वौद्धिकहरु” इच्छुक प्रतिष्ठान विरुद्ध लुकेर तीर हानिरहेका छन् । ज्यान छाडेर लागिरहेका छन् । उनीहरु कहिले कपोलकल्पित भ्रष्टाचारका कुरा गर्छन्, कहिले भ्रष्टीकरणका कुरा गर्छन्, कहिले अख्तियारमा गोप्य उजुरी हाल्छन् । वर्गदुश्मनको भूमिकामा उत्रेर, वर्गदुश्मनकै सत्ताका अवयवहरु प्रयोग गरेर, इच्छुकका अनुयायी विरुद्ध खनिनु आश्चर्य लाग्दो छ । वर्गशत्रुका काँधमा चढेर इच्छुकका विरुद्ध तीर चलाउनु आदर्शविरुद्धको प्रहार हो भन्ने सबैले बुझेका छन् ।

प्रतिवर्गका विरुद्ध एक शब्द पनि कहिल्यै नबोल्नेहरु सँधै इच्छुकका आदर्शमाथि किन प्रहार गर्छन् ? उनको उद्देश्य जानी नसक्नु छ । त्यसो त इच्छुक ज्युँदो छँदा पनि उनीहरुले यसै गरी घेरा हाले । भनिन्छ अहिले अख्तियारमा उजुरी हाल्नेले नै इच्छुकलाई पक्राउनमा महत्वपूर्ण क्रियाशीलता देखाएका थिए । यो मेरो भनाइ होइन, आम मानिसवीच चलिरहेको चर्चा हो । इच्छुककै वरिपरि घुम्ने तीनजना पत्रकारले नै इच्छुकलाई बोलाएर पक्राएको चर्चाको अन्त भएको छैन । अहिले फेरि तिनैले इच्छुकको भजनगान गरेर प्रायश्चित्त गर्न खोजिरहेका छन् । इच्छुकका नाममा पुस्तक संकलन, प्रकाशन गरेर व्यापार गरिरहेछन् । इच्छुकको नाम जप्दै इच्छुककै आदर्श विरुद्ध प्रहार केन्द्रित गरेका छन् । यसरी इच्छुक प्रतिष्ठानलाई कुण्ठाग्रस्त ‘क्रान्तिकारीे’ले पनि घेरावन्दी गरिरहेका छन् । तसर्थ इच्छुकका आदर्श र इच्छुक प्रतिष्ठान दुवै यरिखेर घेरावन्दीमा छन् भन्दा धेरै हुँदैन । अर्थात् माओवादी विचार घेरावन्दीमा छ । अभिमन्यूलाई झैं चक्रव्यूहमा पारेर चारैतिरबाट यसलाई सिध्याउने प्रयास जारी छ । तर हामीले त्यो आदर्शलाई जसरी पनि जोगाउनै पर्छ । हमी त्यही अभियानमा छौं । हामी आदर्शको मृत्यु, सपनाको मृत्यु हुन नदिन कृतसंकल्पित भएर फेरि पनि आँधी बेहरीका वीचमा विचारको दियो जोगाउन संघर्ष गरिरहेका छौं । कोही क्रान्तिकारी खोलमा प्रहार गर्छन्, कसैले खुला हमला गर्छन् । कोही मोर्चावन्दी गरेर आक्रमण गर्ने खेलमा छन् । यी सबैलाई हामीले चिनेका छौं । चाहे जुन खोलमा होस् । इच्छुकका आदर्श विरुद्ध उँभिनेहरु गलत नै हुन् । देश–जनताविरोधी शक्तिहरुलाई पराजित गरेर, वर्गमुक्ति अभियानविरुद्ध लागेकाहरुलाई परास्त गरेर मात्रै हामी इच्छुकका आदर्शलाई जीवित राख्न सक्छौं । इच्छुक प्रतिष्ठानको भर्खर सम्पन्न सभाले त्यही निर्देशन दिएको छ । क.चैतन्यको भनाइको सार पनि त्यही थियो । यो सत्यलाई सबै सदस्यहरुले पनि मनन गरिरहेका छन् । जेहोस् इच्छुक मरेर गएपनि उनका आदर्शको स्मारकका रुपमा प्रतिष्ठानलाई स्थापित गर्न र अघि बढाउन सबै लागि परौं ! अन्ततः इच्छुकका आदर्शको विजय अनिवार्य छ ।