एजेन्सी । भारत प्रशासित कास्मिर पुनः तनाव ग्रस्त बनेको छ । ६५ दिनअघि हिजबुल मुजाहिद्दिनका कमाण्डर बुरहान बानीको हत्यापछि सुरु भएको प्रदर्शनका क्रममा हालसम्म ८५ जना भन्दा बढी मारिसकेका छन् ।
सेनाको ब्यारेक नजिक पुँछ जिल्लामा प्रशासन कार्यालयको हातभित्र विद्रोही प्रवेश गरेपछि भएको गोलाबारीमा चार जनाको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालयको हातामा विद्रोही प्रवेश गरेपछि सेनाले गोली चलाएको थियो ।
मारिने विद्रोहीको पहिचान खुल्न सकेको छैन । विद्रोहीसँगको भिडन्तमा एक प्रहरीको समेत मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
यसैगरी कुपवाडा जिल्लाको नौगाम सेक्टरमा घुसपैठ गर्न खोज्ने तीन जनाको मृत्यु भएको छ । निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्ने चरमपन्थीको प्रयासलाई असफल पारिदिएको भारतीय सेनाले दाबी गरेको छ ।
हिज्बुला मुजाहिदिनका कमाण्डर बुरहान बानी मारिएपछि चर्केको हिंसाले उग्र रुप लिएपछि कश्मिर तनावग्रस्त बनेको छ । तनावकै कारण विगत दुई महिनादेखि कफ्र्यु जारी रहँदै आएको छ ।
कस्मिरमा पछिल्ला ६५ दिनमा अहिलेसम्म ८५ जना भन्दा बढीको मृत्यु भइसकेको छ भने १० हजार घाइते भएका छन् ।