एजेन्सी । ब्राजिलमा लामो समयको अन्यौलताबीच वामपन्थी वर्कर्स पार्टीको सत्ता ढलेको छ ।
सन् २०१४ मा दोस्रोपटक राष्ट्रपति निर्वाचित भएकी डिल्मा रुसेफ औपचारिक रूपमा पदबाट बर्खास्त भएकी छन् ।
संसद्को माथिल्लो सदन सिनेटमा भएको निर्वाचनमा रुसेफको विपक्षमा मतदान भएपछि उनी औपचारिक रूपमै पदबाट हटेकी हुन् ।
यो सँगै ब्राजिलमा १३ वर्षदेखि शासन गरेको वर्कर्स पार्टीको सत्ता अन्त्य भएको छ । सिनेटमा उनीमाथिको महाअभियोगबारेको लामो बहसपछिको मतदानमा रुसेफलाई हटाउने पक्षमा ६१ र हटाउन नहुने पक्षमा २० मत परेको थियो ।
ब्राजिलमा राष्ट्रपतिमाथिको महाअभियोगको प्रस्ताव पारित हुनका लागि आवश्यक दुई तिहाई मत परेपछि उनी बर्खास्तगीमा परेकी हुन् ।
रुसेफ बर्खास्तगीमा परेसँगै अन्तरिम राष्ट्रपति मिसेल टेमर राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले आगामी सन् २०१८ को अन्त्यसम्म ब्राजिलको राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्नेछन् ।
ब्राजिलको मध्यपन्थी पार्टी पीएमडीबीका नेता टेमर राष्ट्रपति रुसेफमाथिको महाअभियोगको औपचारिक प्रक्रियासँगै अन्तरिम राष्ट्रपति बनेका थिए । राष्ट्रपति बनेलगत्तै भएको पहिलो मन्त्रिपरिषद्को बैठकमा बोल्दै टेमरले ब्राजिलमा नयाँ युगको सुरुवात भएको टिप्पणी गरे ।
उनले ब्राजिलको अर्थतन्त्रलाई पुनर्जीवन दिनका लागि एकजुट भएर काम गर्न पनि मन्त्रीहरूलाई निर्देशन दिए ।
गत १२ मेमा कार्यवाहक राष्ट्रपति नियुक्त भएदेखि टेमरले राष्ट्रिय महत्वका कुनै पनि परिवर्तनकारी निर्णय गरेका थिएनन् । डिल्मा रुसेफलाई देशको अर्थतन्त्र तहसनहस पारेर छोडेको आरोप लागेको छ ।
ब्राजिलको राष्ट्रपति बने पनि उनले राजनीतिज्ञ तथा सचेत ब्राजिली जनतामाझ लोकप्रियता आर्जन गर्न भने सकेका छैनन् । ब्राजिलमा वामपन्थी सरकार ढलाइएपछि ल्याटिन अमेरिकी केही देशमा यसको आलोचना भएको छ ।
ब्राजिल र भेनेजुएलाले एक अर्काका राजदूतलाई फिर्ता बोलाएका छन् भने ब्राजिलले बोलिभिया र इक्वेडरका राजदूतलाई पनि फिर्ता बोलाएको छ ।
राष्ट्रपतिमाथिको महाअभियोगको प्रस्ताव पारित भएसँगै ब्राजिलमा थप राजनीतिक अन्योल थपिने देखिएको छ । नयाँ राष्ट्रपति टेमरका विरोधीले रुसेफमाथि षड्यन्त्र गरेको भन्दै राजधानी ब्रासिलियासहित केही सहरमा विरोध प्रदर्शन गरेका छन् ।
रुसेफमाथि सरकारी कोषलाई दुरुपयोग गरेको आरोप लागे पनि उनले यस आरोपको खण्डन गर्दै आएकी छन् । उनी सन् २०१४ मा दोस्रो पटक ब्राजिलको राष्ट्रपतिको रूपमा निर्वाचित भएकी थिइन् ।