एकाबिहानै आयो ७.१ रेक्टरको शक्तिशाली भूकम्प

एकाबिहानै आयो ७.१ रेक्टरको शक्तिशाली भूकम्प

new_zealandएजेन्सी । भूकम्पको शक्तिशाली धक्कापछि न्युजिल्यान्डको नर्थ आईल्यान्डको पूर्वी तटको रिहाइशी इलाकाबाट सर्वसाधारणलाई अन्यत्र सारिएको छ ।

यो इलाकादेखि करिब १६९ किलोमिटर टाढा गिस्वर्नलाई केन्द्रविन्दु बनाएर ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो ।

भूकम्पपछि तोलोगा बे इलाकाका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान भनिएको छ । भूकम्पपछि सुनामीको खतरा रहेको भन्दै स्थानीयबासीलाई अन्यत्र सारिएको हो ।

तर प्यासिफिक सुनामी चेतावनी केन्द्रले तत्काल सुनामीको खतरा नरहेको जनाएको छ । भूकम्पपछि समुद्रमा २१ सेन्टिमिटर सम्म पानीको छाल उठेको बताइएको छ ।

स्थानीय समयअनुसार ४ बजेर ३७ मिनेटमा १९.१ माइल गहिराइमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पबाट भएको कुनै क्षतिको विवरण भने आएको छैन ।

सन् २०११ मा साउथ आइल्यान्डको क्राइस्टचर्चमा ६.३ रेक्टरस्केलको भूकम्प जाँदा कम्तिमा १८५ जनाको मृत्यु भएको थियो । न्युजिल्यान्डमा हरेक वर्ष करिब १५ हजार भूकम्प जाने भएपनि करिब १५० वटा भूकम्पमात्रै मानिसले थाहा पाउने गर्दछन् ।