दीपकुमारलाई भारत र लिलामणिलार्इ चीनको राजदूतमा सिफारिस

lilamani-deepkumar

काठमाडौं । नेकपा माओवादी केन्द्र गठबन्धनको एमाले अध्यक्ष केपी ओली नेतृत्वमा बनेको अघिल्लो सरकारले फिर्ता बोलाएका दीपकुमार उपाध्यायलाई पुनः भारतको राजदूत नियुक्त गर्न सिफारिस गरिएको छ ।

माके अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले उपाध्यायलाई पुनः भारतका लागि नेपाली राजदूत सिफारिस गरेको हो । उपाध्यायले यसअघि राजदूत भइ भारतमा रहँदा नेपाल सरकार ढाल्न भूमिका खेलेको भन्दै ओली सरकारले राजदूतबाट फिर्ता बोलाएको थियो । ओली सरकारले वैशाखको अन्तिम साता उपाध्यायलाई फिर्ता बोलाएको थियो ।

मन्त्रिपरिषद्को बिहिबार अपरान्ह सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री दाहालको आसन्न भ्रमणलाई लक्षित गरेर भारतको राजदूतमा नेपाली काँग्रेसका नेता उपाध्यायलाई सिफारिस गरेको हो ।

यस्तै, सरकारले उत्तरी छिमेकी मलुक चीनको राजदूतमा पूर्व मुख्यसचिव लिलामणि पौडेललाई सिफारिस गरेको छ । गत वर्ष मुख्य सचिवबाट अवकाश पाएका पौडेल बाग्मती सफाइ अभियानमा पनि उत्तिकै सक्रिय थिए ।

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईकै अभियन्ता भनिएका पौडेललाई माकेको तर्फबाट प्रधानमन्त्री दाहालले नै चीनको राजदूतमा सिफारिस गरेका हुन् । पौडेलसँग ल्हासाको महावाणिज्यदूतका रुपमा काम गरेको अनुभव छ । मन्त्रिपरिषद्को सिफारिसलाई संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूतको नियुक्ति गर्नेछिन् ।

अघिल्लो सरकारले चीनको राजदूतमा एमाले नेता महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको थियो। तर नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारले विभिन्न १४ मुलुकमा राजदूतका लागि गरेको सिफारिस फिर्ता लिएको थियो।