राजनैतिक नेतृत्वको गद्दारीप्रति जनता आक्रोशित छन्

राजनैतिक नेतृत्वको गद्दारीप्रति जनता आक्रोशित छन्

10649957_829524713733381_4161346317603463137_n

नेकपा (क्रान्तिकारी माओवादी) अवधको पछिल्लो स्थितिबारे बताइदिनुस् न ।
अवधमा भरखरै मध्यपश्चिम राज्यस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय समितिले लिएका नीतिहरु तथा कार्यक्रमलाई एक रुपतासाथ कार्यान्वयन गर्न र कार्यकर्ताको नेतृत्वसँग साक्षात्कार गर्ने प्रश्नमा यो प्रशिक्षण एकदमै फलदायी बनेको छ । त्यतिमात्र होइन, प्रतिक्रियावादी तथा संशोधनवादीले सिर्जना गरेका भ्रमलाई चिर्न र क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन यस प्रकारका प्रशिक्षणले महत्वपूर्ण भूमिका खेल्न सक्दछ भन्ने कुरा राम्ररी कार्यकर्ताले अनुभूति गरेका छन् । साथै संगठनात्मक हिसाबले पनि यो प्रशिक्षण महत्वपूर्ण रहेको छ । यस राज्यमा पार्टी समितिहरुका बैठक जबस–मोर्चाहरुका भेला, स्थानीय पार्टीतहसम्मका पुर्नगठनका काम चलिरहेका छन् । विशेष गरेर वादलहरुको वहिर्मनपछि पार्टीमा वैचारिक राजनैतिक तथा संगठनात्मक हिसाबले पार्टीलाई पुनर्गठन र सृदृढीकरण गर्ने अभियानमा अवधका तीनवटै जिल्लाका कामहरु सक्रियतापूर्वक अगाडि बढेका छन् ।

क्रान्ति वा आन्दोलनमा अवध राज्यले खेलेको भूमिकाबारे संक्षिप्तमा प्रष्ट्याइदिनुस् न ।
अवध राज्य आर्थिक, राजनैतिक तथा आन्दोलनका हिसाबले आफैमा महत्वपूर्ण ठाउँ हो । हरेक आन्दोलनमा यहाँका जनताले खेलेको भूमिका राष्ट्रिय राजनीतिमा उल्लेखनीय छ । विशेष गरेर हाम्रो पार्टीको तर्फबाट निर्धारित कार्यक्रमहरु सफल हुँदै आएका छन् । त्यसका अलवा राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने आन्दोलनहरु यस क्षेत्रमा हुँदै आएका छन् । विगतमा भएका संघर्षका इतिहासले त्यो कुरालाई राम्ररी प्रमाणित गर्दै आएको छ । यतिवेला विशेष गरेर जनजीविका र राष्ट्रिय स्वाधीनताका मुद्दालाई मूर्तीकरण गरेर आन्दोलन उठाउन जरुरी छ । त्यो विषयमा हाम्रो पार्टीले प्रभावकारी र नेतृत्वदायी भूमिका खेल्नुपर्ने निष्कर्षका साथ हामीले कार्यक्रम बनाउदै छौं । महंगी, कालोबजारी, तस्करी र अनियमितता जस्ता विषय र मुख्यतः वैदेशिक हस्तक्षेपका विरुद्धमा राष्ट्रिय स्वाधीनताका पक्षमा आन्दोलन उठाउने निर्णय पार्टीले गरेकोे छ र त्यसलाई कार्यन्वयन गर्ने क्रममा हामी छौं ।

भारतले एकतर्फीरुपमा बाँधेका बाँधका कारण यस भेगका बासिन्दाहरु यसपालीको बर्षायाममा नराम्ररी प्रभावित बने । पूर्वी तराईमा त जनताले बाँधै भत्काइदिएर भारतीय हस्तक्षेपको मुखतोड जवाफ दिए । यहाँका जनतामाथि भारतीय ज्यादती र त्यसविरुद्धको आक्रोस कस्तो पाउनु भएको छ ?

भारतले नेपाली भू–भागलाई डुवान हुनेगरि निर्माण भएका खुद्रालोटन महलीसागार लगायतका बाँध निर्माणको विरोधमा स्थानीय जनताले विरोध गर्दै आएका छन् र त्यसमा हाम्रो पार्टीले भारतीय हस्तक्षेपको विरोध गर्दै आएको कुरा प्रष्ट छ । पछिल्लो समयमा जसरी सप्तरीका जनताले भारतीय हरुतक्षेपका विरुद्ध बहादुरीपूर्वक संघर्ष गरे त्यसको हामीले स्वागत र ऐक्यवद्धता प्रकट गर्दै आएका छौं र संघर्षलाई पुरै देशव्यापी बनाउन पहल गर्नुपर्ने कुराको निष्कर्षमा छौं । विशेष गरेर अवधका जनताले जसरी हिजो ब्रिटिश साम्राज्यवादका विरुद्ध संघर्ष गरेर आफ्नो गौरव र पौरख देखाए, त्यो बाटो नै हम्रो मूल आर्दश हो । तसर्थ, अहिले पनि वैदेशिक हस्तक्षेपका विरुद्ध र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्नुको विकल्प छैन । यहाँका शासकहरु जसरी रोवटको रुपमा चल्दै आए, त्यो नै नेपाली जनता र नेपाल राष्ट्रप्रतिको गंभीर चुनौती हो । तसर्थ, दलाल तथा नोकरशाही पुँजीवादी र सामन्तवादलाई समूलरुपमा अन्त्य गर्दै वैदेशिक हस्तक्षेपबाट देशलाई स्वाधीन बनाउन सकिने छ, त्यसले मात्र साँचो अर्थमा जनता राष्ट्रको सम्बृद्धि र विकास सम्भव हुनेछ ।

राष्ट्रियता र जनतन्त्रको लडाईमा यस राज्यमा बस्ने समुदायको सहभागिता र योगदान कस्तो रहँदै आएको छ ? संक्षिप्तमा बताइदिनुस् न 

राष्ट्रियता, जनतन्त्र र जनजीविकाको प्रश्नमा यस क्षेत्रका जनताले खेल्दै आएको भूमिका अत्यन्त प्रशंसनीय रहँदै आएको छ र जनता अहिले पनि ती मुद्दामा आन्दोलन गर्न तयार छन् । विडम्बना, जनताको आन्दोलनलाई भजाएर आफ्ना निहीत स्वार्थपूर्ति गर्ने राजनैतिक नेतृत्वको गद्दारीप्रति जनता आक्रोशित छन् र राजनैतिक पार्टीलाई सामान्यतः एउटै दृष्टिकोणबाट हेर्ने र पार्टीप्रति शंका र अविश्वास पनि जनतामा छ, त्यसलाई हामीले गंभीर रुपमा लिनु पर्दछ । र, जनताको विश्वास प्राप्त गर्ने परीक्षामा हामीे व्यवहारबाट उत्तीर्ण हुनुपर्दछ ।

 गौतम बुद्धको जन्मस्थल पनि यसै राज्यमा पर्ने भएकोले राष्ट्रिय मात्रै अन्तर्राष्ट्रिय चासोको पनि केन्द्र बन्ने गरेको छ, यो राज्य । छिमेकीहरुको चासो र उपस्थिति कस्तो पाउनु भएको छ ?
अवध राज्य ऐतिहासिक र पुरातात्विक हिसाबले पनि आफैमा परिचित रहेको र विशेष गरेर गौतम बुद्धको जन्मभूमि समेत रहेकोले यसको चर्चा नेपाल र नेपालीले मात्र होईन, अन्तर्राष्ट्रिय रुपमा पनि हँुदै आएको कुरा प्रष्ट छ । विशेष गरेर गौतम बुद्धको जन्मभूूमि लुम्बिनीलाई समेत ओझेलमा पार्ने उद्देश्यसहित भारतीय शासकहरुले गर्दै आएका गलत प्रचार प्रसार तथा सामाग्री प्रकाशनले नेपालको स्वाभिमानमा चोट पुग्दै आएको छ । यो नेपालको स्वाभिमान र स्वाधीनतासँग जोडिएकै विषय बन्न पुगेको छ । जहाँसम्म अन्तर्राष्ट्रिय चासोको विषयमा छ, त्यो लुकेको विषय होइन ।

राष्ट्रिय राजनीतिमा चाहिं चीन र भारतको स्वार्थ र उपस्थिति कस्तो पाउनु भएको छ ? वैदेशिक शक्ति केन्द प्रभावमुक्त स्वतन्त्र राष्ट्रिय हैसियतको राजनीतिको सम्भावना कस्तो देख्नुहुन्छ, नेपालमा ?
नेपालको भूराजनीतिलाई आ–आफ्नो स्वार्थमा प्रयोग गर्न साम्राज्यवादी तथा विस्तारवादीहरुले प्रयत्न गर्दै आएका तथ्यहरु सतहमा आएकै छन् । जहाँसम्म भारत र चीनको कुरा छ, त्यो कुरा त्यति लुकेको विषय होइन । विशेष गरेर भारतीय शासकहरुले नेपालको समग्र अर्थ–राजनीतिमा आफ्नो एकाधिकार कायम गर्न र देशलाई पुरै नव–औपनिवेशिककरण गर्ने प्रयत्न गर्दै आएको छ, त्यो प्रश्नमा चीनको उपस्थितिले एकहदसम्म उसका उद्देश्यमा वाधा पुगेको कुरा छर्लङ्गै छ । र, त्यो एक हदसम्म पनि सही हो । तर, चीनको चासो भारतले नेपालप्रति गरेको असमान व्यवहारसँग मात्र सीमित छैन र उसका पनि आफ्ना स्वार्थ र हित जोडिएका छन् । यस प्रकारको स्थितिमा नेपालले अवलम्बन गर्ने नीति र भूमिकाको अत्यन्त ठूलो महत्व छ । तर नेपाली शासकहरुले त्यो महत्वलाई आत्मसात नगर्दा नै यो विषय थप जटिल र गंभीर बन्दै आएको छ । एउटा सार्वभौम मुलुकको हैसियतले गर्नुपर्ने निर्णयहरुप्रति त्यति गम्भीरता नदेखिएकोले पछिल्ला दिनहरुमा दुवै देशसँग समदुरीको सम्बन्ध कायम गर्न जनस्तरबाट जे जस्ता कुराहरु उठ्दै आएका छन्, ती विषयमा पनि सरकारको ध्यान पुगेको छैन ।

पार्टीहरुको दलालीकरण तीव्र बनेर गएको छ । नेकपा (क्रान्तिकारी माओवादी)को राष्ट्रिय राजनीतिमा ‘पोजिसन’ के हो ?
यो विषय आफैमा गम्भीर प्रकृतिको छ । नेपालको राजनीतिमा देखिएका जति पनि समस्याहरु छन्, त्यसमा एउटा महत्वपूर्ण पक्ष भनेको पार्टीहरुले देश र जनताका नाममा प्रतिवद्धता जाहेर गरे पनि उनीहरुको भूमिका जनता र देशप्रति भन्दा विदेशी शक्तिकेन्द्रसँग बढी उत्तरदायी बन्ने जुन प्रवृत्ति छ, त्यो हाम्रो विडम्बना हो । त्यसैको परिणाम आज देश संकटतर्फ धकेलिंदै गएको छ । नेपालका प्राकृतिक स्रोत साधनदेखि मानवीय स्रोत र श्रममा समेत साम्राज्यवाद, विस्तारवादको नियन्त्रण कायम हुँदै गएको छ । यसको मूल कारण यहाँका संसदवादी र संशोधनवादी पार्टीहरुको नांङ्गो प्रकारको दलाली र आत्मसमर्पणवादी नीति नै हो । जसले गर्दा नेपालीको स्वाभिमानमा आँच पुगेको छ । संसदवादी तथा संशोधनवादी पार्टीहरुले विदेशी शक्तिकेन्द्रको दलाली गर्न प्रतिस्पर्धा नै गर्दै आएर देश र जनतालाई ठूलो धोका दिए । त्यसको हिसाब किताव चुक्ता गर्न र देशमा नयाँ जनवादी क्रान्तिको कार्यभारलाई पुरा गर्दै समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्ने दृढविश्वासका साथ नेकपा (क्रान्तिकारी माओवादी)ले आफ्ना विचार दृष्टिकोण अगाडि सारेको कुुरा प्रष्ट छ ।
देशको संसदीय प्रणालीको अन्त्य र जनगणतन्त्रको स्थापनाले मात्र आजको अन्तरविरोधको समाधान हुन सक्दछ र त्यो हाम्रो मुख्य कार्यभार हो । जहाँसम्म तात्कालिन हिसाबले हामीले खेल्नुपर्ने भूमिका छ, त्यसमा पनि हामी गंभीर छौं । जनताका जनजीविका, जनतन्त्र र राष्ट्रिय स्वाधीनताका विषयलाई हामीले आफ्ना समस्याका एजेण्डा बनाउदै आएका छौं । त्यतिमात्र होइन, उत्पीडनमा परेका वर्ग समुदाय र लिङ्गका पक्षमा चल्ने आन्दोलनमा ऐक्यवद्धता जाहेर गर्दै आफ्नो नेतृत्वमा संर्घषलाई अगाडि बढाउन त्यत्तिकै ध्यान दिंदै आएका छौं । विद्यमान व्यवस्था र संसदीय पार्टीका विकल्पका रुपमा पार्टीलाई स्थापित गर्नु अहिलेको हाम्रो अभिभारा हो । जहाँसम्म अहिले पार्टीको पोजिशनको कुरा छ, त्यो आधारमा मात्र मूल्याङकन गर्ने होइन, अब हामीले के गर्ने भन्ने कुरा नै महत्वपूर्ण हो ।

मुलुकमा विद्यमान राष्ट्रियता, जनतन्त्र र जनजीविकासम्बन्धी समस्या समाधानका लागि क्रान्तिकारी माओवादीको रोडम्याप चाहिं के हो ?
यो विषयमा कतिपय कुरा अघि पनि चर्चा भएका छन्, खास गरेर राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दालाई मुख्य एजेण्डा बनाएर पार्टीको संघर्षमा होमिने निर्णय गरेको पृष्ठभूमिमा हाम्रो रोडम्याप स्वतः स्पष्ट छ । सरकार, संसद र संविधान र संसोधनवादको भण्डाफोर गर्दै क्रान्तिकारी विचारको रक्षा विकास र प्रयोग नै हाम्रो मूल कार्य हो ।

नेपालमा ठूल्ठूला जनविद्रोह, जनसंघर्षहरु भए, हजारौंको संख्यामा जनयोद्धाहरुले बलिदान पनि गरे, तर आजपर्यन्त नयाँ जनवादी क्रान्तिले सफलता पाउन नसक्नुको चुरो कारण के हो ?
नेपालको राजनीतिक इतिहासमा जनताको त्याग, वलिदान र संघर्ष गौरवपूर्ण रहदै आएको छ । तर, जनताको त्यो वलिदान त्याग र संघर्षले अहिलेसम्म पनि सार्थकता पाउन नसकिरहेको वस्तुगत र आत्मगत कारणको खोजी हुन जरुरी छ । त्यो विषयलाई पनि हामीले गंभीरतापूर्वक लिएका छौ । साँचो कुरा के हो भने जनताको त्याग, वलिदान र गौरवपूर्ण संघर्षलाई प्रतिकृयावाद, साम्राज्यवाद तथा विस्तारवादसँग आत्मसर्मपण गर्ने नेतृत्वको गद्दारीका कारणले नै जनताले धोका खाँदै आएको सन्दर्भमा जनतालाई क्रान्तिप्रति आश्वस्त पार्नुछ । क्रान्ति वा परिवर्तनमा फेरि पनि जनता सहभागिता हुन्छन् वा हुदैनन् भन्ने कुरा मनोगत विषय होइन । समाजमा रहेका उत्पीडन, दमन र अन्तरविरोध नै मुख्य कारण हुने हँुदा ती समस्या अहिले पनि अध्यावधी छन् । त्यसकारण अहिलेका अन्तरविरोधलाई हल गर्ने आधार नै जनताको संघर्षद्वारा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी अगाडि बढ्नु हो । वस्तुगत हिसावले त्यो आधार बन्दै गएको छ । आत्मगत परिस्थितिका लागि हामीले विशेष रुपमा ध्यान दिनु पर्दछ ।

जनवादी क्रान्ति सम्पन्न गर्ने नेकपा (क्रान्तिकारी माओवादी)सँग जनताले स्पष्ट खाका माग गरेका छन् नि ?
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले नयाँ जनवादी क्रान्तिको राजनैतिक, सांगाठनिक तथा संघर्षका कार्यदिशा स्पष्ट गर्दै आएको छ । त्यसका लागि मुख्यतः क्रान्तिकारी पार्टी संयुक्त मोर्चा र सेना यी तीन कुरा आधारभूत विषय हुन् । त्यसको तयारीमा नै हाम्रो ध्यान केन्द्रीत छ ।

पटक–पटक धोका खाएका जनतालाई क्रान्तिकारी माओवादीप्रति कसरी आशावादी बनाउन सकिएला ?
जनताले पटक पटक धोका खाँदै आएको कुरा सत्य हो । तर, त्यसबाट जनता निरास मात्र छन भन्ने कुरा सत्य होइन, जनता अहिले पनि क्रान्ति र परिवर्तनको पक्षमा छन् । क्रान्तिको निर्णायक शक्ति जनता नै भएकोले राजनीति र व्यवहारबाट त्यो कुरालाई पुष्टि गर्नुपर्दछ । जनताको नेतृत्व गर्ने प्रश्नमा पार्टी चुक्नु हँुदैन । नेपालमा अहिलेसम्मको आन्दोलनको इतिहासमा के हँुदै आएको छ भने आन्दोलन निर्णायक ठाँउमा पुग्दा जनता अगाडि नेतृत्व पछाडि पर्दै आएका धेरै घटनाहरु छन्, त्यसबाट हामीले गम्भीर पाठ सिक्नुपर्दछ ।