वैद्य र गजुरेलले गरे यस्तो दावी

वैद्य र गजुरेलले गरे यस्तो दावी

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का केन्द्रीय अध्यक्ष मोहन वैद्य‘किरण’ले क्रान्तिकारी विचारलाई ध्वस्त पार्ने दक्षिणपन्थी अवसरवादीको सपना चकनाचुर भएको बताएका छन् । चारैतिरबाट आक्रमण गरेर क्रान्तिकारी बिचारलाई ध्वस्त पार्न दक्षिणपन्थी अवसरवाद र नवसंशोधनवादीहरु लागेपनि असफल भएको वैद्यले दावी गरे । नेकपा क्रान्तिकारी माओवादी मध्यपश्चिम संयुक्त राज्य समितिले बुधबार बुटवलमा आयोजना गरेको राजनैतिक बैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गदैं दक्षिणपन्थी संशोधनवादी विरुद्धको लडाईमा क्रान्तिकारीहरुको जीत भएको उनले बताए ।

नयांँ जनवादी क्रान्ति सम्पन्न नगरी लोकतान्त्रिक गणतन्त्रमा जानु भनेको संसदीय व्यवस्थामा डुब्नु सरह भएको उल्लेख गर्दै माओवादी केन्द्रले त्यसैमा डुबुल्की मारेको आरोप लगाए । नयांँ जनवादी क्रान्ति सम्पन्न भईनसकेको उल्लेख गर्दैं उनले पार्टी त्यसको तयारीमा लागिरहेको बताए । पार्टीका वरिष्ठ नेता सी.पी.गजुरेलले सत्ता साझेदारीको कुरा गर्दै आएका विप्लव क्रान्तिबाट भागेको टिप्पणी गरे । लोकतान्त्रिक व्यवस्थाको भविष्य नरहेकोमा जोड दिंदैं गजुरेलले मधेशवादी दल र स्वयम् संसदवादी दल लोकतान्त्रिक व्यवस्थाका सिध्याउने खेलमा लागेको आरोप लगाए । राष्ट्रियता, जनतन्त्र, जनजीविका र क्रान्तिका लागि लड्ने पार्टी क्रान्तिकारी माओवादी मात्र रहेको दावी गरे ।

पार्टीका अवधराज्य समिति इन्चार्ज प्रेमनाथ सुवेदीको अध्यक्षता, तमुवान राज्य समिति इन्चार्ज श्रीनाथ अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा पूर्व मगरात राज्य समिति इन्चार्ज के.बी.गुरुङले पनि बोलेका थिए । कार्यक्रममा तमुवान, पूर्वी र पश्चिम मगरात र अवध राज्य समितिका करिब चारसय नेता कार्यकर्ताले उक्त प्रशिक्षण कार्यक्रममा भाग लिएका थिए ।