“उनीहरुमा तथ्यहरुबाट सत्य पत्ता लगाउने मनसाय हुँदैन, तर खाली वाक्यचातुर्यद्वारा तारिफ लुट्ने इच्छा मात्र हुन्छ । यी व्यक्ति त्यस्ता वस्तु जस्ता हुन्छन्, जो चम्किलो भए पनि सारगर्भित हुँदैन, फुट्ने प्रकृतिको भए पनि ठोस हुँदैन ।”–माओ
उपरोक्त माओको भनाईले सत्यको खोजी व्यक्तिको मनोगत इच्छामा होइन, समाजको वस्तुगत तथ्यमा निर्धारण हुने कुरा प्रष्ट छ । व्यक्तिले उपरी रुपमा गर्ने तर्क वा चमात्कारिक अभिव्यक्तिले सत्यको निरुपण गर्दैन, त्यसका लागि ऐतिहासिक तथ्यहरुले प्रमाणित गर्नु पर्दछ । नेपालको राजनीतिमा पनि त्यसप्रकारका चमात्कारिक कुरा गर्ने प्रवृत्ति र पात्रहरुको कमि छैन । समाजको वस्तुगत तथ्यलाई भन्दा आ–आफ्ना तर्क वा अभिव्यक्तिलाई सत्य ठान्ने प्रवृत्ति नेपाली राजनीतिमा निकै बलवान छ । जो चम्किलो भएर पनि सारगर्भित छैन, फुट्ने प्रकृतिको भए पनि ठोस छैन ।
यतिवेला नेपालको कम्युनिस्ट आन्दोलनमा नेकपा माओवादीले आफूलाई सबैभन्दा क्रान्तिकारी भएको दावी गर्दैै आएको छ । उसको त्यो दावीलाई अरुले इष्र्या गर्नुपर्ने पनि छैन र गर्नु हुँदैन पनि । तर, वास्तविकता उसको दावी र वस्तुगत सत्य एकदमै फरक देखिन्छ । यो वास्तविकतालाई उनीहरुले मनन गर्ने र सत्यको निरुपण गर्ने ऐतिहासिक तथ्यलाई आत्मासात गर्ने जगमा उनीहरुको दृष्टिकोण पुगोस् भन्ने नै हाम्रो अभिप्राय हो ।
नेपाल कम्युनिष्ट पार्टी माओवादीका प्रवक्ता क. प्रकाण्डले पार्टीको नारायणी व्यूरोको मुखपत्र ‘हस्तक्षेप’ अंक १ मा लेखेका छन् “नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनले एउटा दुश्मनको अन्त्य गरेको छ । त्यो भनेको सामन्ती राज्यव्यवस्थाको अन्त्य हो ।” उनका विचार अनुसार नेपालमा सामन्तवादको अन्त्य भएको छ र पूँजीवादी व्यवस्था कायम भएको छ ।
यो भनाई एकातिर एमाले र माओवादी केन्द्र (माके)सँग पनि मेल खान्छ भने अर्कोतिर नेकपा माओवादीले नयाँ जनवादी क्रान्ति नै आफ्नो कार्यभार भएको चर्चा गर्दै एकीकृत क्रान्ति मार्फत् त्यो कुरालाई पुरा गर्ने कुरा पनि गर्दै आएको छ । यी परस्पर विरोधी दृष्टिकोण एउटै पार्टीको नीति हुनु आफैमा एउटा रोमाञ्चकारी चमत्कार नै मान्न सकिन्छ ।
माओले भनेझै जो चम्किलो भएपनि सारगर्भित छैन । प्रकाण्डले व्यक्त गरेका विचारलाई आधिकारीक लाइन हैन भन्ने कुनै आधार पनि छैन । किन कि उनी त्यो पार्टीका प्रवक्ता छन् । त्यसले के कुरा स्पष्ट गर्दछ भने नेकपा माओवादी पनि वैचारिक हिसावले एमाले र माओवादी केन्द्रकै सन्निकट पुगेको देखिन्छ । तर, उसले आफ्ना चमात्कारिक क्रियाकलापद्वारा मात्र त्यसलाई पृथक देखाउँदै आएको छ । यदि हैन भने आफ्ना त्यसप्रकारका गलत दृष्टिकोणलाई परिवर्तन गर्न अनिवार्य देखिन्छ ।
जहाँसम्म जनयुद्ध र जनआन्दोलनद्वारा राजतन्त्रको अन्त्य गरेर लोेकतान्त्रिक गणतन्त्रको स्थापना भएको कुरालाई सामन्तवादको अन्त्य ठान्ने चिन्तन छ, त्यो सही दृष्टिकोण होइन । निश्चय नै उपरी संरचनामा आएका कतिपय परिवर्तनलाई हामीले नजरअन्दाज गर्न मिल्दैन र ती उपलब्धिहरुलाई सकारात्मक हिसाबले हेर्नु पर्दछ । तर, त्यसको अर्थ समग्र आधार नै परिवर्तन भएको र सामन्तवाद समाप्त भएको जुन निष्कर्ष एमाले, माओवादी केन्द्र र प्रकाण्डले निकालेका छन्, त्यसले ऐतिहासिक तथ्यसँग मेल खाँदैन ।
राजतन्त्रको अन्त्य हुनु मात्रै आफैमा सामान्तवादको अन्त्य होइन । यो सोचाइले वस्तुगत तथ्यलाई भन्दा बढी मनोगत सोचाइलाई केन्द्रमा राखेको देखिन्छ । हिजो सामन्तवादको नेतृत्व राजतन्त्रले गरेको कुरा सत्य हो, तर राजतन्त्रको अन्त्यसँगै सामन्तवादको अन्त्य भएको सोचाइ सत्य होइन ।
उत्पादन प्रणालीमा अहिले पनि सामन्तवाद रहेको कुरा धेरै तथ्यहरुले प्रमाणित गर्दै आएका छन् । ती तथ्यलाई भन्दा आफ्ना मनोगत सोचाइलाई मात्र केन्द्रमा राख्ने दृष्टिकोणहरुले मात्र यसप्रकारका विचारहरु प्रकट गर्दै आएका छन् । प्रकाण्डका उल्लेखित विचारहरु पनि त्यही मनोगत चिन्तनहरुबाट ग्रसित भएको देखिन्छ । यदि राजतन्त्रको अन्त्यलाई नै सामन्तवादको अन्त्य ठान्ने हो भने चिनमा १९११मा नै राजतन्त्रको अन्त्य भएको थियो तर चिनियाँ इतिहासले प्रमाणित गरेको छ, राजतन्त्रको अन्त्य पछि पनि लामो संघर्षले मात्र सामन्तवादको अन्त्य गर्यो । त्यतिमात्र होइन राजतन्त्र कायम रहेर पनि सामन्तवादको अन्त्य भएका घटनाहरु पनि विश्वमा धेरै छन् ।
तर्सथ, कुनै पनि समाजको उत्पादन सम्बन्ध र समाज विकासका ऐतिहासिक तथ्यबाट अलग गरेर विषयलाई हेर्ने जुन चिन्तन छ, त्यो माक्र्सवादी दृष्टिकोण हुनै सक्दैन । नेपालको वर्तमान परिवेशमा समाजमा कयौं मौलिक विशेषताहरु छन् । त्यसको आधारमा समाज विकासका ऐतिहासिक पक्षको अध्ययन गर्न जरुरी छ । तर त्यसको अध्ययन गर्दा समाजमा रहेको वस्तुगत पक्षलाई उपेक्षा गर्न मिल्दैन । जस्तै हिजो दलाल तथा नोकरशाही पुजीवादको नेतृत्व सामन्तवादले गरेको थियो भने, आज सामन्तवाद र नोकरशाही पुँजीवादको नेतृत्व दलाल पुँजीवादले गर्न पुगेको छ ।
निश्चय नै सामन्तवाद हिजोको तुलनामा कमजोर छ । तर, त्यसको अन्त्य भयो भन्ने निष्कर्ष सही होइन । अहिले पनि सामन्तवादी उत्पादन–सम्बन्ध कायम रहेको पृष्ठभूमिमा त्यसको अन्त्य भयो भन्नु गम्भीर प्रकारको सैद्धान्तिक भड्काव हो । नेपाल कम्युनिस्ट पार्टी माओवादी, जसले अहिले पनि नयाँ जनवादी क्रान्तिको कार्यभार पुरा नभएको भन्ने कुरा पनि गर्नु र सामन्तवादको अन्त्य भएको कुरा गर्नु यो आफैमा वैचारिक अस्पष्टताको द्योतक हो ।
नयाँ जनवादी क्रान्तिका ऐतिहासिक कार्यभार भनेकै सामन्तवाद र साम्राज्यवादी शोषण र उत्पीडनको अन्त्य हो । यदि सामन्तवादको अन्त्य नै भएको निष्कर्ष हो भने स्वभाविक रुपमा क्रान्तिको रणनैतिक उद्देश्यमा पनि परिवर्तन आउँछ र गर्नुपर्दछ । तर, उनीहरुले समग्र क्रान्तिको रणनीति नयाँ जनवाद भन्दै आएको पृष्ठभूमिमा अहिले जुन विचार अगाडि सारेका छन्, त्यसले दुईवटा निष्कर्ष निकाल्दछ ः पहिलो, उनीहरु आफ्ना उद्देश्यप्रति स्पष्ट छैनन् र यसप्रकारका विचार प्रकट गर्दै आएका छन् ।
दोस्रो, उनीहरुले आफ्नो जे कुरालाई रणनीतिक उद्देश्य बताएका छन्, त्यसप्रति उनीहरु इमान्दार छैनन् । जहाँसम्म उनीहरुको क्रान्तिप्रतिको विश्वासको कुरा छ, त्यो उनीहरुको नियतमा होइन विचार राजनीतिमा खोज्नुपर्दछ । अहिले उनीहरुले व्यक्त गरेका विचारहरु आफैमा भ्रमपूर्ण छन् । चाहे त्यो अर्थ–राजनीतिक प्रश्नमा होस् वा सत्ताको चरित्रको प्रश्नमा । उनीहरुले सत्ता साझेदारीको जुन कुरा गर्दै आएका छन्, त्यो माक्र्सवादी चिन्तनमा आधारित देखिंदैन ।
माक्र्सवादीहरुले मान्दै आएको दृष्टिकोण राज्यसत्ता एउटा वर्गको अधिनायकत्व कायम गर्ने साधन हो, जसले विरोधी वर्गमाथि अधिनायकत्व कायम गर्दछ र त्यसमा साझेदारीको प्रश्न उठ्दैन । तर नेकपा माओवादीले बारम्बार सत्तासाझेदारीको जुन कुरा उठाउँदै आएको छ, त्यो माक्र्सवादी मान्यतासँग कतै मेल खाँदैन । त्यतिमात्र होइन, सत्ता साझेदारीको कुराले मूलभूतरुपमा विरोधी वर्गसँग सम्झौता गर्ने कुराको पक्षपोषण गर्दछ ।
यो विचार सबैभन्दा पहिले ख्रुश्चेवले सबै जनताको सत्ता भन्ने कुरालाई अगाडि सारेका थिए र अहिले त्यही बासी कुरालाई नेकपा माओवादीले वकालत गर्नु विडम्बनाको कुरा हो । पछिल्लो समयमा यूरोपका कतिपय देशहरुले समावेशीताको नाममा यो कुरालाई उठाउँदै आएका छन् । सारमा यी विचारहरुले सम्झौतापरस्त दृष्टिकोण अँगालेको कुरा जगजाहेर छ । यसप्रकारका गलत विचारहरुलाई नेकपा माओवादीले समयमा नै सच्याएन भने त्यसको परिणति सम्झौता परस्त राजनीतिमा नै टुंगिने निश्चित् छ ।
सत्ताको प्रश्नमा जसरी उनीहरुले सम्झौतापरस्त नीति अपनाउँदै आए । त्यसैको परिणाम अहिले सामन्तवादको अन्त्य भएको घोषणा पनि त्यो वर्गप्रतिको सम्झौतापरस्त नीतिकै रुपमा आएको देखिन्छ । यसप्रकारका गलत नीतिहरुलाई सच्चाउनका लागि नै हाम्रो प्रयत्न हुन्छ र हुनेछ । तर, हाम्रो प्रयत्न वा चाहनाले भन्दापनि उनीहरुले अँगाल्ने राजनीतिले निर्णयक महत्व राख्ने कुरा स्पष्ट छ ।