चितवन । बाँदरझुला बस्तीमा २०१८ सालदेखि नेपाली सीमा, वन र वन्यजन्तुको सुरक्षा गर्दै आएका बाँदरझुलाका बासिन्दाहरुले अहिले सरकारले विभिन्न बाहानामा शरणार्थी बनाउन खोजेको जनाएका छन् ।
अहिले बाँदरझुलामा ५ सय ५० घरधुरीमा ४ हजारको हाराहारीमा सुकुम्बासीहरु रहेका छन् । २०४७ सालबाट मकवानपुर, पर्सा,लमजुङ्ग,तनहु लगायत जिल्लाहरुबाट सुकुम्वासीहरु आई बसोवास गर्न थालेको बाँदरझुला बस्ती व्यवस्थापन समितिले जनाएको छ ।
समितिद्धारा गरिएको अपिलमा भनिएको छ, “बस्ती बसेको ५५ वर्ष भई सक्यो यस दौरानमा हामीलाई विभिन्न बाहानामा बेघर बनाउन खोजियो तर स्थाई बसोबास तिर कसैको ध्यान नजादाहामी सदैव त्रासमा बाचेका छौ, सरकारले हामीलाई कहिल्यै पनि यहि देशको नागरिकको रुपमा हेरेन ।”
यस क्षेत्रमा सरकारी स्तरबाट बनेका ३ वटा स्कुल, स्वास्थ्य चौकी, खानेपानी, बाटो, सडकहरुमा सरकारले करौडो लगानी गरेपनि अहिले अवैधानिक भनेर हटाउन खोज्नु न्यायोचित नहुने उनीहरु बताउँछन् ।
‘हामी तस्कर, जंगल विनासकारी, आतंकारी होइनौ, हामी निमुखा भुमिहीन सुकुम्बासी हौं, कतै जाने ठाँउ पनि छैन । मजदुरी गरेर, बाख्रापाठा पालेर नुन तेलको जोहो गरेका छौ ।’
यसै सन्दर्भमा नेकपा (क्रान्तिकारी माओवादी) चितवनले एक प्रेस विज्ञप्ति निकाली देशको भुमि वितरण प्रणाली वैज्ञानिक, व्यवस्थित र न्यायोचित बनाउन माग गरेको छ ।
क्रान्तिकारी माओवादीका चितवन जिल्ला सचिव सुरेश गौतमले विज्ञप्ती जारी गर्दै क्रान्तिकारी भुमिसुधार लागु गरेर किसान, भुमिहिन सुकुम्वासी जनतालाई भुमि वितरण गरिनु पर्ने बताएका छन् ।
विज्ञप्तीमा सरकारले चितवनको बाँदरझुला, माडेचौर विजयनगरमा रहेका सुकुम्वासीमाथी अन्याय गरेको जनाइएको छ । बादरझुलाका बासिन्दालाई हात्ती लगाएर लखेट्ने काम चितवन प्रसासनले गरेको भन्दै यस्तो कार्यको नेकपा (क्रान्तिकारी माओवादी ) घोर भत्र्सना गर्ने विज्ञप्तीमा उल्लेख छ ।
‘दशकौ सम्म भुमिहिन र सुकुम्वासीको हक हितको नारा लगाउदै हिडेका प्रचण्ड, अहिले उनकै सरकारबनेका बेला भुमिहिन सुकुम्वासीहरुमा खुसिको माहोल हुनु पर्नेमा तिनै सुकुम्बासिका घर भत्किएका छन , कोलाहल र भागाभागको स्थिती छ । यसको अन्य चाडो गर्नु पर्ने अन्यथा नेकपा ( क्रान्तिकारी माओवादी ) ले भुमिहिन सुकुम्वासीको हितमा जस्तो सुकै कदम चाल्न पनि पछि नहट्ने सचिव गौतमद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
चितवन प्रसासनले भने बाँदरझुलाबासीलाई निकुञ्जको जग्गा अतिक्रमण गरि बसेको आरोप लगाएको छ ।































