काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो भागमा परेको बाँकी पाँच मन्त्री छानेका छन् । उनले उर्जा मन्त्रीमा जनार्दन शर्मा, सूचना तथा सञ्चार मन्त्रीमा राम कार्की, कानुन मन्त्रीमा प्रभु साह, संघीय मामिला तथा स्थानीय विकास मन्त्रीमा हितराज पाण्डे र शिक्षा मन्त्रीमा डीआर पौडेलको नाम छानेका हुन् ।
दाहालले निश्चित गरेको मन्त्रीको नाम अनुमोदन गर्न मंगलबार हेडक्वाटर कार्यालयको बैठक बालुवाटरमा नै बसेकाे थियो । तर बैठकमा कार्यालय सदस्यहरुले न त समर्थन गर्न सके न त विरोध नै । कार्यालय सदस्यहरु मुकदर्शक मात्र बनेका थिए । कार्यालय सदस्यहरुले दाहालले सिफारिस गरेका मन्त्रीहरु स्वीकार नगरेपछि अन्तिम निर्णय गर्ने जिम्मा दाहाललाई नै दिएर बैठक टुगिएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटमा बसेको माओवादी केन्द्रको कार्यालयको बैठकले दाहाललाई नै अन्तिम निर्णय गर्ने जिम्मा दिने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले बताइन् ।
पार्टी प्रवक्ता पम्फा भुसालले सरकारमा माओवादीका तर्फबाट मन्त्री हुने थप पाँचजनाको नाम समावेशी, समानुपातिक एवम् क्षेत्रगत सन्तुलन मिलाएर चयन गर्न पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीलाई जिम्मेवारी दिइएको जानकारी दिइन् ।
माओवादीले पाएको आठ मन्त्रालयमा यसअघि उपप्रधानसहित अर्थमन्त्रीमा कृष्णबहादुर महरा, कृषि मन्त्रीका गौरिशंकर चौधरी, युवा तथा खेलकुद मन्त्रीमा दलजीत श्रीपाइलीले सपथ लिइसकेका छन् ।
































