राष्ट्रिय भेलापछि तपाईं पश्चिमी कमाण्डको बैठक सकेर आउनु भएको छ । पार्टीको पछिल्लो विभाजनको असर कस्तो पाउनु भयो ?
–हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी)को राष्ट्रिय भेला सफलतापूर्वक सम्पन्न भइसकेपछि केन्द्रीय समितिको बैठकबाट मेरो पश्चिम कमाण्ड हेर्ने जिम्मा प¥यो । भेरी–कर्णाली र थारुवान राज्यका बैठकहरू सम्पन्न भइसकेका छन् र बैठकले लिएका निर्णयहरू पनि सार्वजनिक भइसकेका छन् । पार्टी विभाजनको असर स्वभाविक रूपमा पर्ने भइगयो, केन्द्रीय तहका नेताहरू नै संसदवादी कित्तामा गएपछि । तर जिल्ला र राज्यतहमा हाम्रो पार्टीको राम्रै पकड रहेको पाइयो । अहिले उत्साहका साथ जिल्लाहरूमा पार्टी पुनर्गठन र भेला/प्रशिक्षणहरू चलिरहेका छन् ।
भटाभट सङ्घर्षका कार्यक्रमहरू सार्वजनिक गर्नु भएको छ । के अब सङ्घर्षमा होमिएको हो, क्रान्तिकारी माओवादी ?
भर्खरै सम्पन्न राष्ट्रिय भेलाको स्प्रिट र त्यससँगै पार्टी केन्द्रको नीति एवम् निर्णयले नेतृत्व र तल्ला कमिटीहरूमा उत्साहको वातावरण पैदा गरेको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग जोडिएका प्रश्नहरूमा सङ्घर्ष उठाउन पहलकदमी बढाउँदै लान्छौं । सङ्घर्षका घोषित कार्यक्रमहरूलाई प्रभावकारीता दिन्छौं । बर्षात्को मौसम भएकाले ठूल्ठूला सङ्घर्ष तत्काल उठ्न नसकेपनि आन्तरिक तयारी र प्रचार–प्रसारका हिसाबले प्रभावकारी बनाउँछौं । ठूला र उपलब्धिमूलक सङ्घर्षको आधार खडा गर्दै अगाडि बढिरहेका छौं ।
अपर (माथिल्लो) कर्णाली जलविद्युत परियोजना भारतीय कम्पनी जिएमआरलाई दिएपछि त्यस क्षेत्रका जनतामा त्यसको असर कस्तो परेको छ ?
माथिल्लो कर्णाली जलविद्युत परियोजना भारतीय कम्पनी जिएमआरलाई दिने सरकारी निर्णय राष्ट्रघाती भएको कुरालाई तथ्य र तर्कसंगत ढङ्गले सार्वजनिक गरिसकिएको छ । यसबारे हामी संयुक्त छँदै एकीकृत माओवादीकालदेखि नै एकल र संयुक्त प्रकारले विभिन्न सङ्घर्षका कार्यक्रमहरू उठाउँदै भारतीय कम्पनी जिएमआरसँग गरिएको राष्ट्रघाती सम्झौता पिडिएको खारेजीको आवाज बुलन्द गर्दै आएका छौं । पर्चा, पोष्टर, वालिङ, जनसभा, अन्तरक्रिया र जनपरिचालनका अझ विविध कार्यक्रमहरूले कर्णाली वरपरका जिल्लाहरूमा चेनताको व्यापक जनलहर सृजना भएको छ ।
अब यसले राष्ट्रिय सङ्घर्षकै रूप धारण गरिसकेको छ । तथाकथित विकासको आवरणमा भारतलाई बेच्ने राष्ट्रघाती गद्दारहरूजस्ता र शक्तिको दुरूपयोग गर्दै स्थानीयस्तरमा केही दलाल भिजिलान्तेहरू तयार पार्ने खेल पनि फाटफूट नदेखिएका होइनन् । त्यसलाई तह लगाउन जनताको संयुक्त सङ्घर्षले ती सबै भूमिगत भएका छन् । पछिल्लो पटक संसदको तर्फबाट अनुगमन गर्न गएको टोली पनि जनताको व्यापक विरोध र सङ्घर्षको प्रत्यक्ष गतिविधिबाट लुकेर आफ्नो कार्यक्रमको औपचारिकता प्रशासनको आडमा कोठामा खुम्चिन पुगेको तथ्यले राष्ट्रघातको विरुद्ध जनताको विद्रोहलाई संगठित गर्दै लगेको पुष्टि हुन्छ ।
४. जिएमआरको विकल्प के हुनसक्छ ? के त्यो सम्भव छ ?
जिएमआरको विकल्प नेपाल राष्ट्रको स्वामित्व र नेपाली जनताको पनि संयुक्त लगानीमा संसारकै सबैभन्दा सस्तो, सुन्दर र सुलभ बहुआयामिक माथिल्लो कर्णाली जनविद्युत परियोजना निर्माण गर्न सकिने जलस्रोत विज्ञ, योजनाविद, विभिन्न प्रवुद्ध व्यक्तिहरू र राष्ट्रिय राजनीतिका स्थापित राष्ट्रवादी क्रान्तिकारी नेता कार्यकर्ताले पेस गरेका डाटाहरूको अध्ययनबाट स्पष्ट हुन्छ ।
भर्खर केही दिन अघिको माथिल्लो कर्णाली राष्ट्रिय अभियानको क्षेत्रगत कार्यक्रम र भर्खर मात्र भएको काठमाडौं बागबजारको वृहत अन्तरक्रिया कार्यक्रमले पनि तथ्यसंगत डाटाहरू पेस गरेकोले पनि राम्रो विकल्प नेपाल आफैले तयार गर्न सक्ने विषयलाई प्रमाणित गरेको छ । जसको क्षमता ४,१८० मेगावाट जलविद्युत रहेको छ । यसबारे २०७३ वैशाख महिनामा निस्केको माथिल्लो कर्णाली राष्ट्रिय अभियानको अपीलमा सरल र तुलनात्मक अध्ययनको चार्टले स्पष्ट गरेको छ । यो विकल्पले विकास विरोधी भन्नेहरू कमिशनखोर र भ्रष्टाचारीहरूलाई तथ्यसंगत झापड दिएको छ ।
५. स्थानीयस्तरमा संयुक्त सङ्घर्षको सम्भावना कस्तो देख्नुभएको छ ?
प्रतिक्रियावादी संविधान, भ्रष्टचार, महङ्गी, अनियमितता, विकास निर्माणका नाममा आएका कमिशन र त्यसमा भएको गुणस्तरहीनता जस्ता विषय र राष्ट्रघात जनघात एवम् सरकारी क्षेत्रका अनुत्तरदायी गतिविधि लगायका जनवर्गका समस्यालाई लिएर एकल र संयुक्त सङ्घर्ष उठाउन सकिन्छ । यसको लागि इमान्दारीपूर्वक सम्बन्धित पार्टीहरू निष्ठाका साथ लाग्न जरुरी छ । समस्या यहींनेर हो । हामी भने यसको लागि इमान्दारी र निष्ठाका साथ सक्रिय भइ पहलकदमी लिन आवश्यक ठानेका छौं । यसबारे अरूसँग आवश्यक छलफल चलाउँछौं ।
६. पश्चिमको वर्ग सङ्घर्षको अहिलेको स्थिति कस्तो छ ? माओवादी आन्दोलनको दुई दशकमा यहाँको जनताको जीवनशैलीमा के कस्तो बदलाव आएको पाउनुभयो ?
टेबलसङ्घर्षको क्रममा पार्टी खुला भई आएपछि तत्कालीन मूल नेतृत्व प्रचण्ड क्रमशः सम्झौता, वर्गसमन्वय, आत्मसमर्पण र पार्टी नीति र निर्णय एकातिर नेतृत्वको मनोमानी ढङ्गले अर्को र ठिक उल्टो व्यवहारमा लागेपछि पार्टी दुईलाइन सङ्घर्षबाट चलिरह्यो । क्रान्तिकारीहरूमा चौतर्फी घेराबन्दी बढ्दै जान थालेपछि दक्षिणपन्थी नवसंशोधनवादीहरूले पकड बढाउँदै लगे ।
क्रान्तिकारी कम्युनिस्ट धार कमजोर पर्दै गएको वर्तमान अवस्थामा वैचारिक, राजनीतिक र नयाँ जनवादी क्रान्तिका लागि सच्चा कम्युनिस्ट क्रान्तिकारीहरूले विचारधारात्मक सङ्घर्षलाई दृढतापूवर्क अगाडि बढाउने सङ्घर्षका विविध अभियानात्मक कार्यक्रमहरूलाई प्रभावकारी बनाउने, गाउँ र मोफसलका बजारहरूमा जाली फटाहा र व्यभिचारीका विरुद्धका सङ्घर्षहरूले वर्गसङ्घर्षको रूपमा अभिव्यक्त हुन थालेका छन् । विभिन्न किसिमले जनवर्गका समस्याहरू राज्य र त्यसका मतियारसँग अन्तरविरोधको रूपमा टकराउँदैछन् । त्यसले आँधी आउनु अगाडि दृष्टि क्षितिजमा भएको अवस्थालाई सङ्केत गरेको छ । जसले वर्गसङ्घर्षको वातावरण बनिरहेको जनाउँछ । केवल आत्मगत रूपले यसको तयारीमा घनिभूत ढङ्गले लाग्न जरुरी छ ।
वर्गसङ्घर्षको उच्चतम अभिव्यक्तिको रूपमा रहेको महान् जनयुद्धले पैदा गरेको चेतना र उपलब्धिहरू संस्थागत हुन नसकेपछि प्रतिक्रान्ति हावी भएको क्रान्तिको नाममा लुकेका अवसरवादी दलाल र नाइकेहरूको एउटा समूह नवधनाढ्य वर्गमा बदलिएको छ । इमान्दार क्रान्तिकारी नेता कार्यकर्ता जनता झन्झन् आर्थिक सङ्कट र अप्ठेरोमा परेको अवस्था हो । प्रतिक्रियावादी वर्ग र अवसरवादसँग साँठगाँठ गरी व्यक्तिगत स्वार्थमा तल्लीन मुट्ठीभर केही व्यक्तिहरू बाहेक अरूहरूको जीवनस्तर झन्झन् खस्किंदो, पट्यारलाग्दो निम्न वर्ग र अर्धसर्वहाराको संख्या बढ्दो छ । बहुसंख्यक जनताको जीवनस्तर कहालीलाग्दो गरिबीको दिशातिर धकेलिएको छ । दलाल, नोकरशाही, पुँजीपति र सामन्त वर्ग एवम् नवोदित दलालहरू फस्टाउँदै गएका छन् ।
७. राष्ट्रिय भेलापछि जनता र कार्यकर्तामा कत्तिको उत्साह पैदा भएको पाउनुभयो ?
प्रतिक्रियावादी र अवसरवादीहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय, भित्री र बाहिरी घेराबन्दीको बीचबाट राष्ट्रिय भेलाले विचारधारात्मक सङ्घर्षमा आन्तरिक रूपमा देखा परेका थुप्रै भ्रमहरू चिर्न सफल रहेको, क्रान्तिका लागि वस्तुगत अवस्था अनुकूल बन्दै गएतापनि आत्मगत अवस्थामा आएको ह्रासलाई केही मल्हमपट्टी लगाउन सफल भएको छ । त्यसले कार्यकर्ता र क्रान्तिकारी समुदायमा केही उत्साहित गरेको छ । मालेमावादी सिद्धान्त र त्यसलाई नेपाली विशिष्टतामा लागू गर्न एकमात्र सच्चा कम्युनिस्ट क्रान्तिकारी धारका रूपमा नेकपा (क्रामा) दह्रोसँग उभिन सफल रहेको छ ।
एकताको नाममा क्रान्तिकारी धारलाई समाप्त पार्ने सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिक्रियावादीहरू षड्यन्त्रहरु जसको मतियारको रुपमा नवसंशोधनवादीहरु अगाडि आएका थिए, असफल भएका छन् । दीर्घकालीन दृष्टिले यसप्रकारको विजयको विशेष ऐतिहासिक महत्व छ । देशव्यापी रूपमा यसको प्रभाव रहनुले साम्राज्यवाद र संसदवादका गोटी बन्न पुगेका नवसंशोधनवादका पुच्छर बादल कम्पनी एकताको नाममा अवसरवादको रत्यौलीको रूपमा उदाङ्गिएको छ । जसको भविष्य एमालेमा विलय वा विसर्जनमा टुङ्गिने छ ।
देशव्यापी रूपमा सङ्गठनको सञ्जाल र भारत र प्रवासमा समेत सबैतिर पार्टीको उपस्थिति रहेकोले त्यसको विस्तारको सम्भावना देखिएको छ । कार्यदिशाको प्रश्नमा रहेको अस्पष्टतालाई थप स्पष्ट पारेको छ । अब हामी कसरी अगाडि बढ्छौं भन्ने बारेमा द्विविधाको अन्त्य गरेकोले कार्यकर्ता र क्रान्तिकारी जनसमुदायमा थप उत्साह पैदा गरेको छ । राष्ट्रिय भेला सफलतापूर्वक सम्पन्न हुनु मुख्य कुरा कार्यकर्तालाई उत्साहित गर्नु पनि हो ।
८. नेपालको कम्युनिस्ट आन्दोलनका चुनौती र सम्भावनाबारे केही बताइदिनुहोस् न ।
कम्युनिस्ट आन्दोलन एकातिर साम्राज्यवाद हाम्रो सन्दर्भमा मुख्यतः भारतीय विस्तारवादले खडा गरेका हरेक क्षेत्रका चुनौती एवम् प्रतिक्रियावादकै अभिन्न अङ्ग बन्न पुगेको दक्षिणपंथी संशोधनवादी हावाहुरिका विरुद्धको सङ्घर्ष नै प्रमुख चुनौती हो । अर्को प्रतिक्रियावाद र अवसरवादी प्रभावबाट मुक्त स्वतन्त्र क्रान्तिकारी धारको निर्माण र विकास गर्ने चुनौती हो ।
यसका विरुद्ध विविध प्रकारका वर्ग सङ्घर्ष र दुइलाइन सङ्घर्ष चल्दै आएको छ । यही पृष्ठभूमिलाई क्रान्तिकारी कार्यदिशाको आन्दोलनमा वर्गसङ्घर्षका विविध रूपहरूको प्रयोग गर्दै नेपालको विशिष्ट र विशेषताको ख्याल गरी सृजनात्मक ढङ्गले वर्गसङ्घर्षको प्रयोगले सशस्त्र जनविद्रोहको कार्यदिशालाई थप समृद्ध गर्न सकिन्छ । जसको प्रयोगबाट अहिले देखापरेको निराशा र अविस्वासलाई चिर्दै आशा र विस्वासमा बदली नयाँ जनवादी क्रान्तिको खुट्किलो पार गर्न सकिने सम्भावनालाई सन्निकट बनाउन सकिन्छ ।
९. राष्ट्रिय भेलाले पारित गरेको कार्यदिशा, कार्यनीति र कार्ययोजनाको बारेमा प्रकाश पारिदिनुहोस् न ।
यो प्रश्नले व्यापक विषय र महत्वलाई ओगटेको छ । छोटो अन्तर्वार्तामार्फत् सुक्ष्म प्रकाश पार्न सम्भव नहोला तथापि छोटकरीमा भन्नुपर्दा – कार्यदिशा भन्नाले राजनीतिक र सामरिक कार्यदिशालाई बुझाउँछ । नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने राजनीतिक कार्यदिशा हो । जसको उद्देश्य समाजवाद र साम्यवाद प्राप्तिका लागि आधार खडा गर्नु हो । यसलाई प्राप्त गर्ने सामरिक रणनीति वा कार्यदिशा नेपाली विशेषतामा आधारित सशस्त्र जनविद्रोह नै हो । यी दुवैलाई समग्र कार्यदिशाको अर्थमा बुझ्नुपर्दछ ।
कार्यदिशालाई पछ्याउन वा त्यसको आवश्यक तयारीका लागि अपनाइने ससाना नीतिलाई कार्यनीतिको रूपमा अथ्र्याउनु ठिक हुन्छ । प्रतिक्रियावादी वर्ग र सत्ताले अपनाउने नीति र कार्यक्रमको ख्याल गरी त्यसका विरुद्ध क्रान्तिकारी कार्यदिशाको सेवामा क्रान्तिकारी वर्ग र त्यसको सङ्गठनले अपनाउने नीति कार्यनीति हो । यसले तत्कालीन हितभन्दा दीर्घकालीन हितसँग यसलाई कसरी जोड्न सकिन्छ भन्ने आधारमा सोच्ने र प्रयोग गर्ने नै कार्यनीतिको मूल सार हो ।
यही आधारमा प्रतिक्रियावादी संविधान र व्यवस्थाको भण्डाफोर र विरोध जनवर्गका तत्कालीन समस्यालाई लिएर गरिने सङ्घर्ष, राष्ट्रिय हितका लागि गरिने सङ्घर्ष आदि विषयका सङ्घर्ष कार्ययोजना हो । यी र यस्तै विषयमा गरिने मूर्त सङ्घर्षका कार्यक्रम र सङ्गठनका मामिला विभिन्न स्तरका भेला, प्रशिक्षण गठन–पुनर्गठनका कामलाई निश्चित अवधिमा सम्पन्न गर्ने योजना नै कार्ययोजना हो । त्यस दिशामा हामी अगाडि बढिसकेका छौं ।
१०. क्रान्तिप्रति जनता र कार्यकर्तालाई आशावादी र विश्वास जगाउनलाई पार्टीले के के गर्न जरुरी छ ?
अहिले देश र जनतासामु राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विकराल समस्याहरू, त्यस्तै उत्पीडित वर्ग र समुदायका हकअधिकारहरू सुनिश्चित गर्नुपर्ने समस्या यथावत छन् । देश र जनतालाई कुन दिशामा डो¥याउने भन्ने विषयमा राज्यसँग कुनै स्पष्ट भिजन छैन । राज्यसँग यथास्थिति र तदर्थवादी एवम् संसदवादी सोच मात्र छ । त्यसले देशलाई कुनै निकास दिन सक्दैन ।
यसले अराजकता र बेथितिलाई नै निरन्तरता दिन्छ । यसका विरुद्ध जनवर्गका समस्याहरूलाई लिएर मूर्त ढङ्गले सङ्घर्ष उठाउने नीति हाम्रो पार्टीको राष्ट्रिय भेला र के.स.ले लिएको छ । त्यसलाई मन, वचन र कर्मले व्यवहारमा उतारेर मात्र क्रान्तिप्रति जनता र कार्यकर्ताहरूलाई आश्वस्त पार्न सकिन्छ । त्यस्तै, चुस्त र अनुशासित पार्टीको निर्माण र त्यही स्पिरिटका जबस मोर्चाहरुको निर्माण र परिचालन गर्न सकेमा हामीले जनविश्वास आर्जन गर्न सक्छौं ।
११. दुई विशाल छिमेकी मुलुको बीचमा अवस्थित नेपालमा ००७ साल यतादेखि नै स्वतन्त्र राजनीतिक धारको आन्दोलन उठान र बैठान हुन सकिरहेको छैन । अब गरिने जनवादी क्रान्तिमा यी दुवै देशको भूमिकालाई कसरी सन्तुलनमा राख्न सकिएला ?
भौगोलिक रूपबाट उत्तरतर्फ चीन र बाँकी सबै दिशाबाट भारतजस्ता दुई ठूला देशको बीचमा नेपाल रहेकोले यसको भूमिकाले विशेष महत्व राख्दछ । सबै मुलुकका आआफ्ना हितका विषयहरू हुन्छन् । यसमा नेपालले आफ्नो राष्ट्र र जनताको हितलाई सर्वोपरी राखी दुई देशसँग समानताका आधारमा पारस्परिक सम्बन्ध कायम गर्न सक्नुपर्दछ । नेपालले दुवै देशका जनताबीचको सम्बन्धलाई थप सुदृढ गर्न राज्यस्तरबाट चालिने कदमलाई विशेष महत्व दिनुपर्दछ ।
राष्ट्रियताको नाममा दरबारपरस्त बन्ने प्रजातन्त्र वा गणतन्त्रको नाममा भारतपरस्त बन्ने प्रवृत्तिले राजनीतिक आन्दोलनलाई प्रभावित बनाएकै हो । कतिपय अवस्थामा स्वतन्त्र ढङ्गबाट आन्दोलन उठेपनि निर्णयात्मक मोडमा पुग्दा नपुग्दै जनतालाई छोडेर शक्तिको आड लाग्ने प्रवृत्तिले क्रान्तिकारी धार भुत्ते बनेको हो । १० वर्षे महान् जनयुद्ध पनि त्यसैको शिकार बन्न पुग्यो । यी र यस्ता अनुभवबाट शिक्षा लिएर नयाँ जनवादी क्रान्तिको मालेमावादी सिद्धान्त प्रयोग गर्नुपर्दछ । अन्तरविरोधहरूको सही ठम्याई र त्यसको वैज्ञानिक परिचालन (राष्ट्रिय र भारत, चीनलगायत अन्य विश्व) मात्र सन्तुलनकारी भूमिकामा लैजान सकिन्छ । यसैभित्र क्रान्तिको भविष्य छ । यदि कहीं कतैबाट स्थिति भड्कियो भने दीर्घकालीन जनयुद्धको बाटो पनि पकडेर एकैसाथ राष्ट्रियता र जनतन्त्रको लडाईलाई पूर्णता दिनुपर्दछ ।
१२. क्रान्तिकारी माओवादीले लिएको कार्यदिशा अन्य माओवादी घटकको कार्यदिशा भन्दा सही हुनुका आधारहरूबारे संक्षिप्तमा प्रकाश पारिदिनुहोस् न ।
‘माओवादी’ भन्दैमा सबै माओवादी हुनसक्दैनन् । मुख्य कुरा यसको गहिराईमा पुगेर मात्र असली अर्थमा माओवादी को हो ? र किन हो ? भन्नेमा जानुपर्दछ । माओवादी केन्द्रको रूपमा प्रचण्ड नेतृत्वमा रहेको पार्टीको कुनै कार्यदिशा छैन । उसको जे भने पनि सरकार बनाउने र भत्काउने खेलमा रमाउने नै हो । यो संसदीय कार्यदिशाको पनि फोहोरी खेल हो । यही खेलका लागि बार्गेनिङ पावर बढाउन एकताको नाममा बादल लगायत गुटहरूलाई भित्र्याइयो । प्रतिक्रियावादी सरकारमा टाँसिइरहने मिलेराँवादको भद्दा चरित्र हुन्छ ।
जुन माकेले प्रदर्शन गरिरहेको छ । अर्को विप्लव माओवादीको कार्यदिशा एउटा कथा बादशाहको नयाँ लुगा जस्तै छ । किनकि यो मालेमावादी धरातलमा खडा छैन । भन्न त एकीकृत क्रान्तिको कार्यदिशा भनिएको छ । त्यो के हो ? त्यसको रणनीति, कार्यनीतिक श्रृङ्खलालाई कसरी व्याख्या गर्ने ? कुनै स्पष्ट धारणा छैन । कुनै तर्क र तथ्यले पुष्टि गर्न पर्दैन ? जहाँसम्म सङ्घर्षका कार्यक्रमहरू भएका छन् । ती वर्तमान समस्याका विरुद्धमा छन् तर त्यसलाई वास्तवमा कहाँ लगेर जोड्ने हो सायद विप्लव आफैलाई थाहा छैन । राज्य दमनको प्रतिरोध कसरी गर्ने ? विप्लवसँग त्यसको नीति छैन । सत्ता साझेदारीको कुरा पनि छ । यसलाई कस्तो कार्यदिशा भन्ने ? न दीर्घकालीन जनयुद्धको कार्यदिशा, न सशस्त्र विद्रोहको कार्यदिशा । अर्को मोडल चेको फोकोवादीसँग पनि मिल्दैन ।
हामीले अहिलेसम्मका क्रान्तिका अनुभवहरू र स्वयं नेपाली १० वर्षे महान् जनयुद्धको अनुभवहरूको जगमा टेकेर नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोहको कार्यदिशामा अगाडि बढ्ने भनेर ठोस गरिसकेका छौं । जसमा गाउँ र शहर, केन्द्र र स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय काममा सङ्गठन र सङ्घर्षका विविध रूपहरूको प्रयोग गर्ने मूर्त खाका बनाएका छौं । यसलाई राष्ट्रिय सम्मेलनसम्ममा अझै समृद्ध गरिने छ ।
१३. अन्त्यमा छुटेका विषयहरू केही छन् भने बताइदिनुहोस् ।
क्रान्तिकारी कम्युनिस्ट सिद्धान्त र व्यवहारमा त्यसको सही प्रयोगबारे अनेकन बहसहरू चलेका छन् । कतिपय प्रतिक्रान्तिको भड्कावले निराशा र पलायनको अवस्था पैदा भएको छ । त्यसको समग्र चिरफार गरी समग्र समीक्षासहित फेरि नयाँ ढङ्गबाट निर्णयात्मक क्रान्तिको तयारीसहित क्रमभङ्गमा जानुबाहेक अर्का विकल्प छैन । क्रान्तिमा हारेको सिपाहीले लडाईको निर्मम समीक्षा गर्नसके अर्को जितको लडाई असम्भव छैन । यस दिशामा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) फेरि प्रतिबद्धतासहित मालेमावादी सिद्धान्तलाई नेपाली धर्तीमा अथक प्रयत्नसाथ सिर्जनात्मक ढङ्गले लागु गर्न चाहन्छ । यसमा आफ्नो तर्फबाट सक्दो र भरपर्दो योगदान गर्न आम क्रान्तिकारी जनसमुदायमा अपिल गर्दछु ।