नवलपरासी । नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहाकार एवम् जनजाति नेता खड्कबहादुर थनेतको १३ औं दिनको पुण्यतिथीको अवसरमा शुक्रबार श्रद्धाञ्जलि सभा गरिएको छ ।
थनेतको कावासोती १४ स्थित डण्डामा रहेको घरमा आयोजना गरिएको श्रद्धाञ्जलि सभामा माओवादी केन्द्रका सचिवालय सदस्य डिलाराम आचार्यले थनेतको निधनबाट वामपन्थी आन्दोलनमा अपूर्णीय क्षति पुगेको बताए ।
आचार्यले नेकपा एमालेले मधेषको माग सम्बोद्धन गर्न नसकेकै कारण सरकार ढलेको बताउंदै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको दावी गरे । उनले एमालेले भद्र सहमति तोडेका कारण सरकार निर्माणका लागि काँग्रेस लगायतका दलहरुसंग सहकार्य गरिएको बताए । थनेतको साउन ९ गते हृदयघातका कारण नारायणी सामुदायिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
थनेत आदिवासी जनजाति महासंघ नवलपरासीका पूर्व अध्यक्ष समेत हुन् । त्यसैगरी उनी थारु संग्राहलय निर्माण समितिका अध्यक्ष, आदिवासी जनजाति महासंघका केन्द्रिय पार्षद समेत थिए ।
नेकपा माओवादी केन्द्र नवलपुरको आयोजनामा भएको श्रद्धाञ्जलि सभामा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य राजु हरिजन, नेकपा एमाले नवलपरासीका अध्यक्ष रोशनबहादुर गाहा, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य अशोक लम्साल, नेकपा माओवादीका चित्तलसिह राना, नयाँ शक्ति नेपाल नवलपुरका संयोजक मोति रिजाल लगायतले थनेतको जीवनी माथि चर्चा गरेका थिए ।
कार्यक्रम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् नवलपुर संयोजक किसान गैरेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।