दाहाल मन्त्रिपरिषदमा लुछाचुडीले सकस

प्रकाशित मिति : २०७३ श्रावण २०

prachanda_puspakamal dahalकाठमाडौं । बुधबार व्यवस्थापिका संसदबाट प्रधानमन्त्रीमा निर्वाचित पुष्पकमल दाहाल प्रचण्डले बिहीबार पद तथा गोपनियताको शपथ ग्रहणसँगै सानो आकारको मन्त्रिपरिषद गठनको तयारी गरेका छन् ।

राष्ट्रपति भवन शितल निवासमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह तीन बजे पद तथा गोपनियताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

उनले शपथ ग्रहण गरेलगत्तै आजै केही नेतालाई मन्त्री बनाउने तयारी गरिएको भएपनि दुवै सत्तारुढ कांग्रेस र माओवादी केन्द्रमा मन्त्री बन्नेहरुको लर्को लागेपछि मन्त्री चयनमा हम्मेहम्मे परेको छ ।

प्रचण्डले सुरुमा दुवै पार्टीबाट तीन तीन जनालाई मन्त्री बनाउने तयारी गरेका छन् । मन्त्री छान्न दुवै दल आन्तरिक छलफलमा व्यस्त छन् ।

नेपाली कांग्रेसमा सरकारमा पार्टीका तर्फबाट नेतृत्व गर्न नेताहरु विमलेन्द्र निधि, अर्जुननरसिंह केसी र गोपालमान श्रेष्ठ कम्मर कसेर लागेका छन् । यद्यपि यौ दौडमा निधी अगाडि रहेका छन् ।

नेता केसीले नेतृत्व नपाए गृह मन्त्रालय पाउनुपर्ने अडान राखेका छन् भने कांग्रेसको रामचन्द्र पौडेल समूहबाट शेखर कोइराला मन्त्री बन्न सक्ने सम्भावना रहेको छ ।

उनको समूहले पाउने चार मन्त्रालयमा कोषाध्यक्ष सीतादेवी यादवदेखि दिपक गिरीसम्मको नाम चर्चामा रहेको छ । देउवा समूहबाट समेत मन्त्री बन्नेको टुंगो अझै लागिसकेको छैन ।

उता, सरकारको नेतृत्वकर्ता माओवादीले पनि पहिलो चरणमा मन्त्री बन्नेको नामावली टुंगो लगाउन अन्तिम गृहकार्य गरिरहेको छ । पहिलो चरणमा नेता कृष्णबहादुर महरा उपप्रधानसहित अर्थ मन्त्रालय सम्हाल्ने गरी सरकारमा जाने सम्भावना रहेको बताइएको छ ।

यसैगरी माओवादी केन्द्रमा राम कार्की, जनार्दन शर्मा, रेखा शर्मा, प्रभु साह, रेखा शर्मा, हितराज पाण्डेसहितका नेताहरु मन्त्री बन्ने लाइनमा रहेका छन् ।