सशक्त संघर्षमा उत्रने सेक्युरिटीको चेतावनी

काठमाडौं । अखिल नेपाल क्रान्तिकारी सेक्युरिटी संघले गोर्खाली योद्धा सेक्युरिटी सर्भिस प्रालिका व्यवस्थापन पक्षलाई अझै पनि वार्ताद्वारा नै त्यहां रहेका सेक्युरिटिहरुका समस्याहरु समाधानका लागि इमान्दार रहन एक प्रेस विज्ञप्ति मार्फत् सचेत गराएको छ । अनेक्रासे संघका केन्द्रीय संयोजक थमानसिंह तामाङद्वारा प्रेसित एक विज्ञप्तिमा सो कुरा जनाइएको हो । गोर्खाली योद्धा सेक्युरिटी सर्भिस प्रालिमा रहेका मजदुरहरुको माग संबोधनका क्रममा वार्तामा बसिरहेका बेला उक्त प्रालीका व्यवस्थापकले प्रहरी बोलाएर गिरफ्तार गराएपछि तामाङले उक्त विज्ञप्ति जारी गरी सचेत गराएका हुन् ।


विज्ञप्तिमा भनिएको छ– ‘सेक्युरिटीहरुको पेशागत युनियन र राजनीतिक अधिकार रक्षाका लागि निरन्तर संघर्षरत हाम्रो संगठन अखिल नेपाल क्रान्तिकारी सेक्युरिटी संघ सेक्युरिटी क्षेत्रमा रहेका विविध समस्याहरु समाधानका लागि व्यवसायी तथा सेक्युरिटी संघबीच देखा परेका समस्या वार्ता र छलफलद्वारा सकारात्मक निकासका लागि प्रयासरत रहेको कुरा आम सेक्युरिटीहरुमा अवगत नै छ । यसै सिसिलामा धुम्बाराहीस्थित गोर्खाली योद्धा सेक्युरिटी सर्भिस प्रालिका सेक्युरिटी गार्डहरुले आफ्ना लागि राज्यले तोकेको तलबभत्ता तथा सेवासुविधाका साथै अन्य समस्याहरुको बारेमा व्यवस्थापकसंग छलफल गरी समस्याको समाधान गर्न भन्दै एक महिना अघिदेखि अनौपचारिक रुपमा गरेको पहलको व्यवस्थापनले बेवास्ता गरेको र उल्टै संगठनका जिम्मेवार साथीहरुलाई तथानाम गाली गलौज गरी वार्तामा बस्न अस्वीकार गरिरहेको अवस्थामा हामीले पुन वार्ताद्वारा नै हल खोज्नका लागि त्यस कम्पनी निर्देशकलाई भेट्न गएका बेला वार्ता चलिरहेकै सिसिलामा ज्यान मार्ने उद्देश्यले आएको भनी प्रहरीलाई खबर गरी वार्तामा रहेका अखिल नेपाल क्रान्तिकारी सेक्युरिटी संघका केन्द्रीय संयोजकसहित कार्यालयका ६ जना सदस्यहरु सबैलाई धरपकड गरी गिरफ्तार गराउने काम गर्यो ।’


उक्त अमर्यादित र अभद्र कार्यको बारेमा विज्ञप्तिमा भनिएको छ– ‘सेक्युरिटीहरुको जायज मागहरुलाई ओझेलमा पार्ने व्यवस्थापकको मनसाय र मजदुरविरोधी हर्कतहरु तथा गुण्डागर्दी शैलीको घोरभत्र्सना गर्दछौंं । साथै सेक्युरिटीका मागहरुलाई प्रक्रियागत ढंगले व्यवस्थापन पक्षले वार्ताद्वारा समाधान गर्न अग्रसर रहोस् ।’

विज्ञप्तिको अन्त्यमा आफ्ना सालिन, भद्र र मर्यादित व्यवहार र अपेक्षालाई कुल्चदै क्रुरतापूर्वक जाइलागेमा र आफ्ना ‘मागहरुको वेवास्ता गर्दै गएमा हामी देशभरका सेक्युरिटी मजदुरहरुलाई सशक्त संघर्षमा उत्रन आह्वान गर्न बाध्य हुने छौं’ भनिएको छ ।