कांग्रेस सभापतिलाई डेढ वर्षको जेल सजाय

कांग्रेस सभापतिलाई डेढ वर्षको जेल सजाय

nepali-congressसिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामालाई ठगीको मुद्दामा अदालतको फैसला कार्यन्वयन गर्न प्रहरीलाई आदेश दिइएको छ ।

उनीमाथि ठगीको आरोपमा सर्वोच्चले गरेको फैसला कार्यन्वयन गर्न फैसला कार्यन्वयन निर्देशनालयले जिल्ला अदालत चौतारालाई पत्र पठाउँदै वैदेशिक रोजगारी कसुर मुद्दामा अदालतको फैसला कार्यन्वयन गर्न आदेश दिएको हो ।

उनी दुई महिनाअघि मात्रै जिल्ला सभापतिमा निर्वाचित भएका थिए । साउन १६ गते जिल्ला अदालत चौतारालाई पत्र पठाउँदै फैसला कार्यन्वयन निर्देशनालयले भनेको छ, ‘धुनलाल गैरेसहितको जाहेरीले भोटसिपा गाविस–४ स्थायी ठेगाना भएका विकास लामाको वैदेशिक रोजगार कसुर मुद्दामा भएको फैसला कार्यन्वयन गर्नुहुन ।’

गैरेसहितले २०६९ सालमा दायर गरेको मुद्दा नं.१७१/३२७ को निर्णय नं.३० मा वैदेशिक रोजगार न्यायधीकरणबाट १६ पुस २०७० मा प्रदिवादी विकास लामालाई १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैया जरिवाना हुने फैसला भएको थियो ।

लामाले सुरु म्यादै गुजारी बसेकाले निजलाई मुलुकी ऐन अदालती बन्दोबस्ती २०८ नम्बरबमोजिम पुनरावेदनको म्याद समेत दिनुनपर्ने भनिएको छ ।

अनुसन्धानका क्रममा लामा २१ देखि २६ बैशाख २०७० सम्म थुनामा बसेको हुँदा अनुसन्धानका क्रममा थुनिएको ६ दिन कट्टा गरी बाँकी कैद १ वर्ष ५ महिना २४ दिन कैद र १ लाख ५० हजार लगत कसी असुलउपर गर्नु भनी वैदेशिक रोजगार न्यायधीकरणबाट तहाँ अदालतमा लेखिपठाएको चलानी नं. २७९८ को मिति २०७० माघ २९ को पत्र प्राप्त भएको ब्यहोरा उल्लेख छ ।