काठमाडौं । नयाँ प्रधानमन्त्री चयनका लागि बुधबार व्यवस्थापिका–संसदमा निर्वाचन हुँदैछ ।
बुधबार बिहान ११ बजे बस्ने व्यवस्थापिका संसदको बैठकले नेपालको संविधानको धारा २९८ को उपधारा ३ अनुसार नयाँ प्रधानमन्त्री चयन गर्नेछ ।
प्रधानमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मात्र उम्मेदवारी दर्ता भएपनि उनी सर्वसम्मत भने हुनेछैनन् ।
प्रचण्डको प्रस्तावकमा कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा र संसदका अन्य १६ दल रहेका छन् ।
व्यवस्थापिका–संसद् नियमावलीको नियम ४९ को उपनियम ४ अनुसार प्रधानमन्त्रीका उम्मेदवार प्रचण्डले आफ्नो उम्मेदवारीको सूचना संसद् बैठकमा प्रस्तुत गरेपछि प्रस्तावक र समर्थकले समर्थन गर्नेछन् ।
त्यसपछि सो प्रस्तावलाई सभामुख ओनसरी घर्तीमगरले निर्णयार्थ प्रस्तुत गर्नेछिन् । व्यवस्थापिका संसदको तत्काल कायम रहेको संख्याको बहुमत अर्थात २९८ मत आएमा दाहाल प्रधानमन्त्रीमा निर्वाचित हुनेछन् ।
उनी प्रधानमन्त्री निर्वाचित भएमा दोस्रोपटक प्रधानमन्त्री हुने पहिलो कम्युनिष्ट नेता बन्नेछन् । हालसम्मको अवस्थामा उनको पक्षमा ३ सय ६० भन्दा बढी मत रहेकाले उनी प्रधानमन्त्री बन्ने लगभग पक्का भइसकेको छ ।