जनवादी केन्द्रीयताको मर्म विचारमा एकमत होइन, कार्यान्वयनमा एकमत हो

जनवादी केन्द्रीयताको मर्म विचारमा एकमत होइन, कार्यान्वयनमा एकमत हो

Indra-Mohan-Sigdel (1)पार्टीमा आएको दोस्रो पटकको विभाजनपछि नेकपा (क्रान्तिकारी माओवादी) नयाँ संगठन निर्माण पुनर्निर्माण र सांगठनिक पुनःसंरचनाको दिशामा अघि बढेको छ । खासगरी पार्टी एकताको नाममा रामबहादुर थापा ‘बादल’ समूह एमाओवादीमा बिलय भएपछि क्रान्तिलाई नयाँ आधारमा संगठित गर्ने र गति प्रदान गर्ने दिशामा क्रान्तिकारी माओवादी अघि बढिरहेको छ । यसै सन्दर्भमा क्रान्तिकारी माओवादीका नेता इन्द्रमोहन सिग्देल ‘वसन्त’ सँग गरिएको कुराकानीको सारसंक्षेपः 

१. पार्टीमा भएको पछिल्लो विभाजनपछि नेकपा (क्रान्तिकारी माओवादी) कस्तो खालको पार्टी निर्माणमा जुटेको छ ?

माक्र्सवादले हामीलाई सिकाएको छ कि आदिम साम्यवादलाई छाडेर त्यसपछिको मानव समाज उत्पीडक र उत्पीडित गरी दुईवर्गमा विभाजित रहि आएको छ । त्यसकारण, दास युगदेखि आजसम्मको मानव समाजको इतिहास भनेकोे वर्गसंघर्षको इतिहास हो । त्यो वर्गसंघर्षको क्रममा कुनै पनि वर्गले आफ्नो विरोधी वर्गका विरुद्ध आफ्नो शक्तिलाई सँगठित गर्न, त्यो शक्तिलाई परिचालित गर्न, आफ्नो वर्गीय स्वार्थको रक्षागर्न, त्यसका लागि आफ्नो वर्गको सत्ता प्राप्त गर्न, त्यो सत्तालाई सुदृढ गर्न र त्यो सबैका लागि विरोधी वर्गमाथि आफ्नो वर्गीय अधिनायकत्व लागु गर्न त्यसले आफ्नो एउटा राजनीतिक पार्टीको निर्माण गर्दछ । यो उत्पीडक र उत्पीडित दुबै वर्गका निम्ति त्यत्ति कै सत्य हो । यसरी राजनीतिक पार्टी भनेको वर्गसँघर्षको उपज हो र त्यो वर्गसघर्षलाई आफ्नो हित अनुकुल परिचालन गर्ने राजनीतिक साधन पनि हो ।

कम्युनिस्ट पार्टी भनेको सबै खाले उत्पीडनका विरुद्ध सँघर्ष गर्ने सर्बहारावर्गको अग्रदस्ता हो । यसले वर्गीय शोषण सहित सबै प्रकारका दमन तथा उत्पीडनबाट मानवजातिलाई मुक्त गरी अन्ततः विश्व साम्यवादको स्थापना गर्ने र त्यो प्रक्रियामा सर्बहारा वर्गीय सत्ताका साथै आफ्नो पार्टीको समेत विलोपीकरण गर्ने महान् उद्देश्य राख्दछ । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) नेपाली सर्बहारा वर्गको अग्रदस्ता हो । नयाँ जनवाद, समाजवाद र सर्बहारा सास्कृतिक क्रान्तिहरु हुँदै वर्गविहीन समाज साम्यवादमा पुग्ने र अन्ततः राज्यसत्तासहित आफ्नो समेत विलोपीकरण गर्ने यसको रणनीतिक उद्देश्य हो ।

इतिहासमा नेपालका क्रान्तिकारीहरुले थुप्रै पटक उपरोक्त प्रकारको कम्युनिस्ट पार्टी निर्माण गर्ने प्रयत्न गरेका छन् र त्यसमा सापेक्षिक सफलता पनि प्राप्त भएको छ । तात्कालिन नेकपा (माओवादी)को मूल नेतृत्व प्रचण्डले नवसंशोधनवादी कार्यदिशा पक्डेपछि हामीले त्यसका विरुद्ध विद्रोह ग¥यौं र नयाँ पार्टी निर्माण गर्ने कोशिस गर्‍यौं । तर पनि हामीले सच्चा कम्युनिस्ट पार्टीको जग बसाउनका लागि अपेक्षित सफलता प्राप्त गर्न सकेका थिएनौ ।

हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी) बाट बादल–गुरु¨ गुट प्रचण्डले नेतृत्व गरेको नवसंशोधनवादी समूहमा विलय भए पछि हामीले उपरोक्त प्रकारको सच्चा कम्युनिस्ट पार्टी निर्माण गर्ने पुनः कोशिस गरेका छौं । हामीलाई विश्वास छ, उपरोक्त प्रकारको सच्चा कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो मिसनमा हामी सफल हुने छौं ।

२. पार्टीले अभ्यास गर्दै आएको संगठनात्मक सिद्धान्तका बारेमा केही बताइदिनुस् न ?

विश्वका अन्य कम्युनिस्ट पार्टीहरुले जस्तै हाम्रो पार्टीले अवलम्वन गर्दै आएको सँगठनात्मक सिद्धान्त पनि जनवादी केन्द्रीयता हो । यसलाई लेनिनवादी संगठनात्मक सिद्धान्त पनि भनिन्छ । यो सिद्धान्त जनवाद र केन्द्रीयता जस्ता दुई विपरीत प्रवर्गहरुको द्वन्द्वात्मक सम्बन्धमा आधारित हुन्छ । व्यापक जनवादको जगमा केन्द्रीयताको निर्माण हुन्छ र त्यो केन्द्रीयताले पार्टीका निर्णयहरुलाई कार्यान्वयन गराउने र पार्टीमा पुनः जनवादी अभ्यासको सुनिश्चितता गर्ने गर्दछ । केन्द्रीयताविनाको जनवाद अराजकता हुन्छ र जनवादविनाको केन्द्रीयता नोकरशाही अनुशासन बन्न जान्छ । यी दुबै गलत हुन् ।

प्रत्येक कमिटीहरुमा पार्टीका सबै सदस्यका बीचमा व्यापक छलफल गर्ने, त्यो छलफललाई जनतासम्म पनि पु¥याउने, गल्ति कमजोरीहरुको तीखो तर रचनात्मक तथा मैत्रिपूर्ण आलोचना गर्ने, सबै तहका नेतृत्वदायी अंगहरुको निर्वाचन गर्ने यो जनवादको प्रक्रिया हो । नेतृत्वले छलफलमा उठेका समग्र विषयहरुको संश्लेषण गर्दछ । त्यो संश्लेषणमा आम कार्यकर्ता र जनता समेतको विचारको प्रतिनिधत्व हुने हुनाले त्यसले बलियो केन्द्रीयता निर्माण हुन जान्छ । यसरी कुनै पनि कमिटीको नेतृत्वले आफूमा केन्द्रित भएको अधिकार प्रयोग गर्दा त्यो पार्टी सदस्यहरु र जनताको समेत विचारको प्रतिनिधित्व हुन पुग्छ ।

यसले व्यक्तिलाई संगठन, अल्पमतलाई बहुमत, तल्लो कमिटीलाई माथिल्लो कमिटी, सिंगो पार्टीलाई केन्द्रीय समिति र केन्द्रीय समितिलाई महाधिवेशनअन्तर्गत रहन कुनै अप्ठ्यारो पर्दैन बरु त्यो स्वैच्छिक अनुशासनको विषय बन्न जान्छ । कसैको कुनै विषयमा भिन्न मत रहन गयो भने त्यसलाई सुरक्षित राखेर वा सिधै माथिल्लो कमिटिमा पठाएर त्यो मत गलत वा सही के हो भन्ने निस्कर्षमा नपुगुन्जेल छलफल चलाउने मौका दिनु पर्दछ ।

मिटिङ, भेला वा सम्मेलनहरुमा नेतृत्वले नया–नयाँ तर्कहरु अगाडि ल्याउन, जनवादको अभ्यास गर्न कार्यकर्तालाई जति धेरै उत्साहित गर्छ, त्यसबाट निर्माण हुने केन्द्रीयता पनि त्यति नै बलियो हुन्छ । तर, चुस्त–दुरुस्त संगठन र त्यसमा हुने व्यवस्थित र तीखो बहसमार्फत् मात्र यो उपलब्धि प्राप्त गर्न सकिन्छ । 

३. बदलिएको परिस्थितिमा लेनिनवादी संगठनात्मक सिद्धान्तका पनि केही सीमाहरु रहे, त्यसको विकल्प खोजिनुपर्छ भन्ने आवाज पनि बेलाबेलामा उठ्ने गरेका छन् नि ?

यो कुरा सही हो कि कुनै पनि सिद्धान्त जड हुँदैन । लेनिनवादी संगठनात्मक सिद्धान्तका लागि पनि यो कुरा त्यत्ति कै सत्य हो । यसकारण जनवादी केन्द्रीयताका कतिपय मान्यतामा समसामयिक सम्मृद्धिकरण गर्नु आवश्यक हुन्छ र त्यसो गर्नु पनि पर्दछ । यो स्वाभाविक कुरा हो । तर जसरी जनवादी केन्द्रीयताको विकल्प खोज्नु पर्दछ भन्ने प्रश्न उठ्ने गरेको कुरा छ, त्यो भने नितान्त गलत छ । जनवाद र केन्द्रीयता दुई विपरीत प्रवर्गहरु हुन् । यिनीहरुका बीचको सम्बन्ध भनेको द्वन्द्वात्मक एकताको सम्बन्ध हो ।

यो द्वन्द्वात्मक भौतिकवादी मान्यतामा आधारित छ । विपरीतहरुका बीचमा हुने द्वन्द्वात्मक एकताको विकल्प खोज्नु पर्छ भन्ने मान्यता बहुलवादी मान्यता हो, यो अधिभूतवाद हो । संगठनात्मक सिद्धान्तको विकासको नाममा कम्युनिस्ट पार्टीलाई बहुलवादी बनाउने र संसदवादको ढोका उघार्न चाहने सुधारवादी तथा दक्षिणपंथी नवसंशोधनवादीहरुले यो विषयलाई जोड दिएर उठाउने गरेका छन् । हामी क्रान्तिकारी कम्युनिस्टहरुले यसको जोडदार विरोध गर्नु पर्दछ र यो मान्यतालाई परास्त गर्न सक्नु पर्दछ ।

४. दशवर्षे जनयुद्धको कालखण्ड र शान्तिप्रक्रिया यताका संगठनात्मक अभ्यासको समीक्षा कसरी गर्न सकिन्छ ? 

हाम्रो पार्टीले दशवर्षे जनयुद्धकाल र शान्ति प्रक्रियायताका पार्टीको संगठनात्मक अभ्यासको समीक्षा अहिले गरिसकेको छैन । यो स्पष्ट छ कि जनयुद्धको पछिल्लो काल र शान्ति प्रक्रियामा प्रवेश गरिसके पछि पनि सँगठनात्मक हिसाबले पार्टीमा गंभीर समस्याहरु देखा परे । ती संगठनात्मक समस्याले पार्टीमा पैदाभएको वैचारिक तथा राजनीतिक विचलनलाई थप मलजल समेत गरेको थियो । यो सबैको समग्र समीक्षा अहिले यहाँ संभव छैन । यो समीक्षा हामीले आगामी सम्मेलनका क्रममा गर्ने छौं ।

५. नेपालको कम्युनिष्ट आन्दोलन अर्थात् माओवादी आन्दोलनमा रहेका संगठनात्मक समस्याहरुलाई कसरी केलाउन सकिन्छ ?

नेपालको माओवादी आन्दोलनको इतिहासमा तात्कालिन नेकपा (माओवादी) निर्माणको सेरोफेरोमा संगठनात्मक समस्याको परिचालन र जनवादी केन्द्रीयताको अभ्यास मूलतः सही नै थियो । जनयुद्धको प्रक्रियामा प्रवेश गरेपछि केही समस्याहरु देखापर्न थाले । जनयुद्धको पछिल्लो अवधि र पछि शान्ति प्रक्रियामा प्रवेश गरेपछि पार्टीमा संगठन निर्माण र जनवादी केन्द्रीयताको अभ्यास गलत ढंगले हुन थाल्यो । पार्टीका सबै महत्वपूर्ण निर्णयहरु प्रायः सम्झौतामा गरिन्थ्यो । मेरो विचारमा मूल नेतृत्वको चिन्तनमा व्याप्त रहेको Fusion को अधिभूतवादी मान्यता यसको मूल कारण थियो ।

एकको दुईमा विभाजन हुन्छ भन्ने माओको द्वन्द्ववादी मान्यताका विरुद्ध दुईको एकमा संयोजन हुन्छ भन्ने याङ शिएन चेनको अधिभूतवादी मान्यता पार्टी संगठनमा लामो समयसम्म प्रभावी रहन गयो । पार्टी वस्तुतः विपरीतहरुको एकत्व रहेन । साथै पार्टीमा एकता–संघर्ष–रुपान्तरण र नयाँ आधारमा नयाँ एकताको द्वन्द्ववादी प्रक्रिया अगाडि बढेन । संघर्ष रुपान्तरणको हदसम्म विकास हुन पाएन, फलतः यो संझौतामा या फुटमा गएर टंगिने भयो । पार्टीले एकता–संघर्ष–संझौता या फुटको यो गोलचक्करलाई तोड्न सकेन । जनवाद औपचारिकतामा मात्र सीमित रह्यो र केन्द्रीयता नोकरशाही प्रकारको बन्न गयो । 

शान्तिकालमा आईसकेपछि पार्टी संगठन र पार्टीको संगठनात्मक पद्धति दुबै अझ ध्वस्त भए । पार्टीका कमिटीहरु यति भद्दा हुन थाले कि त्यहाँ विहंगम छलफलको त कुरै छाडौं कमिटीमा कतिजना सदस्य छन्, बैठकमा को उपस्थित भयो र को भएन भन्ने अभिलेखसम्म राख्नसक्ने स्थिति समेत रहेन । पछिल्लो कालखण्डमा पार्टी प्रवेश गर्ने युवा कमरेडहरुका निमित्त आलोचना र आत्मालोचना भनेको कुरा कुन चराको नाम हो भने जस्तै हुन थाल्यो । व्यक्तिगत स्वार्थका लागि गुटबन्दी व्यापक हुनथाल्यो ।

गुटगत स्वार्थ पुरा गर्न माओका “तीन गर” नगर भने जस्ता भए र “तीन नगर” गर भने जस्ता हुन थाले । कम्युनिस्ट पार्टीका बैठकहरु महन्तहरुले बैद्धिक कथा बाचन गर्ने धार्मिक अनुष्ठान जस्ता बन्न गए । यसले जनवादलाई ध्वस्त पा¥यो र पार्टीका नेताहरु सर्बज्ञाता पण्डितहरु जस्ता जनता, कार्यकर्ता र देशका भाग्यविधाता जस्ता हुन थाले । यो पार्टीमा नेतृत्वप्रतिको घृणा र श्रद्धावाद फस्टाउने आधार बन्यो । पार्टीको वैचारिक विचलनका साथै संगठनात्मक क्षेत्रमा देखापरेको यो अस्तव्यस्तताका कारण पार्टी र क्रान्तिले कति गंभीर धक्का खायो भन्ने कुरा हाम्रा सामु छर्ल¨ भै सकेको छ । यसलाई हामीले आगामी राष्ट्रिय सम्मेलनमा गंभीर समीक्षा गर्ने छौं ।

६. दुई–लाईन संघर्षलाई कम्युनिस्ट पार्टीको चालक शक्ति मानिन्छ । तर नेपालको कम्युनिस्ट आन्दोलनमा पार्टीमा दुई–लाईन संघर्ष सुरु हुना साथ पार्टी फुटी हाल्ने गरेको छ । दुई–लाईन संघर्ष नचलाउं त पार्टी गतिहीन भएर सिद्धिने, चलाउँ त पार्टीमा फुटको श्रृङ्खला नरोकिने र संझैता गरौं त त्यो पनि प्रतिक्रान्तिको आधार बन्ने, यो अन्तरविरोधलाई कसरी बुझ्ने हो ? यसको समाधानको विधि के होला ?
यो निकै महत्वपूर्ण प्रश्न उठाउनु भयो । पार्टी भनेको विपरीतहरुको एकत्व हो । जुनसुकै कम्युनिस्ट पार्टीमा पनि सही र गलत विचारका बीचमा निरन्तर संघर्ष चलिरहन्छ, त्यसलाई हामीले दुई–लाईन संघर्ष भन्दछौं । गलत विचारलाई परास्त गरेर मात्र पार्टीमा सही विचार हावी हुन्छ । तथ्यबाट सत्य पत्ता लगाउने भनेको पनि यही हो । दुई–लाईन संघर्षको प्रक्रियाबाट नै सच्चा क्रान्तिकारीहरुले गलत विचारलाई परास्त गर्छन् र पार्टीको क्रान्तिकारी धारको रक्षा र विकास गर्दछन् । यसरी दुई–लाईन संघर्ष पार्टीलाई क्रान्तिकारी बनाई राख्ने र क्रान्तिकारी धारको विकास गर्ने पार्टीको चालक शक्ति हो । एउटा क्रान्तिकारीले यसलाई दरो गरी आत्मसात गर्नु पर्दछ र दुई–लाईन संघर्षमा आफ्नो स्पष्ट पक्षधरतासहित आफूलाई सधै सक्रियतापूर्वक प्रस्तुत गर्नु पर्दछ ।

दुई–लाईन संघर्षको क्रममा कहिलेकाहीं पार्टीमा गलत विचार हावी हुन जान्छ र त्यसले पार्टीको रङ बदलिदिन्छ । त्यो बेला एकताको नाममा क्रान्तिकारीरु पार्टीमा बसिरहनु क्रान्तिको हितमा हुंदैन । क्रान्ति र विचारको रक्षाका लागि क्रान्तिकारीहरुले पार्टीबाट विद्रोह गर्नु अनिवार्य हुन्छ । फेरि अर्कोतिर, कुनै कालखण्डमा पार्टीमा राम्रो काम गरेका तर पछि आएर आफ्नो रङ बदलेका अवसरवादी नेताहरु पार्टी छोडर अन्यत्र जाने गर्दछन् । पार्टीको अंकगणितीय हिसाबले यी दुईवटै परिघटनाहरु फुटका रुपमा चित्रित हुने गरेका छन् । तर सारमा भने यी क्रान्तिको हितमा हुन्छन् र यसले क्रान्तिकारीहरुका बीचको एकतालाई बलियो नै बनाएको हुन्छ । एउटा कम्युनिस्टले यी दुबै परिघटनालाई क्रान्तिकारी पार्टीमा भएको नकारात्मक फुटका रुपमा बुझ्नु हुँदैन ।

अर्कातिर, पार्टीमा कसैले पनि आफ्नो रङ बदली नसकेको तर मूलतः क्रान्तिकारी कित्ता भित्रका विभिन्न गलत प्रवृत्तिहरुका बीचमा भीषण दुई–लाईन संघर्ष चलेको स्थितिमा एउटा क्रान्तिकारीले एकता–संघर्ष–रुपान्तरण र नयाँ आधारमा नयाँ एकताको लागि जोड दिनु पर्दछ । वैचारिक शुद्धताको नाममा फुट रोज्नु वा फुटबाट पार्टीलाई बचाउने नाममा पार्टीमा सहमति खोज्नु दुबै गलत कुरा हुन् । यी दुबै गलत चिन्तनको वैचारिक आधार पार्टी भनेको एकमना एकता हो, विपरीतहरुको एकत्व होइन भन्नेमा रहेको हुन्छ । यो बुझाई माक्र्सवादी होइन, अधिभूतवादी हो । नेपालको माओवादी आन्दोलन यो रोगबाट मुक्त छैन । पार्टी निर्माणको प्रक्रियामा यो बुझाईलाई राम्रोसंग परास्त गर्नु पर्दछ ।

पार्टीमा अनावश्यक फुट वा गलत संझौता हुनुका पछाडि पार्टीमा सँधै एकमत वा सहमति हुनु पर्छ भन्ने मान्यताले पनि एकहदसम्म काम गरेको पाइन्छ । यसको परिणाम या त संझौता गरेर एकमत या विचार मिल्नेहरु फुटेर एकमत भन्ने हुन्छ । यो बाहेक अर्को हँुदैन । जनवादी केन्द्रीयताको मर्म विचारमा एकमत होइन कार्यान्वयनमा एकमत हो । कुनै कमरेडलाई आफ्नो मत तत्काल अल्पमतमा परे पनि अन्ततः सही छ भन्ने लागेको छ तर उसले पार्टीमा त्यसबारे छलफल हुने र त्यो मत पुनः पार्टीमा हावीहुने संभावना देख्दैन भने उसले क्रान्तिको रक्षाका लागि त्यो मतका आधारमा भिन्न पार्टी बनाउनु अनिवार्य ठान्दछ ।

त्यतिबेला पार्टी निर्माणका लागि गलत कदमहरु प्रोत्साहित हुन सक्छन् । अल्पमत पनि सत्य हुनसक्छ भन्ने मान्यताका आधारमा त्यसलाई सम्मानजनक तरिकाले पार्टीमा छलफल चलाउने पद्धतिको विकास र त्यस्तो वातावरणको निर्माण पार्टीले गर्न सके कुनै कमरेडलाई पनि आफ्नो भिन्नमत अनुसारको अलग पार्टी बनाई हाल्नु पर्ने आवश्यकताको महसुस हुँंदैन र मत अनुसारका अलग–अलग पार्टी बन्दैनन् । पार्टीमा यो मान्यतालाई स्थापित गर्न सकियो भने पार्टीलाई अनावश्यक फुटबाट बचाउन सकिन्छ र पार्टीभित्र विचारमा संझौता पनि गर्नुृ पर्दैन । वस्तुतः पार्टीमा विचारको विकास गर्ने, पार्टीलाई सांच्चिकै विपरीतहरुको एकत्व बनाउने र एकताको नाममा संझौता र फुटबाट बचाउने विधि यही हो । यसलाई गहिरो गरी आत्मसात गर्नु पर्दछ र गंभीरतापूर्वक पार्टीमा लागू गर्नु पर्दछ ।

७. माओवादी आन्दोलनमा जे जस्ता विचलनहरु देखा परे र आन्दोलन जसरी गोलचक्करमा फस्न पुग्यो अर्थात् प्रतिक्रान्ति हावी हुन पुग्यो, त्यसो हुनुमा विगतमा गरिएको संगठनात्मक अभ्यासमा रहेको त्रुटी त जिम्मेवार छैन ?
वैचारिक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ । माओको यो भनाई आज पनि त्यत्ति कै सही छ । नेपालमा प्रतिक्रान्ति हावी हुन पुग्नुको मूल कारण तात्कालिन नेकपा (माओवादी)ले ग्रहण गरेको गलत विचार र तदनुसारको दक्षिणपंथी कार्यदिशा नै हो, यसमा कुनै शंका छैन । तर खास–खास परिस्थितिमा कार्यशैलीले पनि कार्यदिशालाई गंभीर प्रभाव पार्दछ । त्यसकारण, माओवादी आन्दोलनको विगतको संगठनात्मक अभ्यासमा रहेको त्रुटी पनि नेपालमा प्रतिक्रान्ति हावी हुनुमा एकहदसम्म जिम्मेवार रहेको छ, यसमा कुनै शंका छैन ।

८. अन्तमा, छुटेका थप विषय छन् भने राखिदिनुस् न ।

नेपालमा टुट–फुटको प्रक्रियाबाट माओवादी आन्दोलन निकै कमजोर बन्न गएको स्थितिमा तपाईले आफ्नो पत्रिका मार्फत् यो बहसलाई अगाडि ल्याएर संगठनात्मक समस्याको समाधान गर्न सहयोग गर्नु भएकोमा तपाई, तपाईको पत्रिका र सम्पूर्ण पत्रिका परिवारप्रति धन्यवाद दिन चाहन्छु । अन्तमा, यो पत्रिकाले क्रान्तिकारीहरुलाई मालेमावादको पक्षमा गोलबन्द गरेर क्रान्तिलाई सहयोग गर्न सफल हुनेछ भन्दै यसको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।