एमालेले प्रधानमन्त्रीमा उम्मेदवार नउठाउने, मतदान चाँहि प्रचण्डको विपक्षमा

Prachandaकाठमाडौं । नेकपा एमालेले नयाँ प्रधानमन्त्री पदका लागि बुधबार हुने निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।

मंगलबार बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्रीका लागि उम्मेदवार नठाउने नदिने निर्णय गरेको हो । प्रधानमन्त्रीका लागि उम्मेदवारी नदिए पनि प्रचण्डको विपक्षमा मतदान गर्ने र प्रतिपक्षमा बस्ने निर्णय बैठकले गरेको उपमहासचिव विष्णु पौडेलले जानकारी दिए ।

एमालेले आफूले अघि सारेका एजेण्डाहरूमा केन्द्रीत रहँदै जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने, संविधानको कार्यान्वयनको पक्षमा, राष्ट्रिय स्वाभिमानको रक्षा, मुलुकलाई आत्मनिर्भर बनाउने र छिमेकी मुलुकहरूसितको सन्तुलित सम्वन्धको पक्षमा जिम्मेवारीपूर्ण भूमिका खेलिरहने निर्णय बैठकले गरेको उनले बताए ।

यसैगरी अहिले कांग्रेस, माओवादी केन्द्रलगायतका दलहरुको गठबन्धनलाई एमालेले अस्वभाविक भनेको छ ।

बुधबार हुने प्रधानमन्त्रीको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उम्मेदवारी दर्ता गराएका छन् ।

आफ्ना समर्थक दलका नेताहरुका साथ संसद भवनको ल्होत्से हल पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रचण्डको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा छन् भने समर्थकमा कृष्णबहादुर महरा, जयदेव जोशी, कुमार खड्का, चन्द्रेश्वर झा, उपेन्द्र यादव, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन् ।