सलाम तिलाठीका जनतालाई !

20160731_172838

अतिक्रमणकारीविरुद्ध जाइलाग्नु न्यायपूर्णभएको ठहर गरेको क्रान्तिकारी माओवादीको नेवा राज्य समितिले तिलाठीका जनतालाई सलाम अर्पण गरेको छ । आइतवार सांझ राजधानी सहर काठमाडौंको भोटाहिटीमा एक कोणसभाको आयोजना गरी तिलाठीका जनतालाई सलाम अर्पण गरेको हो । उक्त कोणसभालाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले तिलाठीका जनताले अबको राष्ट्रियताको आन्दोलनको एउटा ऐतिहासिक सुरुआत गरेको बताएका छन् ।

भारतले नेपालको दशगजा मिचेर बांध बनाउनु कुनै नौलो कुरा होइन, तर तिलाठीका जनताले अतिक्रमणकारीहरुका विरुद्ध जसरी प्रतिरोध गरे, त्यो भने आफैमा ऐतिहासिक छ र एउटा नमूनाको रुपमा अङ्कित भएको छ भन्दै गजुरेलले तिलाठीको प्रतिरोधलाई देशव्यापी फैलाउनुपर्ने कुरामा जोड दिएका छन् । आफूहरुले पहिले देखि नै भारतीय विस्तारवादको यो मिचाहा प्रवृत्तिको विरोध गर्दै आएको र निरन्तर विरोधमा रहेको साथै आफूहरुले बोलेका कुरा सही साबित हुंदै गएको भन्दै गजुरेलले यस बारेमा कुरा उठाउंदा न त सरकार बोलेको न त कुनै कुटनीतिक पहललाई अघि बढाएको भन्दै तिलाठी झिल्को हो, यसलाई नमूनाको रुपमा लिएर देशव्यापी राष्ट्रियताको आन्दोलन उठाउन सकिन्छ ।

दशगजा क्षेत्रमा भारले एकलौटी बांध बांधेका कारणले तिलाठी लगायत तराइका वस्तीहरु जलमग्न छन् भन्दै गजुरेलले प्रश्न गरे– आफूहरुलाई तराइ र खासगरी मधेशी जनताको पार्टी भनी चिनाउने मधेशवादी दलहरु अहिले कहां छन् ? त्यसको जवाफ पनि आफै दिंदै गजुरेलले भने ती दलहरु काठमाडौंमा छन् र सिंहदरवारमा जानका लागि कुर्सीको वार्गेनिङमा जुटेका छन् । भारतीय गुण्डाहरुले जनतालाई पिटिरहंदा उनीहरुलाई कुनै दुखाइको महशुस छैन र लज्जाबोध पनि छैन ।

देशलाई दुःखको सागरमा धकेल्ने खेलमा जुटेका टोपी र दौरा सुरुवाल लगाएका दलालहरु र धोती लगाएका दलालहरु सिंहदरवारको कुर्सीको वार्गेनिङ्मा लागिरहेका बेला यी दलालहरुलाई दह्रो झापड दिने गरी तिलाठीमा उठेका मुट्ठीहरुलाई सलाम भन्दै गजुरेलले देशको सीमाना नेपाली सेना, सशस्त्र पुलिस वा जनपथले होइन, त्यहांका नेपाली जनताले रक्षा गरेको कुरामा खुलासा गरेका थिए ।