काठमाडौं । प्रधानमन्त्रीको निर्वाचनका लागि यही साउन १९ गते बुधबार मतदान हुने भएको छ ।
सहमतिका आधारमा प्रधानमन्त्री चयन हुन नसकेपछि व्यवस्थापिका–संसद्मा बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन हुने भएको हो ।
व्यवस्थापिका–संसद्को सोमवारको दोस्रो बैठकमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री निर्वाचनका लागि राष्ट्रपति कार्यालयबाट प्रक्रिया अघि बढाउनेसम्बन्धी प्राप्त पत्र पढेर सुनाएकी थिइन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही साउन १० गते सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न दलहरुलाई आह्वान गरेकी थिइन् । सो अवधिमा प्रधानमन्त्रीको चयन हुन नसकेपछि सोमवार राष्ट्रपति कार्यलयबाट बहुमतीय प्रक्रिया अघि बढाउन संसद्लाई पत्र पठाएकी थिइन् ।
संविधानको धारा २९८ को उपधारा ३ बमोजिम संसद्मा तत्काल कायम रहेका सदस्यको बहुमतबाट प्रधानमन्त्री चयनका लागि आह्वान भएको हो । संसद् सचिवालयले प्रकाशन गरेको प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी कार्यक्रमअनुसार साउन १८ गते मंगलबार बिहान ११ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने र सोही दिन अपराह्न ४ः३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
साउन १९ गते बिहान ११ बजे हुने संसद्को बैठकमा सबै उम्मेदवारीको सूचना प्रस्तुत भई प्रस्तावक र समर्थकको समर्थनपछि ती सूचनामाथि सामूहिक छलफल र निर्णायार्थ प्रस्तुत (मतदान) गरिनेछ । ती सबै कार्यक्रम संसद् भवन नयाँ बानेश्वरमा हुनेछ ।
संसद् नियमावली २०७३ को नियम ४९ को उपदफा २ बमोजिम प्रधानमन्त्रीको निर्वाचनको मिति तथा निर्वाचन कार्यक्रम प्रकाशन गरिएको हो ।