माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफ्नै पार्टी बिघटनको अन्तिम तयारीमा जुटेका देखिन्छन् । जनयुद्ध, जनसत्ता, जनसेना र आफ्नै नेतृत्वमा रहेको ९ महिने सरकार मात्र होइन, बाबुराम मार्फत् संविधानसभा समेत सुनसान मध्यरातमा बिघटन गराएर दिल्ली रिझाउन व्यस्त प्रचण्ड अब आफ्नै पार्टी बिघटनको अन्तिम तयारीमा जुटेका उनी निकट स्रोतले दाबी गरेको छ । ‘देश र जनताका लागि भनेर हिँडियो, सङ्घर्ष र युद्धबाट प्राप्त उपलब्धि सबै हेर्दाहेर्दै सिध्याए, अब त पार्टी पनि बाँकी नराख्ने कुरा गर्न थालेका छन्’ स्रोतले बताएको छ ।
निकै चलाकीपूर्ण तरिकाले सहयोद्धा साथीहरुलाई छक्याउने प्रचण्डले दिल्लीमा गरिएको १२–बुँदे सम्झौता देखाउनका लागि मात्र र गर्नका लागि छुट्टै गोप्य संझौता गरेर आएको उनी निकट रहेकाहरुको मुखबाट समेत ओकलिन थालेको छ । २०६३ जेठ २३ गते कास्कीको सिकलेसमा काठमाडौं भित्रिने पूर्वसन्ध्यामा आयोजित अगुवा कार्यकर्ताहरुको प्रशिक्षण बैठकमा प्रचण्डले उक्त सङ्केत उतिबेला नै गरिसकेका त्यहाँ सहभागी हुनेहरुले बताइरहन्छन् ।
‘हाम्रा नेता तथा कार्यकर्ताहरु के गतिला छन् र ? दश ठाउँमा भाँचिएका छन्’ भन्दै प्रचण्डले ‘यो युद्ध पनि मैले गरेको हँु, पार्टी पनि मैले बनाएको हुँ, शान्ति प्रक्रियामा लैजान्छु, पार्टी पनि बिघटन गर्छु’ भनेर यसको छनक त्यतिबेलै दिइसकेका थिए । पछिल्लो चरणमा सोच्दै नसोचेको र थेग्नै नसक्ने गरी हजारौंको जम्बो केन्द्र निर्माण गरेपछि आफ्नै कार्यकर्ताबाट ‘हजारीलाल’ को उपाधि पाएका उनी अब त्यो जम्बो पार्टी बिघटनको भित्री तयारीमा जुटेको कुरामा उनीसम्बद्ध स्रोत विश्वस्त छ ।
‘बाहिर ल्याउँदा पनि बिग्रने र नल्याउँदा पनि बिग्रने’ भन्दै निकै गह्रौं श्वास लिँदै स्रोतले दाबी गर्छ– ‘प्रचण्डले बिघटन मात्र गर्न जानेका छन्, निर्माण गर्न जान्दै जानेन्’ । उनले यो पनि थप्न भ्याए ‘एक त जनविरोधीहरु माओवादी सिध्याउन अन्तिम तयारी गर्दै छन्, त्यसमाथि प्रचण्ड आफैको पार्टी सिध्याउने हर्कत निकै शङ्कास्पद छ’ । स्रोतको अरु थप भनाइ छ– ‘हामी आफ्नै कारणले सिद्धियौं, आफ्नै नेताले सिध्याए’ । स्रोतका अनुसार पार्टी बिघटन गर्न प्रचण्डलाई ‘राम्रो मात्र होइन, सुनौलो अवसर’ प्राप्त भएको छ ।
खुल्न आएअनुसार बाबुराम र प्रचण्डबीच नयाँ पार्टी बनाउने निकै छलफल चल्दै आएको र बाबुरामले गठन गरे झैं नयाँ पार्टी बनाउने निष्कर्षमा पुगेको पछिल्लो चरणमा उक्त नयाँ पार्टीको अध्यक्षमा को रहने भन्ने विषयमा विवाद उठेपछि बाबुरामले एमाओवादी छाडेका थिए । प्रचण्ड–बाबुरामको नयाँ सोच र निष्कर्ष बाबुराम एक्लैले लिएर गएपछि प्रचण्डले आफू अलपत्र पर्दाको अवस्थामा पार्टी एकताको ‘छ्याप्लाङ’ फ्याँकेका थिए ।
प्रचण्डले पार्टी निर्माणमा विचारमा भन्दा पनि व्यवस्थापनलाई ध्यानमा राख्ने गर्दछन् । उनका गुरु तथा अग्रज मोहन वैद्यको नेतृत्वमा क्रान्तिकारी माओवादी अघि बढिसकेको र अर्कोतिर बाबुराम पनि आफ्ना विचारसहितको नयाँ शक्ति नेपाल गठन गरेर गइसकेको अवस्थामा पद बाँड्ने अभियान नै उनको विचारमा सबैभन्दा श्रेयस्कर बन्न पुग्यो । वैद्यले विचार बाँड्ने र बाबुरामले ‘प्रजातन्त्र’ बाँड्ने गर्दा उनले पद बाँड्ने कुरा अस्वाभाविक पनि होइन । जोसँग जे छ उसले त्यही गर्ने न हो ।
विगतमा मोहन वैद्यलाई जेलमा पठाएर आफूले संविधान सभामा पार्टीलाई लगेपछि स्वतः व्यवस्थापन हुन्छ भन्ने सहज मानसितामा उनले चुनवाङबाट काठमाडौंतिर पार्टी कुँदाएका थिए । तर त्यो अबधिमा वैचारिक रुपमा बाबुरामको लोकतान्त्रिक गणतन्त्रको कार्यदिशाले उनलाई ‘लिड’ गरेको थियो । अहिले बाबुरामले पनि परित्याग गरिसकेका छन् । परित्यक्तताको यो अवस्थामा प्रचण्डसँग विचार बाँकी रहेन । उनले यत्ति मात्र सोच्न भ्याएका छन् कि केन्द्र र सङ्घीय राज्यहरुका साथै स्थानीय चुनावमा नेता कार्यकर्ता होमेपछि आउँदा आठदश वर्ष विना विचार नै पार लाग्ने छन् ।
तर विचारको बलमा बनेका सङगठनहरु नै दुनियाँमा बाँच्नसक्ने यो अवस्थामा विचार नपुगे पछि प्रचण्डले भनेजस्तो पार्टी भएन भनेर आफ्नै पार्टी ‘डिजल्भ’ गर्ने अवस्था निम्त्याउँदै छन् । उनी त्यो तयारीमा रहेको पनि स्रोतको दाबी छ । ‘नाँच्न नजान्ने, आँगन टेढो’ को उखानले उनलाई च्याप्तै लगेको उनी निकटहरुले बताउन थालेका छन् । किनकि विना विचार संसारमा कहीं पनि पार्टी बनेको र अघि बढेको एतिहास छैन ।