
बिलिन वा बिलय हुने कुरा एकताका नेपाली माओवादी राजनीतिक बजारमा बोल्नेको पीठो बिक्ने जस्तै हुन पग्यो । गाउँघरमा भन्ने पनि गरिन्छ, गरिखान नसक्ने हराउने बिलाउने त हो । बिलाउने भनेको अरुको स्वत्वमा आफूलाई देख्नु हो । भनिन्छ, मान्छेहरु वा नेताहरु पनि ‘लिड’ वा ‘लेड’ गरी दुई प्रकृतिका हुन्छन् । कोही अगुवा भएर डोयाउँदै लिएर जान्छन् त कोही पछुवा भएर पछि लाग्दै जिउँछन् । समय र परिस्थितिले नेता वा अगुवाको पगरी गुथाए पनि तिनीहरुको विचार, गुण र हैसियत भने पिछलग्गुकै हुन्छ । बिलिन हुनु पनि यसैको अनिवार्य बाध्यता हो । गोरु अगाडि, गाडा पछाडि अथवा टाउको अगाडि पुच्छर पछाडि ।
तर यसो गर्दा पनि लाज त छोप्नै पर्छ । नेताको पगरी, पछुवामा लाइन लाग्ने कसरी ? बहादुरीका साथ पछि हट्न पनि भ्रम त दिनै पर्छ । वर्तमानमा एकाकार हुनु वा एकतामा जानु नेपाली माओवादी राजनीतिक बजारका केही भ्रमहरु मात्र हुन् । किनकि त्यसो गर्नु अघि नेपाली जनतालाई धेरै कुरामा चाहिँदो जवाफ दिन जरुरी छ ।
ठट्टैमा सोध्नेले सोधिहाल्ने– ‘एकतामा नआएर के गर्छौ र ?’ जवाफ दिनेले दिइहाल्ने– ‘एकता जनताको चाहना हो’ । तर प्रश्न र जवाफ दुबै आफैमा सामञ्जस्यता देखिदैन कि एकता वा एकाकार केही नयाँ विकल्पका लागि वा बिलिन हुनका लागि ? यी प्रश्न र जवाफहरु नेपाली माओवादी राजनीतिमा वृत्तमा निकै अधैर्य र तरल रहेकाहरु बीचको भावनात्मक संवाद हो । सोध्ने र जवाफ दिनेहरु जनताको पङ्क्तिमा पर्छन् वा पर्दैनन् ? वा जनताले चाहेको वास्तविक एकतालाई तिनीहरुले सम्बोधन गर्न सक्छन् कि सक्दैनन् ? प्रश्न र जवाफ दुबै उत्तिकै अमूर्त र तरल छन् । बरु यहाँ सही कुरा केचाहिँ हो भने माओवादीहरुले एकताको कुरालाई कसरी बुझ्छन् ? र, के कुरा सोँच्छन् ? सारतः जनताले चाहेको जनयुद्धकालिन माओवादी विचार र स्पिरिटसहितको एकता हो भन्ने कुरा तिनको घैंटोभित्र पसेको छ कि छैन ? तर्क त आफूअनुकूल हुनेगरी जेजे गरे पनि हुन्छ ।
माक्र्सवादी मान्यताअनुसार कम्युनिष्टले जहिले पनि रणनीतिक रुपमा पूर्ण परिवर्तन र तात्कालिक वा कार्यनीतिक रुपमा एक कदम अघिको कुरा सोच्दछन् । कम्युनिष्ट पार्टीका कार्यभारहरु पनि यिनै दुई मूल कुराहरुद्वारा निर्देशित हुन्छन् । यस अर्थमा रणनीतिक वा दीर्घकालिन सोचले कार्यनीतिक वा तात्कालिक कामलाई डो¥याइरहने र तात्कालिक कामले रणनीतिक सोचलाई पछ्याइरहने गर्दछन् । यी रणनीतिक र कार्यनीतिक कामहरुलाई जोडेर लैजाने माध्यम भनेको वर्ग सङ्घर्ष हो । त्यसैले माओ भन्छन्– ‘वर्गसङ्घर्षलाई कहिल्यै नबिर्स’ । त्यसैले कम्यनिष्टको जिम्मेवारी भनेको वर्ग सङ्घर्षलाई नभुलेर तात्कालिन यथास्थितिवादी स्थितिको ठाउँमा नयाँ विकल्प दिई अग्रगामी परिवर्तन ल्याउन प्रयासरत रहनु हो ।
नेपालमा माओवादी पार्टी निर्माणपश्चात् आन्दोलन निर्माण तथा क्रान्तिकारी प्रतिवद्धतासहित त्यसको कार्यान्वयनको क्रम निकै उभार र रफ्तारमा अघि बढ्यो । हजारौंले बलिदान गरे । अरु सैयौंहजारले घाइते अपाङ्गको जीवन जिइरहेका छन् । तर तात्कालिन क्रान्तिकारी पार्टी भने विभाजित हुँदै आएर सपना त्याग्ने वा अघि बढ्ने जस्ता दुई धारामा ध्रुवीकृत हुँदै जान थाल्यो । आजको यस अवस्थामा हाम्रो माझ उठेको एउटै मूल प्रश्न हो– बिलिन वा एकता आमूल परिवर्तनका लागि वा संसदीय स्वार्थसिद्धिका लागि ? बिलिन वा एकता देश र जनताका लागि वा व्यक्तिगत स्वार्थका लागि ? के यो भन्दा राम्रो संसार निर्माण संभव छैन ? संभावनाको खोजी गर्ने दिशामा अघि बढ्ने र ‘लिड’ गर्ने वा संभावना नै छैन भनी लत्रदै पछि हट्ने र ‘लेड’ बन्ने ?
चुनवाङ
अघि बढ्न प्रयासरत धारा र एकपछि अर्को गरी निरन्तर पछि हटिरहेको धाराका बीचमा भिन्नता पहिचान गर्न माओवादी आन्दोलन सिङ्गो हुँदाकै बखत २०६२ असोजमा सम्पन्न चुनबाङ बैठकमा गरिएको वर्गीय वैचारिक संश्लेषणलाई उद्धरण गरी यसलाई जगैबाट अध्ययन गर्न जरुरी भएको छ । त्यसमा लेनिनको भनाइलाई उद्धृत गर्दै भनिएको छ–
“निम्न पुँजीपति वर्गको सिङ्गो हिस्सा आफूमाथि भइरहेको अत्याचारका कारण विद्रोहको एउटा सीमासम्म सजिलै पुग्छ । तर त्यो भन्दा उता आवश्यक पर्ने सामूहिकता, लगन, धैर्यता र त्यागको प्रदर्शन गर्न सक्तैन । ज्ञान र तर्कका दृष्टिले अगाडि आए पनि चेतना र संस्कारका दृष्टिले उसले टुक्रे उत्पादन र पद्धतिको जगमा निर्मित आत्मकेन्द्रित व्यक्तिवादी सङ्कीर्णताबाट मुक्तहुन कठिन पर्दछ । पुरानो सत्ताविरुद्ध विद्रोहको त्यही सीमासम्म त हाम्रो पार्टी र जनयुद्ध अपेक्षाकृत सहजै आइपुग्यो तर अब नयाँ सत्ताको निर्माण गर्ने चुनौति भने निम्न पुँजीपति वर्गको क्षमता भन्दा बाहिरको कुरा हो । पुरानो सत्ताले हिजो आफूमाथि गरेको अन्याय र थिचोमिचोको बदला अहिले आफूले पनि त्यसरी नै शासन गरेर वा लाभ हासिल गरेर वा आफ्नो कद उँचो बनाएर लिन खोज्नु निम्न पुँजिपति वर्गको चरित्रगत विशेषता हो । वस्तुगत वर्गीय र वैचारिक दृष्टिकोणले आज हाम्रो पार्टीमा देखापरिरहेको समस्याको चुरो कारण यसैमा लुकेको छ । नयाँ सत्ताको निर्माणको नेतृत्व निम्न पुँजीवादी चेतनाबाट सर्वहारावादी चेतनामा छलाङ नहानिकन अगाडि बढ्नसक्ने कुरै होइन ।”
चुनवाङ दस्तावेजको माथिको उद्धरण तात्कालिन अध्यक्ष प्रचण्डले निकै चतु¥याइँका साथ दुई भिन्न कोणबाट प्रस्तुत गरेको आफैमा प्रष्ट हुन्छ । पहिलो कुरा हो, दस्तावेजमा आफू क्रान्तिकारी देखिइरहने । दोस्रो कुरा हो, घोषित रुपमा नै अब क्रान्ति संभव छैन भन्ने । आत्मगत हिसाबले प्रचण्ड चुनवाङमा बैठकमा उपस्थित नेताहरुभन्दा श्रेष्ठ नै छन् । किनकि, उनले यो यथार्थतालाई बेलैमा बोध गरे । अब यो विन्दुभन्दा अगाडि जानसक्ने विचार निर्माण स्वयम् प्रचण्डबाट संभव थिएन, अरुको त कुरा छाडौं । यो यथार्थतालाई उनले नलुकाएर दस्तावेजमै लेखी सार्वजनिक रुपमा नै स्वीकार गरे । स्मरण रहोस्, उक्त बैठकमा भएको छटपटाहट र पलपलको पानी पिउँदाको घुट्कोसँगै भारतको सिलिगुढी जेलमा हालिएका क. किरणको उक्त बैठकमा भएको अनुपस्थितिलाई इङ्गित गर्दै उनले ‘खोइ, किरणजी भएको भए’ भन्दै सुस्केरा हाल्ने गरेका थिए । सँगै बसेका नेता महोदयहरु जीवितै छन् । प्रचण्डकै यो हालत देखेपछि बाबुराम त खुशीले उतिबेलै प्रचण्डमा ‘विलिन’ भएका थिए नै तर बादल पनि भित्तै पु¥याएर टुपीदेखि पैतलासम्मको आत्मालोचना गर्दै ‘एकआत्मा, एक शरीर’ भएको घोषणा गर्न पुगेका थिए । यस्तो थियो चुनवाङको यथार्थता । जहाँ, यो माथिको उद्धृत विचार संश्लेषित गरिएको थियो ।
नेपालमा अब जनवादी क्रान्ति (समाजवादी क्रान्तिको त कुरै छाडौं, किनकि जनवादी क्रान्ति त असंभव भनी संश्लेषण गरियो) संभव छैन भनी वर्तमानमा एकाकार भएकाहरुको चुनवाङ बैठकले वैचारिक संश्लेषण ग¥यो । उनीहरुको विचारमा निम्नपुजीवादी वर्गीय धरातल भएकाहरु कम्युनिष्ट बन्न सक्तैनन् किनकि उनीहरुमा ‘क्रान्तिका लागि आवश्यक पर्ने धैर्यता, लगन र त्याग’को सधैं कमी रहन्छ । त्योबाट क्रान्ति संभव नै छैन । यो स्वीकारोक्तिले वर्ग र वर्ग रुपान्तरणको प्रक्रियालाई ठाडै अस्वीकार गर्दछ । उनीहरुको वैचारिक धरातललाई बुझ्दा प्रष्ट हुन्छ कि जनवादी क्रान्तिको विरोध गर्दै यो पङ्क्ति एकठाउँ उभिएर अहिले संसदवादको आहालमा नागबुडी खेल्ने ‘रोमाञ्चकारी’ सपनामा रमाउन पुगेको पुगेको छ ।
नयाँ चुनवाङ
हाल उतारको अवस्थामा रहेको नेपाली माओवादी आन्दोलनको वर्तमान सन्दर्भमा दक्षिणतिर बगेको हावाहुरीसँगै यही जेठ ६ गते माओवादी केन्द्र निर्माण भएको छ । बेलाबखत वैचारिक मतभेद भएको र त्यसले ‘गरी खान नसक्ने’ भनी विभाजित भएकाहरुमध्ये केही पूर्वएमाओवादीकै नेतृत्वमा बिलिन हुन पुगेका छन् । एकाकार हुनु, विचार मिल्नेहरु मिलेर जानु, रसायन मिल्नेहरु अन्तरघुलित र बिलिन हुन पुग्नु र आकार र सङ्ख्या मात्र भए पनि ठूलो देखाउनु क्षणिक खुशीको कुरा पनि होला । झट्टहेर्दा ‘दूध पोखियो भागैमा’ जस्तो पनि लागेको होला । तर गहिराइमा पुगेर हेरियो र गाम्भीर्यतालाई ठम्याइयो भने प्रश्न उठ्छ– बिलिन भई एकाकार हुन गएको कुन विकल्पका लागि ?
यो प्रश्नले वैचारिक तथा राजनीतिक रुपमा जवाफदेहिता र पारदर्शिता दुबैको माग गर्र्दछ । आज विनासित्ति एकाकार हुने भए हिजोको फुटको औचित्यता के त ? यो त ‘आफ्नै छोरी नक्कली, तन्नेरीलाई दोष’ भने झैं भएन र ? बिलिन भएकाहरुले खुलेर भन्न सक्नुपर्छ– समस्या प्रचण्डमा होइन, आज एकाकार हुन जानेहरुमा थियो भनेर । किनकि, भारी प्रशंसासहित प्रदक्षिणा गर्नेहरुको लर्कोमा ‘लाल गद्दार’ र ‘रअको एजेन्ट’ जस्ता तथानाम गालीगलौज गर्नेहरुको फुर्को बिनालाजशरम जोडिन पुगेको छ । प्रचण्ड आज क्षणभरमा नै चमत्कारद्वारा ‘क्रान्तिकारी नेता’ बन्न पुगेका छन् । बदनाम गर्ने र बार्गेनिङ गर्न जानेहरुमा न त विगतप्रति पश्चाताप छ, न त आगतप्रतिको वैचारिक सुस्पष्टता । यसले बिलिन हुनुको पछाडि नितान्त वैयक्तिक स्वार्थ लुकेको अन्तर्यलाई खुलस्त पार्नुका साथै एकाकार भए हसुर्न पाइन्छ भन्ने छिपछिपे वैचारिक धरातललाई पनि सतहमा अवतरण गराएको छ ।
अब घोत्लिऔं बिलिन गराउनेहरुको बारेमा । बिलिन गराई एकाकार हुँदा आकार ठूलो बनाउँछ । त्यसले मात्राको आकारलाई बिस्तार गर्छ । माक्र्सवादले मात्राको गुणमा रुपान्तरण हुने वा हुनुपर्ने आवश्यकतामा जोड दिन्छ । तर त्यो जुनसुकै कुराको पनि थुप्रो लगाएर मात्रा बढाउँदैमा माक्र्सवादले परिकल्पना गरेको गुणमा रुपान्तरण हुन्छ भन्ने होइन । बरु त्यसका लागि माक्र्सवादले परिकल्पना गरेको गुण मात्रात्मक रुपमा भए पनि त्यो थुप्रोमा हुनुपर्छ नै । प्रष्ट कुरा के हो भने त्यो गुण माओवादी केन्द्रका नेता प्रचण्डलाई जरुरी छैन किनकि ‘न रहेगा बाँस, न बजेगी बाँसुरी’ । क्रान्ति गर्नु नै छैन, किन चाहियो क्रान्तिकारी गुण ? यो कुरा उनले बिलिन हुनका लागि क्रान्तिकारी माओवादीलाई प्रस्ताव गरेको तीनबुँदे लिखतमा पनि यसरी प्रस्ट पारेका थिए– बिलिन हुनेहरु ‘विचार, नीति र आचारमा एक ठाउँमा हुनु पर्छ’ । त्यो विचार, नीति र आचार भनेको जसको विचार उसैको नेतृत्व भन्ने स्पष्ट माक्र्सवादी मान्यतामा आधारित हुन्छ । त्यो भनेको बिलिन गराउने विचार प्रचण्डको र त्यसको नेतृत्व प्रचण्डबाटै ।
अहिले भएको बिलिनको यो अभिव्यक्ति सार र रुप दुबैमा नयाँ चुनवाङ नै हो । आजको यस घडीमा पुरानै पात्रहरुमध्ये एकजना पात्र बाबुराम ‘क्लिन’ हुन खोजेका छन् भने अर्का एकजना पात्र बादल पुनः बिलिन भएका छन् । २०६२ असोजमा भएको पुरानो चुनवाङमा बाबुराम र बादल दुबै एकैसाथ प्रचण्डमा बिलिन भएका थिए । त्यो पनि अत्यन्तै भावविह्वलता र एकअर्कामा चर्को प्रतिस्पर्धासहित । माक्र्सले भने झैं इतिहासमा घटित घटनाहरु जस्ताको तस्तै रुपमा पुनर्उदय हुँदैनन्, बरु सार उही हुँदाहुँदै पनि भिन्न रुपमा उद्घाटित हुन्छन् । साथै माक्र्सले यो पनि थपेका छन् कि पहिले घटेको दुखान्त वा ‘ट्रेजेडी’ अर्को पटक पुनर्उद्घाटित हुँदा हास्य वा ‘फार्स’ को रुपमा व्यक्त हुन्छ । आज त्यो घटना नयाँ चुनवाङ बनेर हास्यका रुपमा उद्घाटित हुन पुगेको छ । प्रचण्ड स्वयम्ले हास्य नेताको परिचय बनाएकाले त्यो हास्य सजिलै सँग पाच्य पनि हुन पुगेको छ । यो पुरानै लोकतान्त्रिक गणतन्त्रको यथास्थितिवादी सोच हो । विचारमा आएको विचलनसहितको बिलिनताको यो अभिव्यक्ति व्यवहारिक रुपमा ‘कहाँ गई के हुने छ र, बस माया घरबारै जोडेर’ भन्ने अकर्मण्यताको खेल पनि हो ।
क्रान्तिको मियो र वैचारिक गुरुत्व
त्यसो भए सबै त हास्यमा सकियो, क्रान्तिप्रतिकोे गाम्भीर्यता छैन त ? छ, उत्तिकै गुरुत्वका साथ ट्रेजेडी को गाम्भीर्यता कायमै छ । २०६२ असोजको चुनवाङमा यो गुरुत्वको मियो लुकाइएको थियो । विज्ञानमा गुरुत्वको मियो लुकाउन नसकिएला, तर समाज विज्ञानमा गुरुत्वको मियो लुकाउन वा नष्ट सकिंदो रहेछ । विचार, कार्यदिशा र त्यसको साङ्गठनिक नेतृत्व अभिव्यक्तिका हिसाबले क. किरण जेलमा हालिएका थिए । आज किरण कार्यकर्ता र जनताका माझमा भएकाले जवाफदेहिता र पारदर्शितासहितको क्रान्तिकारी धाराले क्रमशः आशावादिताको सञ्चार गर्दै जान थालेको छ । यसको साइनो नेतृत्वलाई चमत्कारीकरण गर्ने, व्यक्तिपूजामा लैजाने, प्राधिकार सुम्पने वा नेताले गल्ती नै गर्दैनन् भन्ने अन्धविश्वासलाई पुनर्जागृत गर्ने कुरासँग छैन र हुनु पनि हुँदैन । तथापि यो नेतृत्वले अहिले वैचारिक ध्रुवबाट आफ्नो वर्गलाई ध्रुविकृत गर्दै लान थालेको सहजै प्रस्ट हुँदै गएको कुरा भने आजको सत्य हो ।
बिलयको स्वरुपः एकाकार कि बहुआकार ?
अर्कोतर्फ, माओवादी केन्द्रमा भएको बिलय अनौठो र बहुआकार नै रहेको छ । समानान्तर हेडक्वाटरहरु चलिरहेका छन् । खिचातानी यथावत नै छ । विचारको स्थानमा व्यक्तिगत तथा गुटगत स्वार्थले कब्जा जमाएको छ । विचार वा रणनीतिका कुरा छाडौं, तात्कालिन हिसाबले पनि बिलय हुनुको औचित्य पुष्टि हुने ठाउँ नै छैन । भन्नलाई मात्र एउटै कुरा बाँकी छ– ‘जनताले एकता चाहेकाले हामी बिलयमा हामफल्यौं’ । तर एकाकार भएकाहरुले जनतालाई कहिल्यै सोधेका पनि छैनन् र सोध्न आँट पनि गर्ने छैनन् कि ‘जनता जनार्दन ! तिमीहरुले भनेको एकता कस्तो खालको हो ? सुँगुरको खोरमा पसेर सँुगुर हुने वा सँुगुरको खोर सफा गर्ने ?’ जनताले सरल जवाफ दिने छन्– ‘साँच्चै सफा नै गर्ने हौ भने सुँगुरको राम्रो खोर निर्माणको विकल्पसहित पस । हामीले माओवादी जनयुद्घताकाको विचारसहितको एकता चाहेका हौं’ । माथिको यो जबाफबाट उनीहरुले थाह पाउने छन् कि सुँगुरले हगिरहने छ, उनीहरुले जुनिभर सोहरिरहने छन् । ‘किनारामा झण्डा हल्लाएर बसेर काम छैन’ भन्दै ढलमतिमा परिणत भएका बागमति र विष्णुमतिमा नागबुडी खेल्न हामफाल्नेहरुलाई देखेर जनताले अब दया प्रकट गर्ने छन्– ‘तिमीहरु व्यर्थै गर्छौ, हुने भए त काँग्रेस–एमालेले उहिल्यै सफा गरिसक्थे । तिमीसँग ढल तह लगाउने कुनै विकल्प छ ?’
बिलय सङ्घर्षका लागि पनि होइन
रणनीतिक विकल्पहरु त छैनन् नै, बरु तात्कालिक विकल्पहरु समेत् पनि छैनन् एकाकार हुनेहरुसँग । बिलय हुनेहरुका लागि वर्तमान सन्दर्भमा एउटा न एउटा औचित्य त हुनु प¥यो । कार्यनीतिक सवालमा एकता भएको भए पनि थोरै समयका लागि मात्र नै किन नहोस् पुष्टि गर्न सघाउ पु¥याउने थियो । आफै पुच्छर भएर अरुको काँध थापेको लोकतान्त्रिक सरकारले युद्धकालीन मुद्दा ब्युँझाएको छ । त्यसका विरुद्ध सङ्घर्षको सङ्केत सम्म छैन । आफैबिरुद्ध मुद्दा लगाएपछि सरकार छाडे पनि जनताले स्वागत त गर्ने थिए । सडकबाट त्यसको फैसला हुने थियो । यसमा जनताको प्रत्यक्ष साथ रहने थियो ।
जनजीविकाका कुराहरु लिएर सडकमा गए जनता साथ दिन तयार छन् । सडक खाली छ । बिलय हुनुको आफ्नै बोझ हुन्छ । भनिन्छ– ‘भैंसीलाई भैंसींकै सिङ भारी बाख्रालाई बाख्राकै सिङ भारी’ । अहिले प्रचण्ड सिद्धिए भनेर खुशी हुनुको कुनै अर्थ नभएको बेलामा वैद्य नै सिद्धिए भन्नु त हास्यास्पद नै हुन्छ । जनयुद्ध प्रचण्डले सिध्याए । जनसेना, जनसत्ता, जनअदालत आदि सबै प्रचण्डले सिध्याए । हुँदाखाँदाको आफ्नै नेतृत्वको सरकार आधा रातमा ‘डिजल्भ’ गरेर सिध्याए । बाबुराम मार्फत् संविधानसभा पनि सुनसान मध्यरातमा सिध्याए । अब बाँकी विचार र विचारको मियो छ । त्यसैलाई सिध्याउने ध्याउन्नमा उनी देखिन्छन् । यो भनेको उनी सडक सङ्घर्षदेखि निकै त्रसित र भयवित छन् । त्यसैले यो बिलयको मञ्चनको साइनो सम्बन्ध सडक सघर्षसँग देखिदैन । अर्को सत्य के हो भने जनता अब कुनै त्यस्तो नयाँ कुरा बनाइदिन तयार छैनन्, जसलाई प्रचण्डले बहादुरीका साथ सुनसान मध्यरातमा फेरि ‘डिजल्भ’ गर्ने मौका पाऊन् ।
बिलय संसद उपयोगका लागि पनि होइन
पहिलो कुरा त के हो भने अग्रगामी सङ्घर्षका लागि बिलय भएको भए जनता साथमा हुने थिए । ‘जनताले भनेको एकता’को थोरै भए पनि औचित्यता पुष्टि हुने थियो । दोस्रो कुरा भनेको नयाँ सरकार बनाउन सांसदको सङ्ख्या चाहिएको र एकाकार भएपछि सो खाँचो आपूर्ति हुने भएको भए पनि थोरै र तात्कालिक औचित्य पुष्टि हुने थियो । आश्चर्यको कुरा त के छ भने न त पूर्व एमाओवादीसँग केही सांसद छन्, तर बिलिन हुन गएकाहरुसँग एक जना पनि सांसद रहेका छैनन् । हामफाल्ने संसदीय मैदानमा, खेलाडीको टिम नै नभए खेल कसरी हुन्छ ? ‘हात पुग्दैन टेक्ने लौरी पहरामा सुन छ, अरुलाई बुझाउने मन आफै किन रुन्छ ?’
संसद नै नभएपछि सरकार गठनको कुरा टाढै रहन्छ । यसको अर्थ हो, संसदीय मार्ग पनि खुल्ला छैन बिलय भएकाहरुका लागि ? त्यसोभए बिलय केका लागि ? न त संसद उपयोग, न त सरकार गठन ? के जनविरोधीहरुले चाहे झैं विचार र नेतृत्वमाथि आक्रमण गरेर उनीहरुको सेवा गर्नु थियो त बिलिनवालाहरुको उद्देश्य ? सबै कुरा ‘डिजल्भ’ गरिसकेपछि विचार नै डिजल्भ गर्ने ग्य्राण्ड डिजाइनमा थियो त यो बिलिनताको नाटक ?
बिलिनता चुनावका लागि पनि होइन
स्थानीय वा संसदीय निर्वाचनको सम्मुखमा बिलिन भएको भए पनि त्यसको थोरै र तात्कालिक औचित्य पुष्टि हुने थियो । त्यो पनि रहेन । संसदीय निर्वाचन आउन धेरै बाँकी छ । तत्काल स्थानीय निर्वाचनको संभावना पनि छैन किनकि गाउँ विकास समितिको चुनाव गर्दा २०४७ सालको संविधान पुनर्जागृत हुन जान्छ । वर्तमान संविधान कार्यानवयन गर्ने हो भने पनि नगरपालिका र गाउँपालिकाको निर्माण बाँकी छ । नगरपालिका घोषणा गरिएका छन् तर गाउँपालिका त पूरै निर्माण गर्नुपर्ने छ । सिमाङ्कनका कुरा, भूबनोटका कुरा, जनप्रवाहका कुरा, समान मनोविज्ञानका कुरा, आपसी सद्भावनाका कुरा, समान जनजीविकाका कुरा आदिलाई मिलाएर गाउँपालिका निर्माणको कुरा चानचुने छैन । त्यसैले विलिनता स्थानीय निर्वाचनलाई लक्ष्य गरेर गरिएको पनि देखिदैन ।
त्यसैले प्रश्न उठेको छ, बिलिनता र एकाकारको बाहनामा एमाओवादीको जम्बो केन्द्रीय समिति केका लागि ? हजारीलालको पगरी केका लागि ? यो विचार रक्षा, विकास र आन्दोलन निर्माण गर्दै गरेको क्रान्तिकारी शक्ति ‘सेबोटेज’ का लागि मात्र थियो त ? कसको डिजाइनमा थियो त यो ? आफै त अन्तर सङ्घर्ष वा दुईलाइन सङ्घर्ष जित्न नसकेर उतारमा आएको यो माओवादी आन्दोलन ! रातो झण्डाका विरुद्ध रातोझण्डा भन्ने जनविरोधीहरुको थ्योरी उनीहरुकै डिजाइनमा प्रयोग गरिनु आफैमा प्रत्युत्पादक छ । यसले माओवादी केन्द्रको पुच्छरवादी कठपुतली भविष्यलाई नाङ्गेझार पारी सतहमा ल्याइदिएको छ ।
संसदवादी बन्ने भए पनि विचारको विकास जरुरी
सुधारवादी वा संसदीय कम्युनिष्टहरु अब पुरानै मोडलबाट अघि बढ्न संभव छैन । जानीमानी आएको एक समयको पूर्वी युरोप वा भर्खरैको दक्षिण अमेरिकी मोडलले अब गति लिने अवस्था छैन । ‘राज्य क्रान्तिद्वारा समाजवादको स्थापना’ गरौं भन्ने बोलिभारियन क्रान्तिको मर्म राज्यका सबै अङ्गहरुमा वामपन्थीहरुको सेट घुसाउने र राज्यलाई नै प्रयोग गरेर समाजवादतिर डो¥याउने कुरामा रहेको छ । तर आजको साम्राज्यवादले यसलाई बिफल पार्न माइक्रो ‘म्यानेजमेन्टको सिद्धान्त’ प्रतिपादन गरेर धेरै अधि बढिसकेको छ । जसअनुसार, व्यक्तिगत वा साङ्गठनिक रुपमा राजनीतिक दलालहरु तयार गर्ने, तिनको नेतृत्वमा दलाल सरकार कायम गर्ने, त्यो दलाल सरकार मार्फत् राज्यका उपल्लादेखि तल्लातहका हरेक निकायमा आफूले सिफारिश गरेका दलालहरुको नियुक्ति गर्न लगाउने र राज्य पूरै आफ्नो हातमा लिएर नवउपनिवेश कायम गर्ने तथा एनजीओ–आइएनजीओमार्पmत् विकास निर्माणका काम गराउने र राज्यलाई पूरै प्यारालाइज गर्ने नीति तथा कार्यक्रम रहेको छ ।
त्यसैले अब प्रचण्ड घाम तापेर चौरासी व्यञ्जन तयार हुने संभावना कुनै पनि हालतमा छैन । माओवादी केन्द्रले सुधारवादी कामहरु गर्ने मनसुवा राखे पनि त्यसले माइक्रो म्यानेजमेन्टको सिद्धान्तलाई पछि पार्ने गरी ‘नयाँ सिद्धान्त’ प्रतिपादन गर्न सकेन भने ऊ एमाले वा काङ्ग्रेसमा बिलिन नभई सुक्खै छैन ।
मोर्चा निर्माण कि महाबिलय ?
यतिबेला विना विकल्पको बिलिन वा एकाकार हुनु भन्दा सबै माओवादी शक्तिहरु बीचको सहकार्य र मोर्चा निर्माण गरी अघि बढ्न सकेमा यो निकै दूरगामी वैचारिक महत्वको कुरा हुने छ । शायद यस सत्यताको बोध समय गुज्रिइसकेपछि मात्र हुनेछ । यो दुर्भाग्य पनि साबित नहोला भन्न सकिदैन । किनभने केही माओवादीहरुले अग्रगामी र क्रान्तिकारी प्रयासद्वारा आजको राज्यसत्ताको भन्दा राम्रो विकल्प दिने भन्दा पनि एकले अर्कालाई संसदवादी विकल्पका रुपमा उभ्याउने र प्रतिस्प्रर्धी बनाउने होडबाजीमा कम्मर कसेर लागिपरेका छन् । हाल बिलिन भएकाहरुको बाटो फराकिलो पार्दै माओवादी केन्द्र अब एमाले वा काङ्ग्रेसमा बिलिन हुन आतुर रहेको कुरा अहिले दिनको घाम झैं सबैको सामु छर्लङ्ग भएको छ ।