एजेन्सी । बंगलादेशको राजधानी ढाकामा आतंकवादी आक्रमणमा २० जना मारिएका छन् ।
ढाकाको अत्यन्तै सुरक्षित मानिएको गुलसन इलाकामा रहेको होले आर्टिसन क्याफेलाई कब्जामा लिएर आतंकवादीले ९ जना इटालियन, ७ जना जापानी, ३ जना बंगलादेशी र एक जना भारतीयको हत्या गरेका हुन् ।
सो क्याफेमा शुक्रबार राति आतंकवादी प्रवेश गरी दर्जनौंलाई कब्जामा लिएका थिए । कब्जामा लिइएकामध्ये गैरमुस्लिम नागरिकहरुको क्रूरतापूर्वक हत्या गरिएको हो ।
बंगलादेशको डेलीस्टारले आतंकवादीको कब्जाबाट मुक्त भएका एक बंगलादेशी नागरिकलाई उदृत गर्दै कुरान पढ्न नजान्नेलाई क्रूरतापूर्वक यातना दिएर हत्या गरेको जनाएको छ । ‘आतंकवादीहरूले कब्जामा परेका बंगलादेशीलाई भने कुनै नराम्रो व्यवहार गरेनन्’, उनले भनेका छन्, ‘बरु क्याफेमा नै रात्रिभोजको व्यवस्था गरे ।’
होले आर्टिसन क्याफेलाई आतंकवादीले कब्जामा लिएको करिब १२ घन्टापछि सुरक्षाकर्मीले गरेको जवाफी कारबाहीमा ६ जना आक्रमणकारी मारिएका छन् भने एकजनालाई जीवितै पक्राउ गरिएको बंगलादेश सरकारका प्रवक्ताले जानकारी दिएका छन् ।
आक्रमणको चरमपन्थी इस्लामी आतंकवादी संगठन आईएसले जिम्मा लिएको छ । इटालीका प्रधानमन्त्री माटियो रेन्जीले आक्रमणमा आफ्ना नागरिक पनि मारिएको पुष्टि गरेका छन् । गार्मेन्ट उद्योगमा काम गर्ने करिब १० जना इटालियन नागरिक बन्धक बनाएको त्यहाँको समाचार एजेन्सीले जनाएको छ ।
जापानका डेपुटी चिफ क्याबिनेट सेक्रेटरी कोइची हागिउदाले ७ जना जापानी नागरिक क्याफेमा परे पनि हताहतीको विषयमा प्रष्ट भइनसकेको जनाएका छन् ।
बंगलादेशको सेनाले आक्रमणमा परी मारिनेहरू विदेशी नागरिक रहेको जनाएको छ । मारिनेमा सबैभन्दा बढी इटाली र जापानी नागरिक रहेका छन् भने एक भारतीय महिला समेत रहेकी छन् ।
सैन्य अभियानका महानिर्देशक ब्रिगेडियर जनरल नइम असफाक चौधरीले सुरक्षाकर्मीको साझा अभियान सुरु हुनुअघि नै आतंकवादीहरूले २० बन्धकको निर्मम हत्या गरेको र मारिनेमा अधिकांशको घाँटी रेटिएको अवस्थामा पाइएको जनाएका छन् । सुरक्षाकर्मीले चलाएको अभियानको १३ मिनेटमा ६ आतंकवादी मारिएका थिए ।
प्रधानमन्त्री शेख हसिनाले बन्धकलाई उद्दार गर्न अभियान सञ्चालनका लागि सेनालाई निर्देशन दिएपछि ‘अपरेसन थन्डरबोल्ट’ सुरु भएको थियो । शुक्रबार राति अबेर सुरु भएको आतंकवादी आक्रमणका क्रममा दुई वरिष्ठ प्रहरी अधिकारीसमेत मारिएका थिए भने अन्य ३० जना घाइते भएका छन् ।
चौधरीले होले आर्टिजन बेकरी क्याफे परिसरमा खोजीका क्रममा यी विदेशी नागरिकका शव भेटिएको र शवलाई पोस्टमार्टम र पहिचानका लागि अस्पतालमा पठाइएको जनाएका छन् । घटनापछि प्रधानमन्त्री शेख हसिनाले बंगलादेशबाट आतंकवादी र हिंस्रक चरमपन्थीहरुको अन्त्यका लागि सबै उपाय अबलम्बन गर्ने बताएकी छन् ।
हसिनाले आफ्नो टेलिभिजन सम्बोधनका क्रममा भनेकी छन्, ‘यो अत्यन्तै भयावह कृत्य हो । यी कुन प्रकारका मुसलमान हुन्, उनीहरुको कुनै धर्म छैन ?’ हसिनासँग सेनाका प्रमुख अबू बिलाल मुहम्मद शफिउल हक समेत उपस्थित भएका थिए ।
आईएसको गतिविधिमाथि अनलाइन निगरानी राख्दै आएको अमेरिकाको एसआईटीई गुप्तचर समूहले आईएसले हमलाको करिब चार घन्टापछि आफ्नो समाचार एजेन्सी अमाकबाट यसको जिम्मेवारी लिएको जनाएको छ । आईएसले आफ्नो वेबसाइटमा क्याफे र हत्यापछि शबका केही तस्वीरहरु समेत सार्वजनिक गरेको छ ।
होले आर्टिसन क्याफेमा करिब ९ जना आतंकवादी ‘अल्लाह अकबर’ को नारा लगाउँदै छिरेर शुक्रबार राति स्थानीय समयअनुसार करिब ९ बजेर २० मिनेटमा अन्धाधुन्ध गोलाबारी सुरु गरेका थिए । बंगलादेशको निकै सुरक्षित मानिने यो रेष्टुरेन्टमा राजनीतिक नेताहरुका साथै विदेशी नागरिकहरुको बाक्लो जमघट हुने गरेको थियो ।
मुस्लिम बहुल बंगलादेशमा पछिल्ला केही महिनादेखि धार्मिक अल्पसंख्यक तथा धर्मनिरपेक्षवादी ब्लगरहरुमाथि आक्रमण हुँदै आएको थियो । सातखिरा जिल्लामा शनिबारमात्रै एक पुजारीमाथि छुरा प्रहार गरी गम्भीर घाइते बनाइएको छ भने शुक्रबार एक हिन्दु पुजारीको हत्या भएको थियो ।
दुई दिनमा मात्रै एक हिन्दु र एक बौद्ध धर्मावलम्बीको हत्या भएको छ । गत जुनमा सरकारले करिब ९ सयजना धार्मिक अतिवादीलाई यस प्रकारका हिंसामा संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो । इस्लामी कट्टरपन्थीले अल्पसंख्यकमा आक्रमणलाई तीव्र बनाइरहेका बेला इस्लामिक स्टेटले समेत बंगलादेशलाई निशाना बनाएको हो ।