क्रान्तिकारी कम्युनिष्ट आन्दोलन र त्यसले सामना गर्नुपरेका समस्याहरु

क्रान्तिकारी कम्युनिष्ट आन्दोलन र त्यसले सामना गर्नुपरेका समस्याहरु

क्रान्ति र परिवर्तनका बारेमा कम्युनिष्ट क्रान्तिकारीहरु र बुर्जुवाहरुका बीचमा रहेको भिन्नताका सम्बन्धमा स्पष्ट पार्दै कार्लमाक्र्स र फ्रेडरिक ऐंगेल्सले सन् १८५० मार्चमा केन्द्रीय पदाधिकारका तर्फबाट कम्युनिष्ट लीगलाई सम्बोधन गर्ने सन्दर्भमा यसप्रकार विचार व्यक्त गर्नुभएको थियो, “लोकतान्त्रिक निम्न बुर्जुवाहरुले कम्तिमा माथिका मागहरु प्राप्त हुनासाथ जतिसक्यो छिटो क्रान्तिलाई निष्कर्षमा पु¥याउन चाहन्छन् भने हाम्रो चाहना र काम भनेको धेरथोर सम्पत्तिवाल वर्गहरु प्रभुत्वशाली अवस्थाबाट नफ्याँकिदासम्म, सर्वहारावर्गले राज्यसत्तामा जित हाँसिल नगर्दासम्म एउटा देशमा मात्रै होइन, बरु विश्वका सबै प्रभुत्वशाली देशहरुमा सर्वहारावर्गको संगठन, यी देशका सर्वहारा वर्गको बीचमा प्रतिस्पर्धा अन्त्य हुने अवस्थामा नपुग्दासम्म निरन्तर कायम राख्नु हो ।” यसरी कम्युनिष्ट आन्दोलन भनेको पार्टी, संगठन, बुर्जुवा राजनीति, आन्दोलन र संघर्षभन्दा बढ्ता र परको विषय हो भन्ने कुरा स्पष्ट हुन्छ । त्यसरी कम्युनिष्ट आन्दोलन सामाजिक, आर्थिक र साँस्कृतिक परिवर्तन र रुपान्तरणको निरन्तर अभियान हो । यसबाट के स्पष्ट हुन्छ भने पृथ्वीमा मानव जातिको अस्तित्व रहेसम्म मानिसद्वारा मानिसमाथि हुने शोषण, दमन, अन्याय, अत्याचार कायम रहेसम्म क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको अभिभारा र काम निरन्तर जारी रहनेछ । यस्तो दीर्घकालीन उद्देश्य र लक्ष्य बोकेको हुनाले कम्युनिष्ट आन्दोलनमा पटक पटक विभिन्न खाले उत्तारचढाव, भड्काव र विचलनहरु आइरहने कुरा स्वभाविक र स्पष्ट छ । यहाँ कम्युनिष्ट आन्दोलनले सामना गर्नु परिरहेको केही प्रमुख समस्याहरुका बारेमा संक्षिप्त रुपमा चर्चा गर्न खोजिएको छ ।

विचारधारात्मक संघर्ष
    कम्युनिष्ट आन्दोलनमा देशमा पर्ने र आन्दोलनले व्यहोर्दै आएको सबैभन्दा प्रमुख र महत्वपूर्ण समस्या भनेको विचारधारात्मक संघर्ष नै हो । माक्र्स र ऐंगेल्सले १८४८ मा कम्युनिष्ट घोषणा पत्र जारी गरेदखि अहिलेसम्म डेढ सताब्दीभन्दा बढी समय वितिसकेको छ । यस अवधिमा कम्युनिष्ट आन्दोलनले विजय पराजयका अनेकौं उत्तारचढावहरुबाट गुज्रदै अगाडि बढिरहेको, जसमा सन् १९१७ मा लेनिनको नेतृत्वमा सफल भएको युगान्तकारी महान अक्टोबर समाजवादी क्रान्ति सन् १९४९ मा माओको नेतृत्मा सफल भएको अर्को युगान्तकारी चिनियाँ नयाँ जनवादी क्रान्ति कम्युनिष्ट आन्दोलनको इतिहासमा प्राप्त भएका महान विजय हुन् । तर सन् १९९० को दशकसम्म आइपुग्दा पूर्वसोभियतसंघ लगायत पूर्वी यूरोपियन देशहरुमा रहेको संशोधनवादी सत्ताहरु विघठन हुन पुगे भने चीनमा प्रतिक्रान्ति भएर पुँजीवादीहरुले पार्टी नेतृत्व कब्जा गर्न पुगे । रुसमा ख्रुश्चोभबाट सुरु भएर गोर्भाचोभसम्म आइपुग्दा माक्र्सवाद, लेनिनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्त अनुरुपमा परित्याग गर्दै सोभियत संशोधनवादको विसर्जन हुन पुग्यो भने चीनमा देङ स्याओ पिङ आएपछि ‘एक देश दुई व्यवस्था’ र ‘विरालो कालो सेतो जस्तो भएपनि त्यसको काम मुसा समात्नु हो’ भन्ने जस्ता अनौठा नीति प्रस्तुत गर्न पुगे । त्यसरी सोभियत संघमा स्टालीन र चीनमा माओको मृत्यु पश्चात् उहाँहरुको उत्तराधिकारीका रुपमा नेतृत्वमा आएका व्यक्तिहरुले क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका आधारभूत तत्वहरु जसमा सर्वहारावर्गको अधिनायकत्व, वर्गसंघर्षको निरन्तरता, राज्यसत्ता कब्जा गर्न बल प्रयोग गर्ने जस्ता विषयहरु पर्दछन् । तिनलाई परित्याग गर्दै सच्चा माक्र्सवादी लेनिनवादी विचारधारात्मक बाटोबाट विचलित हुन पुगे । विगतमा चिनियाँ कम्युनिष्ट पार्टीले माओको नेतृत्वमा सोभियत संंशोधनवादका विरुद्धमा निर्मम सैद्धान्तिक र विचारधारात्मक संघर्ष चलाएको थियो, जसलाई ‘महान बहस वा महाविवाद’ समेत भनेर चिनिन्छ । त्यसरी विश्व कम्युनिष्ट आन्दोलन नै चिनियाँ र रुसी खेमामा विभाजित भएको थियो । तर अहिले सच्चा माक्र्सवादी लेनिनवादी क्रान्तिकारीहरुका तर्फबाट सबै प्रकारका संशोधनवाद र भड्कावहरुका विरुद्ध सैद्धान्तिक र विचारधारात्मक संघर्ष चलाउने कार्यमा कमजोरी र शिथिलता आएको छ । त्यसैले यतिखेर सबैखाले संशोधनवादी र भड्काववादीहरुका विरुद्ध जुध्नका लागि सैद्धान्तिक र विचारधारात्मक संघर्षलाई अगाडि बढाउनु क्रान्तिकारी कम्युनिष्टहरुको अत्यावश्यक र उच्चतम कर्तव्य हुन गएको छ ।

दक्षिणपन्थी एवं उग्र वामपन्थी भड्काव
    कम्युनिष्ट आन्दोलन माक्र्स र ऐंगेल्सको पालादेखि नै दक्षिणपन्थी एवम् वामपन्थी भड्कावहरुबाट गुज्रदै आएको छ । यस सन्दर्भमा माक्र्स ऐंगेल्सद्वारा लिखित कृति ‘गोथा प्रोग्राम’ नै त्यसको प्रमाणको रुपमा रहेको छ । एक समयमा सच्चा माक्र्सवादी, लेनिनवादी सिद्धान्तहरुप्रति प्रतिबद्ध रहेका कम्युनिष्ट पार्टीहरु नै सही बाटोबाट विचलित हुन पुगेका छन् । कम्युनिष्ट आन्दोलनमा सबैभन्दा खतरा दक्षिणपन्थी भड्काव नै रहेको छ । दक्षिणपन्थी भड्काववादीहरुले माक्र्सवाद र लेनिनवादको ‘सिर्जनात्मक प्रयोग’का नाममा मालेमावादलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा परित्याग गर्ने, सर्वहारावर्गको अधिनायकत्वप्रति प्रतिबद्ध नरहने, समाजमा वर्गसंघर्ष र पार्टीभित्र दुईलाइन संघर्षलाई तिलाञ्जली दिने र क्रान्तिका लागि सशस्त्र संघर्षको अपरिहार्यतालाई नअपनाउने गर्दै आएका छन् । त्यसैगरी ‘वामपन्थी’ भड्कावलाई उग्र‘वामपन्थी’ भड्काव र तत्काल क्रान्तिको अनुराग राख्ने रुपमा पनि व्याख्या गर्न सकिन्छ । यसको मुख्य कमजोरी भनेको अन्य मित्र तथा भाइचरा पार्टीहरुको नीतिको अन्धानुकरण र यान्त्रिक नक्कल गर्नु हो । नेपालको सन्दर्भमा पूर्व नेकपा (माले)ले झापा विद्रोह गर्दाताका अनुशरण गरिएको नीति र क्रियाकलापलाई उत्कृष्ट उदाहाराणको रुपमा लिन सकिन्छ ।

स्थापित नेतृत्वको संकट
लेनिनको मृत्युपश्चात कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनका लागि महान भूमिका खेल्नुभएको थियो र नेतृत्व प्रदान गर्नुभएको थियो । तर सोभियत संघका स्टालीनको मृत्यु पश्चात निकिता ख्र्रु्रश्चोभ र चीनमा माओको मृत्युपश्चात हुवा झुवा फेङ पार्टी नेतृत्वमा आएपछि संशोधनवाद र दक्षिणपन्थी बाटोतर्फ अग्रसर भए । चीनको सन्दर्भमा भन्ने हो भने महान सर्वहारा साँस्कृतिक क्रान्तिको दौरानमा अग्रणी भूमिका निभाएका कमरेड च्याङ चिन र चान चुन चुवाओलाई पार्टीको नेतृत्वमा आउने अवसरबाट बञ्चित गर्ने मात्र होइन, उनीहरुलाई गिरफ्तार गरेर आजीवन जेलमा सडाउने काम भयो । यसरी अहिले खासगरी माओको निधनपछि अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा स्थापित नेतृत्वको अभाव खड्किदै आएको छ ।

    इतिहास र अनुभवहरुले हामीलाई के पाठ सिकाएका छन् भने क्रान्ति सम्पन्न गर्न र त्यसलाई निरन्तरता प्रदान गर्नका लागि इमान्दार नेतृत्व र सही नीति महत्वपूर्ण पूर्वशर्तहरु हुन् । अझ इमान्दार नेतृत्व त राज्यसत्ता कब्जा गर्नु अगाडि र पछि अति महत्वपूर्ण हुन्छ । किनभने त्यस्तो नेतृत्वले मात्र नीति र सिद्धान्तमा हुन जाने गल्ती कमजोरीहरुलाई सफलतापूर्वक समाधान गरेर अगाडि बढ्न सक्तछ । पूर्व समाजवादी राज्यहरुको विघठन हुनु, एक पटक क्रान्ति सफल भएका देशहरुमा प्रतिक्रान्तिले स्थान लिनु र पुँजीवादको पुनःस्थापना हुन सफल हुनुमा मुख्यतः गलत नेतृत्वका कारण हो भन्ने कुरा स्पष्टै देखिएका छन् ।

अन्तर्राष्ट्रिय संगठनको अभाव
    तेस्रो कम्युनिष्ट अन्तर्राष्ट्रियको विघटन भएपछि संसारभरिका माक्र्सवादी, लेनिनवादी क्रान्तिकारी पार्टीहरुलाई एक ठाउँमा ल्याउने अन्तर्राष्ट्रिय संगठनको सर्वथा अभाव खड्किदै आएको छ । कमरेड माओले पनि आफ्नो जीवनकालमा त्यस प्रकारको अन्तर्राष्ट्रिय संगठन निर्माण गर्ने तर्फ अनिच्छा देखाउनु भयो । अहिले त्यस प्रकारका भाइचरा एवम् मित्र पार्टीहरुका बीचमा ऐक्यवद्धता निर्माण गर्ने र विचार एवम् अनुभवहरु आदान प्रदान गर्ने अन्तर्राष्ट्रिय मञ्चको अभाव रहेको अवस्था रहेको छ । त्यसले यस प्रयोजनको लागि त्यस प्रकारको अन्तर्राष्ट्रिय संगठन निर्माण गर्नु नितान्त आवश्यक भएको छ । त्यस प्रकारको संगठनको अभावका कारणले गर्दा विश्वभरका उत्पीडित वर्ग र जनताहरुको हीतको पक्षमा र साम्राज्यवाद र प्रतिक्रियावादका विरुद्ध आन्दोलन र कार्यक्रम सञ्चालन गर्न समेत समस्या रहँदै आएको छ । विगतमा अन्तर्राष्ट्रिय क्रान्तिकारी आन्दोलन (रिम)को स्थापना त्यस दिशातर्फको एउटा प्रयत्न थियो । तर त्यसैको नेतृत्व खासगरी आरसिपी अमेरिकाको गलत नीति र प्रवृत्तिका कारणले गर्दा त्यसले क्रान्तिकारी पार्टी र संगठनहरुलाई एक ठाउँमा ल्याउन सफल हुन सकेन । र, फलतः अस्तित्वविहीन अवस्थामा पुग्न गयो ।

व्यक्ति र संकीर्णतावाद
    कम्युनिष्ट आन्दोलनमा आधारभूत रुपमा रहेको सामूहिक नेतृत्व नीति र अभ्यासलाई लत्याउनु र व्यक्तिवाद हावी हुने र परिणामस्वरुप व्यक्ति पूजाको संस्कृतिलाई प्रोत्साहन दिनु जस्ता कुराले कम्युनिष्ट आन्दोलनलाई हानी पु¥याएको मात्र होइन, त्यसलाई तहसनहस नै पारिएको अवस्था समेत रहेको छ । नेपालको सन्दर्भमा (प्रचण्डपथ) त्यसको ज्वलन्त उदाहारण हो । त्यसैगरी कम्युनिष्ट आन्दोलनभित्र संकीर्णतावाद गम्भीर समस्याका रुपमा रहेको छ । जसका कारणले गर्दा कुनै विचारधारात्मक मतभिन्नताका बाबजुद पनि पार्टी र आन्दोलनमा अनावश्यक फुट र विभाजन ल्याउन भूमिका खेलेको छ । परिणामस्वरुप, माक्र्सवादी लेनिनवादी क्रान्तिकारीहरुलाई छिन्नभिन्न तुल्याउने र उनीहरुको शक्ति र सामथ्र्यलाई कमजोर एवम् दुर्वल बनाउने कार्यमा योगदान पु¥याएको छ । कम्युनिष्ट आन्दोलनले डेढ दशकभन्दा लामो इतिहासको कालखण्ड पार गरिसकेको कुरा यसअघि नै बताइसकिएको छ । यस दौरानमा हामीले कैयौं युगान्तकारी क्रान्तिकारी परिवर्तन भएका परिघटनाहरु देखेका छौं भने प्रतिक्रान्ति विघठन र विचलनका अनुभवहरु पनि सँगालेका छौं । यस सन्दर्भमा विगतका ती सफलताहरु कसरी प्राप्त भएका थिए र कसरी गल्ती कमजोरीहरु हुन गएका थिए भन्ने कुराको सिंहावलोकन गर्दै त्यसबाट थप शिक्षा र पाठ सिकेर अगाडि बढ्नु पर्दछ । अहिलेसम्म आइपुग्दा कम्युनिष्ट आन्दोलन एउटा विश्वव्यापी परिघटना भइसकेको छ भने धेरै देशहरुमा कम्युनिष्ट पार्टीहरु अस्तित्वमा रही कार्यरत रहेका छन् । तर पनि विश्वको कुनै पनि देशमा सच्चा क्रान्तिकारी कम्युनिष्टहरुले विजयन्मुख क्रान्तिको नेतृत्व गर्न सकिरहेको अवस्था रहेको छैन । त्यसो हुनुमा धेरै हदसम्म एकसमय क्रान्तिकारी भइ नेतृत्वमा रहेका कथित कम्युनिष्टहरुका कारणले नै त्यस्तो हुन गएको छ । यस सन्दर्भमा कार्लमाक्र्सले आफ्नो कृति ‘लुई बोनापार्टको अठारौं ब्रुमेर’मा उल्लेख गरेको यो भनाइ शिक्षाप्रद हुनेछ । ‘अन्ततः संसदीय गणतन्त्रले दमनात्मक उपायहरु, स्रोतसाधनहरु एवम् सरकारी सत्ताको केन्द्रीकरणका साथ उसको संघर्षलाई सवल तुल्याउन बाध्य भयो । सबै क्रान्तिले त्यो संयन्त्रलाई ध्वस्त पार्नुका सट्टा पूर्णता प्रदान गरयो ।’ नेपालको सन्दर्भमा एमाले, माकेलगायतका कम्युनिष्टहरुले अहिले निभाइरहेको भूमिकाले त्यसको पुष्टि गरिरहेको छ ।