केसीको मागका विषयमा संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

Kiran with Gobinda Kcकाठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा विगत केही दिनदेखि अनशसनरत प्रा डा गोविन्द केसीको मागका विषयमा छलफल गर्न माग गर्दै ब्वस्थापिका–संसदमा विहीबार सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको छ ।

नेपाली काँग्रेसका सांसदद्वय गगनकुमार थापा र धनराज गुरुङ र नेकपा (माओवादी केन्द्र)का सांसद श्याम श्रेष्ठले उक्त प्रस्ताव दर्ता गराएका हुन् ।

दर्ता भएको प्रस्तावमा विगत ११ दिनदेखि आमरण अनशनरत डा केसीको जीवनरक्षाका लागि संसद्ले अविलम्ब पहल गर्न अपरिहार्य भएको, जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य शिक्षा जस्तो अत्यावश्यक र संवेदनशील क्षेत्रमा ब्याप्त भ्रष्टाचार र बेथितीका विषयमा सदनको ध्यान जानुपर्ने उल्लेख छ ।

यस्तै डा केसीले उठाएका मागबारे विगतमा संसद्मा समेत छलफल भएको, संसदीय समितिले निर्देशन दिएको र सरकारले पटक पटक सम्झौतासमेत गरेकाले ती सम्झौताको कार्यान्वयन भए नभएको सन्दर्भमा सरकारलाई संसद्प्रति जवाफदेही बनाउन आवश्यक देखिएको उल्लेख गरिएको छ ।

यस्तै सार्वजनिक महत्वको प्रस्तावमा डा केसीले उठाउनुभएको अन्य मागको विषयसमेत संसद्सँग प्रत्यक्ष जोडिएकाले छलफल गर्न आवश्यक रहेको स्पष्ट पारिएको छ ।

केदारभक्त माथेमा कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयनको अवस्था पनि छलफलको विषय रहेको उक्त प्रस्तावमा उल्लेख गरिएको छ ।