१. युवा के हो ?
उमेरका हिसाबले १५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको महिला पुरुष नै युवा हुन् । तर विचारका हिसाबमा यस खाले उमेरको हदबन्दी लागू हुँदैन । जो क्रियाशील रहिरहन्छ, जीवनशील पक्षको बारेमा निरन्तर सोच विचार गरिरहन्छ, त्यो युवा नै हो । नेपाली काङ्ग्रेसमा गिरिजाप्रसाद कोइराला रहँदासम्म शेरबहादुर देउवालाई युवा नेता भनियो । यो शायद उमेरले कान्छो भएर पनि होला र पुस्ताका हिसाबले पनि होला । हामी कम्युनिष्टले उमेरको पनि ख्याल राख्छौं, तर विचारका हिसाबले क्रियाशीलतालाई प्राथमिकता दिन्छौं ।
२. क्रान्तिकारी युवा लिग र अरु युवा सङघ÷सङ्गठनमा के फरक छ ?
क्रान्तिकारी युवा लिग आमूल परिवर्तनको पक्षमा युवाहरुलाई डोर्याउने सङ्गठन हो । यसले संसार परिवर्तन गर्ने विचारलाई पछ्याउँछ । यो कम्युनिष्ट युवाहरु उत्पादन गर्ने केन्द्र पनि हो । यसले विचार निर्माण र तदनुरुपको जीवन व्यवहारको माग पनि गर्दछ । तर अरु युवा सङ्गठनहरु भनेका माथि भनिए झैं १५ देखि ४० वर्षका महिला पुरुषको सङ्गठन मात्र हुन् । उनीहरु तात्कालिन र यथास्थ्तििवादी संसारमा बाँच्नसक्ने आधार निर्माण गर्नमा नै जीवन व्यतित गर्दछन् । व्यक्तिगत रुपमा यो भन्दा राम्रो व्यक्तिगत जीवनको त खोजी गर्लान्, तर यो भन्दा राम्रो संसार वा राज्यसत्ताको खोजीमा लाग्दैनन् ।
त्यस कारण फरक यो हो कि आजको माक्र्सवाद–लेनिनवाद–माओवादको विचार र दर्शन अपनाउने प्रगतिशील युवा क्रान्तिकारी युवा लिगमा रहन सक्छन् र रहन्छन् पनि । अरु सङ्गठनमा रहेकाका लागि यो आवश्यक छैन ।
३. तत्काल युवा परिचालनका केही नयाँ कार्यक्रमहरु छन् ?
युवा उमेरका हिसाबले तन्नेरी र क्रियाशील हुन्छन् । उनीहरु फूर्तिला र खेलखेल्ने जस्ता गतिविधिहरुमा रमाउँछन् । यो उमेरका मान्छेहरु व्यवहारबाट विचारप्रति आकर्षित हुन्छन् । ल्कबहरु युवाका लागि मनपर्ने ठाउँहरु हुन् । हामी युद्धबाट शान्ति प्रक्रियामा आउँदा हामीसँग रहेको युवा सङ्घलाई देशैभर क्लबहरु निर्माण गरेर त्यसैमा जोडेका थियौं । यी बाहेक विचार निर्माण तथा ज्ञानवद्र्धक कुरामा पनि त्यत्तिकै ध्यान दिनु जरुरी छ । यसका साथै तालिम, स्कूलिङ र हाजिरीजवाफजस्ता कार्यक्रम पनि अति जरुरी छ ।
४. विदेश पलायन हुनबाट युवालाई कसरी रोक्न सकिएला ?
युवा ठूलो सङख्यामा विदेश पलायन भइरहेको छ । यो मूलतः सरकारको युवाप्रतिको गलत नीतिका कारणले गर्दा हो । विदेश गएर कमाउने भनेको पनि प्रतिदिनको ज्याला नै हो । ज्याला आफैमा एकदिनमा एउटा मान्छे त्यो ठाउँ वा देशमा बाँच्नसक्ने गरी तोकिएको आर्थिक खर्च हो । यो देशमा भएको उन्नति र विकासअनुसार फरक त पर्ला । तर जहाँ गएर कामइ गरिन्छ, त्यहाँ त्यो दिन बाँच्नका लागि दिइएको आर्थिक नै नेपाली मजदुरको कमाइ हो । नेपालमा नेरु दिइएला, भारतमा भारु वा बेलायतम पाउण्ड । नेपाली रुपैयामा साट्दा बढि मानिएको मात्र हो । त्यो चुत्थो कमाइमा अरुले छाडेका जोखिमपूर्ण काम नेपालीले गर्नुपर्छ । बेरोजगारीको कुरा गर्ने हो भने अमेरिकामा पनि १० प्रतिशत बेरोजगारी अझै हल हुन सकिरहेको छैन ।
त्यसैले युवाहरुले देश निर्माण गर्ने विचारबाट सोच्नुपर्छ । यसका लागि देशको बारेमा बढि चिन्ता हुनुपर्छ युवाहरुलाई । तर अचेल युवाहरुमा निकै कम क्रियाशीलता छ । युवाहरुले देश विकास र परिवर्तनका लागि अलि बढि सोच्नै पर्छ । आन्दोलनमा युवाहरुको सक्रियता हुनुपर्छ । यसले मात्र देशलाई युुवाहरुले चाहेको बाटोमा अघि बढाउन सकिन्छ । अहिलेका युवाहरु मिलिटेन्ट सङ्घर्षमा होमिन पाएका छैनन् ।
५. सरकारले युवामैत्री कुनै कार्यक्रम ल्याए झैं लाग्दैन तपाईलाई ?
छैन । ल्याएकै छैन । ल्याउने पनि छैन । किनकि सरकार त बढि भन्दा बढि युवालाई देशबाहिर पठाउन चाहन्छ । रेमिटेन्स आए देश बाँच्छ भन्छ । युवा बाहिर गए राम्रो हुन्छ भन्छ । सरकारले युवाहरु बेचेर अझ बढि रेमिटेन्स भित्र्याउन चाहन्छ ।
६. आमूल परिवर्तनको बाटोमा युवा पङक्तिलाई कसरी ल्याउन सकिन्छ ?
एङ्गेल्सले युवाहरुलाई भविष्यको पार्टी सङ्गठन भनी व्याख्या गर्नु भएको छ । युवाका कारणले नै पार्टी क्रियाशील रहने र यसले आन्तरिक पार्टी जीवनमा गति पैदा गर्दछ । युवालाई उनीहरुको चाहना र आवश्यकता अनुसार वैचारिक रुपमा प्रशिाक्षित गर्नुपर्छ । देशमा भएगरेका जनविरोधी कार्यहरुमा छलफल र जानकारी गराउनुका साथै उनीहरुको क्रियाशील सहभागितालाई सुनिश्चित गरिनु पर्दछ ।
७. युवासँग के अपिल गर्नु हुन्छ ?
माओले भने झैं युवाहरु भविष्य हुन् । यो संसार हामी सबैको हो । तर अन्ततः यो संसार युवाहरुको नै हो । युवा उदाउँदा तारा हुन् । सुन्दर संसार निर्माणको महान् जिममेवारी युवाहरुको काँधमा छ । त्यसैले उनीहरुको भविष्य देशको र देशको भविष्य उनीहरुको हो । यो जिम्मेवारी बोधका साथ सुन्दर संसार निर्माण गर्न युवा अघि बढ्नुपर्छ ।
(सुवेदी क्रान्तिकारी युवा लिगका केन्द्रीय संयोजक हुनुहुन्छ)