काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश सुशीला कार्की प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले सोमवार पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवार शितल निवासमा दुवैलाई छुट्टाछुट्टै पद तथा गोपनियताको सपथ गराएपछि दुवैले सोमबारदेखि नै पदभार ग्रहण गरेका हुन् ।
सर्वोच्च अदालतमा पदभार ग्रहणपछि आयोजित पत्रकार सम्मेलनमा कार्कीले आफ्नो कार्यकालमा संविधान र कानुनको अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाइन् । उनले आफ्नो कार्यकालको ठूलो चुनौती प्रदेशअनुसार उच्च अदालतको निर्माण गर्नु भएको बताइन् । १६ पुनरावेदन अदालतका मुख्य न्यायाधीशलाई कसरी मिलाउने भन्ने समस्या रहेको उनले उल्लेख गरिन् । कार्कीको पदावधि ११ महिना मात्रै रहेको छ ।
यस्तै, सोमबारदेखि नै प्रमुख निर्वाचन आयुक्तको पदभार ग्रहण गरेका यादवले निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् । पहिलो पटक मधेसमूलबाट प्रमुख निर्वाचन आयुक्त बनेका यादवले १३औँ प्रमुख निर्वाचन आयुक्तका रूपमा पदभार सम्हालेका हुन् ।
विसं २००८ कात्तिक २६ गते २०१६ सम्म सुवर्णशम्शेर जवराले पहिलो निर्वाचन कमिसनरका रूपमा आयोगलाई नेतृत्व प्रदान गरेका थिए । त्यसपछि क्रमशः सुरेन्द्रबहादुर बस्नेत, पूर्णप्रसाद ब्राह्मण, विष्णुमणि आचार्य, सुन्दरप्रसाद शाह, शेरबहादुर शाही, सूर्यप्रसाद श्रेष्ठ, विष्णुप्रताप शाह, अच्यूतरमण राजभण्डारी, केशवराज राजभण्डारी, भोजराज पोखरेल र नीलकण्ठ उप्रेतीले प्रमुख निर्वाचन आयुक्त भएका थिए ।