काठमाडौं । सरकारले लोमाङथाङमा नेपाली सेनाको ब्यारेक राख्ने तयारी थालेको छ । नेपाल–चीनबीचको तेस्रो ठूलो कोरला नाका छिट्टै खोल्ने तयारी थालेको सरकारले लोमाङथाङमा सेनाको ब्यारेक बनाउनेबारेमा तयारी थालेको हो ।
कोरला नाका खोल्ने सरकारको प्रस्तावसँगै लोमाङथाङ्मा नेपाली सेनाको ब्यारेक राख्नेलगायत सीमा क्षेत्रको बस्तुस्थिति बुझ्न तीन जना उपप्रधानमन्त्रीसहितको उच्चस्तरीय टोलीले विहीबार कोरला नाका क्षेत्रको स्थलगत भ्रमण गरेको थियो ।
उच्चस्तरीय भ्रमण टोलीमा भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्रीकोसमेत जिम्मेवारी सम्हालेका उपप्रधामन्त्री विजयकुमार गच्छदार, रक्षा मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालेका अर्का उपप्रधानमन्त्री भीम रावल र ऊर्जा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्का उपप्रधानमन्त्री टोपबहादुर रायमाझी सहित १७ जना रहेका थिए ।
टोलीमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, अर्थराज्यमन्त्री दामोदर भण्डारी, रक्षासचिव महेशप्रसाद दाहाल, सांसदहरु श्रीमायाँ थकाली, रोमी गौचन थकाली, महेन्द्र शेरचन तथा सडक विभागका डीजी माधवकुमार कार्की लगायत थिए ।
सीमा क्षेत्रमा भन्सार कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सुरक्षा पोष्ट तथा सडक विस्तार लगायतका संरचनाहरु निर्माण गर्नेबारेमा अध्ययनका लागि टोली कोरला पुगेको थियो ।
टोलीले सीमा क्षेत्रको भ्रमण तथा अवलोकन गरिसकेपछि जोमसोममा आएर पत्रकार सम्मेलन गरेको थियो । पत्रकार सम्मेलनमा नेपालको उत्तरी छिमेकी मुलुक चीनसँगको कोरला नाकामा सुरक्षा पोष्ट राख्ने सरकारले तयारी शुरु गरेको उपप्रधान तथा रक्षामन्त्री भीमबहादुर रावलले बताए ।
कोरला सिमानाको बारेमा जानकारी गराउँदै उपप्रधान तथा रक्षामन्त्री रावलले सिमानाको सुरक्षाका लागि त्यस क्षेत्रको सुरक्षालाई ध्यानमा राखी तुरुन्तै सुरक्षा निकायका ब्यारेक राख्न सरकारले तयारी थाल्ने जानकारी दिए ।