हलो अड्काएर गोरु चुट्दै काँग्रेस, सदनमा जवाफ दिन पाएनन् ओलीले

हलो अड्काएर गोरु चुट्दै काँग्रेस, सदनमा जवाफ दिन पाएनन् ओलीले

nepali-congressकाठमाडौं । नेपाली काँग्रेसले आफ्नै प्रश्नको जवाफ दिन संसदमा उपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ दिन दिएन ।

आइतबार बसेको व्यवस्थापिका ससदको बैठकमा काँग्रेसको माग अनुसार सदनलाई जवाफ दिन प्रधानमन्त्री ओली उपस्थित भएपनि उनलाई काँग्रेसकै सांसदहरुले संसद अवरोध गरेर बोल्न नदिएका हुन् ।

भूकम्प पीडितलाई एकमुष्ठ २ लाख रुपैयाँ दिनुपर्ने माग गर्दै आएको नेपाली कांग्रेसले आइतबार पनि संसद बैठक अवरुद्ध पार्दै आएको छ ।

शुक्रबार पनि कांग्रेसले संसद बैठक अवरुद्ध पारेपछि प्रधानमन्त्रीले काँग्रेसले नै उठाएका प्रश्नको जवाफ दिन पाएका थिएनन् ।

भूकम्प प्रभावितहरुलाई राहत तथा पुनर्निर्माणमा सरकारले ढिलासुस्ती गरेको तथा पीडितको तथ्यांक संकलनमा राजनीतिकरण गरेको आरोप लगाउँदै सरकारले सदनसमक्ष जवाफ दिनुपर्ने कांग्रेसको माग छ ।

आइतबारको बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसद अर्जुननरसिंह केसीले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिने प्रतिबद्धता सरकारबाट नआएसम्म बैठक चल्न नदिने बताए ।

सभामुख ओनसरी घर्तीले सोही विषयमा प्रधानमन्त्रीले संसदमा जानकारी गराउन खोजेकाले अवरोध नगर्न आग्रह गरेपनि कांग्रेस सांसदहरुले अवरोध कायम राखेपछि बैठक एक घन्टाका लागि स्थगित भएको छ ।