काठमाडौं । डिफेन्डिङ च्याम्पियन चिली कोपा अमेरिका कप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
चिलीले अब फाइनल प्रवेशका लागि कोलम्बियासँग प्रतिस्पर्धा गर्ने छ । आइतबार बिहान भएको खेलमा चिलीले मेक्सिकोलाई ७–० को फराकिलो अन्तरले हराएको हो ।
चिलीको जितमा भार्गास एक्लैले चार गोल गरे भने इड्सन पुचले दुई तथा एलेक्सिस सान्चेजले एक गोल गरे ।
समूह चरणमा प्रभावशाली प्रदर्शन गरेको मेक्सिकोले कुनैपनि बेला चिलीविरुद्ध घातक प्रहार गर्न सकेन । जारी कोपा अमेरिका कपमा यो सबैभन्दा फराकिलो हार समेत हो ।
पुचले खेलको १६ औं मिनेटमा पहिलो गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यतिर भार्गासले गोल गरेपछि २–० को अग्रता बनाएको चिलीले दोस्रो हाफमा थप पाँच गोल थप्यो ।
दोस्रो हाफको ४९ औं मिनेटमा एलेक्सिस सान्चेजले चिलीका लागि तेस्रो गोल गरे भने ५२, ५७, ७४ औं मिनेटमा भार्गासले गोल गर्दै व्यक्तिगत गोलसंख्या चार पुर्याए ।
खेलको ८७ औं मिनेटमा पुचले व्यक्तिगत दोस्रो र टिमका लागि सातौं गोल गरेका थिए । प्रतियोगिताको अर्को सेमिफाइनलमा अमेरिका र अर्जेन्टिना भिड्ने छन् ।