अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा, फाइनल प्रवेशका लागि अमेरिकासँग भिड्ने

अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा, फाइनल प्रवेशका लागि अमेरिकासँग भिड्ने

huguien-argकाठमाडौं । अर्जेन्टिनाले भेनेजुएलालाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कप्तान लियोनेल मेसीलाई खेलको शुरुबाटै मैदानमा उतारेको अर्जेन्टिनाले भेनेजुएलामाथि सहज जित हासिल गरेको छ ।

कप्तान मेसीले दिएको लामो पासलाई सदुपयोग गर्दै गोन्जालो हिगुइनले खेलको आठौं मिनेटमा नै उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि खेलको २८ औं मिनेटमा भेनेजुएलाको डिफेन्स लाइन अगाडि बढेको अवस्थामा हिगुइनले नै अर्को गोल थप्दै २–० को अग्रता दिलाए ।

पहिलो हाफको ४४ औं मिनेटमा पाएको पेनाल्टीमा चुक्दा भेनेजुएलाले गोल गर्ने अवसर चुकायो । लुइस सृेइजसले हानेको पेनाल्टी अर्जे्न्टिनाका किपर सर्जियो रोमारियोको हातमा पुगेको थियो ।

पहिलो हाफमा २–० को अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा दुई गोल थप्यो । खेलको ६० औं मिनेटमा निकोलस गाइटनले मिलाएको उत्कृष्ट पासलाई सदुपयोग गर्दै मेसीले जाली चुमाए ।

त्यसपछि काउन्टर एट्याकका क्रममा भेनेजुएलाका रोनडोनले खेलको ७० मिनेटमा गोल गरे । अलेजेन्ड्रोले दिएको पासलाई सदुपयोग गर्दै उनले हानेको हेडबल पोस्टबारमा ठोक्किँदै जाली चुम्न पुगेको थियो ।

भेनेजुएलाले अग्रता छोट्याएको एक मिनेट नबित्दै ६७ औं मिनेटमा मैदान छिरेका एरिक लमेलाले मेसीको पासमा गोल गरे । (एजेन्सी)